close

पेसाबाटै पलायन हुने मनस्थितिमा देशका आधा वैज्ञानिक

टेकपाना टेकपाना

फागुन २१, २०७७ १७:३७

पेसाबाटै पलायन हुने मनस्थितिमा देशका आधा वैज्ञानिक

काठमाडौं । देशका झण्डै आधा वैज्ञानिक पेसा नै परिवर्तन गर्ने मनस्थितिमा देखिएका छन् । नेपाली युवा वैज्ञानिकद्धारा स्थापित संस्था राष्ट्रिय युवा वैज्ञानिक एकेडेमी नेपाल तथा नेसनल यङ एकेडेमी नेपाल (नयन) ले युवा वैज्ञानिकरुमाज गरेको अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको हो ।

सर्वेक्षणमा सहभागीमध्ये ४५ प्रतिशतले आफूले रोजगारीको विकल्प खोज्न थालेको बताए छन् । प्राज्ञिक स्वतन्त्रतामा रमाएका वैज्ञानिकहरु वर्तमान अनुसन्धानको वातावरण र पूर्वाधारप्रति भने असन्तुष्ट देखिएका हुन् ।

सर्वेक्षणका सहभागीहरूले प्राज्ञिक स्वतन्त्रता (७२ प्रतिशतले), लचिलो काम गर्ने समय (७५ प्रतिशतले), रोजगारको सुरक्षा (५४ प्रतिशतले) प्रति आफू सन्तुष्ट रहेको बताएका छन्। तर अनुसन्धानका पूर्वाधारहरू जस्तै प्रयोगशाला, उपकरण, सन्दर्भ सामग्रीहरुको पहुँच (५४ प्रतिशतले), संस्थाको व्यवस्थापन प्रणाली र पदीय उचनिच (५२ प्रतिशतले) र रोजगारी सम्बन्धी सुविधा (४८ प्रतिशतले) को विषयमा भने अधिकांश सहभागीहरूको असन्तुष्टि पाइएको छ । 

युवा वैज्ञानिकहरूका लागि विद्यमान अनुसन्धान सहायताको वातावरण अपुग र अपर्याप्त रहेको छ । सर्वेक्षणमा सहभागीहरू मध्ये धेरैजसोले आफूले काम गरेका संस्थाहरूबाट अनुसन्धान सहायता पाउने गरेको बताए पनि त्यो अपर्याप्त रहेको बताएका छन् । यद्यपि सहभागी मध्ये १८ प्रतिशतले अनुसन्धान सहायताको रकम पर्याप्त नै रहेको जवाफ दिएका छन् । 

गत भदौदैखि कात्तिकसम्म अनलाइनमार्फत गरिएको सर्वेक्षणमा देशभरका  २४४ जना युवा वैज्ञानिकले सहभागीता जनाएका थिए । स्रातकोत्तर तह र विद्यावारिधि गरेका ८७ प्रतिशत वैज्ञानिक सहभागी रहेका थिए ।

साथै प्राकृतिक विज्ञान र व्यवहारिक विज्ञान, इन्जिनियरिङ र चिकित्सा शास्त्र पढेकाहरूको संख्या ८८ प्रतिशत रहेको थियो । अधिकांश नेपाली युवा वैज्ञानिकहरु विश्वविद्यालय तथा उच्च शिक्षा अध्ययन हुने शैक्षिक संस्थाहरूमा कार्यरत रहेका छन् भने अनुसन्धान संस्था तथा  गैर सरकारी संस्थानहरूमा काम गर्ने वैज्ञानिकहरूको सङ्ख्या क्रमश: १९ र ८ प्रतिशत मात्र छ ।

यद्यपि उनीहरूले आफ्नो रोजगारका लागि उपयुक्त रोजाइको क्षेत्रमा अनुसन्धानात्मक पहिलो (४२ प्रतिशत) र विश्वविद्यालय वा उच्च शैक्षिक संस्थान दोस्रो (३१ प्रतिशत) बताएका छन् । नेपाली युवा वैज्ञानिकहरू आफ्नो परिवारमा स्नातक उपाधि पाउने पहिलो पुस्ताका प्रतिनिधिहरु छन् ।

यद्यपि उनीहरूले पेसागत लक्ष्य प्राप्तिको लागि पारिवारिक सहयोग भने भरपुर पाएको बताएका छन् । सर्वेक्षणमा सहभागीहरुले रुचि, देशको प्राथमिकता र सामाजिक आवश्यकताको कारण आफूले वैज्ञानिक पेसा अङ्गालेको बताएका छन् ।

