close

स्पेस एक्सको स्टारशिप रकेट अवतरणलगत्तै विष्फोट

टेकपाना टेकपाना

फागुन २१, २०७७ १६:५३

स्पेस एक्सको स्टारशिप रकेट अवतरणलगत्तै विष्फोट

काठमाडौं । एलन मस्ककाे कम्पनी स्पेसएक्सले परीक्षणका लागि प्रक्षेपण गरेको प्रोटोटाइप रकेट स्टारशिप ‘एसएन १०’ अवतरणलगत्तै विष्फोट भएको छ । बुधबार अमेरिकास्थित दक्षिण टेक्सासको आकाशमा भएको परीक्षण उडान भरेको तीन मिनेटपछि रकेट अवतरण भएर विष्फोट भएको थियो । 

स्पेस एक्सको एसएन १० रकेट कम्पनीको स्टारसिप मार्स रकेटको प्रारम्भिक प्रोटोटाइप हो । उक्त रकेटले ६ माइल माथिसम्म उडान भरेको थियो ।

स्पेसएक्सका इन्जिनियर जोन इन्सप्रुकरले एक कार्यक्रममा बोल्दै एसएन १० के कारणले विस्फोट भएको थाहा नभएपनि त्यसले पहिलोपटक ल्याण्डिङ प्याडमा सफलतापूर्वक अवतरण गरेकोमा खुसी व्यक्त गरेका छन् । 

स्पेसएक्सले यस प्रकारका धेरै प्रोटोटाइपहरु निर्माण गरिसकेको छ । अब चाँडै नै एस एन ११ लाई अर्को परीक्षणका लागि पठाउने कम्पनीले बताएको छ । 

मंगल ग्रहमा मानव बस्ती बसाउने महत्वांकाक्षी योजनामा एलन मस्कको स्पेस एक्स लागेको छ । मंगल ग्रहमा मानिस पठाउनका लागि सही डिजाइन फेला पार्न कम्पनीले विभिन्न प्रकारका प्रोटोटाइपमा काम गरिरहेको छ ।

हालै स्पेस एक्सको फाल्कन नाइन रकेटमार्फत एकसाथ १४३ ओटा स्याटेलाइट प्रक्षेपण गरिएको थियाे । यसरी एउटै रकेटमार्फत एकैपटक यति धेरै स्याटेलाइट प्रक्षेपण गरिएको यो नै पहिलो पटक हो ।

स्पेस एक्सले ब्राेडब्याण्ड इन्टरनेटका लागि ८०० भन्दा बढी स्याटेलाइट प्रक्षेपण गरिसकेको छ । अन्तरिक्ष कार्यक्रमको लागि मात्रै कम्पनीले १० अर्ब डलर लगानी गरेकाे छ ।

साथै एलन मस्क आगामी २०२३ मा १२ जना मानिसलाई चन्द्रमामा पठाउने योजनामा छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१