साथै वैज्ञानिक पेसामा कर्म र जीवनको राम्रो सन्तुलन हुने अधिकांशको ठम्याई रहेको छ ।सर्वेक्षणका अनुसार, नेपाली युवा वैज्ञानिकहरूले तीन वर्षमा औषत ३.५ वटा अनुसन्धान सहायताका निवेदन दिने गरेका छन् ।

नेपाली युवा वैज्ञानिकहरूको अनुसन्धान सहकार्यमा आधारित भए तापनि अन्तर विधागत र अन्तरदेशीय सहकार्य भने न्यून देखिएको छ । नेपाली वैज्ञानिकहरूले तीन वर्षमा औषत ६ वटा जर्नल लेख लेख्ने, ५ पटक विज्ञान सम्मेलनमा भाग लिने, ३ वटा लेख पत्रपत्रिकामा छपाउने र एउटा पुस्तकको च्याष्टर लेख्ने गरेको पाइएको छ ।

अधिकांश (५३ प्रतिशत) ले आफूले काम गरेका संस्थाहरूकै अन्य अनुसन्धानकर्तासँग सहकार्य गरेको बताएका छन् । ३७ प्रतिशतले भने नेपालभित्रका आफूले काम गर्ने इतरका अनुसन्धान संस्थाहरूसँग वैज्ञानिक सहकार्य गरेको प्रतिक्रिया दिएका छन् ।

नेपाली वैज्ञानिकहरुको विदेशी सहकार्यमा भने एसिया महादेशका वैज्ञानिकहरुभन्दा पनि युरोप, अमेरिका, अष्ट्रेलियाका वैज्ञानिकहरूसँग बढी सहकार्य हुने गरेको पाइयो । आधाभन्दा धेरै सहभागी (५२ प्रतिशत) ले आफूले आफ्नो विषयका अनुसन्धानकर्ताहरूसँग मात्रै सहकार्य गरेको बताएका छन् भने २३ प्रतिशतने अन्य विधाका अध्येताहरूसँग अन्तर विधागत वैज्ञानिक सहकार्य गरेको बताएका छन् ।

नेपाली युवा वैज्ञानिकका लागि सामाजिक समस्याहरूभन्दा पनि कमजाेर अनुसन्धान पूर्वाधार र अनुसन्धान कोष जस्ता वैज्ञानिक समस्याहरू मूख्य बाधकको रुपमा देखिएका छन् । सर्वेक्षणमा सहभागी मध्ये ६४ प्रतिशतले लैङ्गिक, ६१ प्रतिशतले यौनिक, ६१ प्रतिशतले धार्मिक, ४९ प्रतिशतले जातीय भेदभावलाई अनुसन्धान करिअरको बाधक मान्दैनन् ।

उनीहरूले अनुसन्धान कोषको अभाव (३२ प्रतिशतले), अनुसन्धान सहायताको निवेदनको लागि चाहिने सहयोग (३० प्रतिशतले), अनुसन्धान पूर्वाधारहरु (२९ प्रतिशतले) आफ्नो वैज्ञानिक करिअरको प्रमुख बाधक तत्त्व ठानेका छन् । 

नयनले नेपाली युवा वैज्ञानिक तथा अध्येताबीच उनीहरुको जनसांखिकी, अनुसन्धानको वर्तमान अवस्था, काम र जीवनबीचको सन्तुलन, राष्ट्रिय/अन्तर्राष्ट्रिय र अन्तर विधागत सहकार्यको अवस्था र अनुसन्धानका उत्पादकत्व आदिको बारेमा राष्ट्रिय स्तरको सर्वेक्षण गरेको थियो । 

नयन नेपाली युवा अध्येताहरुको आवाज उठाउने र ज्ञान विज्ञान तथा अनुसन्धान सम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दाहरुमा विश्वका युवा वैज्ञानिकहरसँग सहकार्य गर्ने उद्देश्यका साथ स्थापित संस्था हो । यसले सरकारी, गैरसरकारी र निजी संस्थानहरुमा कार्यरत विज्ञानसँग सम्बन्धित विभिन्न विधाहरूका अध्येताहरूका बिचमा अन्तर विधागत र बहु विधागत सहकार्य र सहयोगका लागि उत्प्रेरकको भूमिका खेले उद्देश्य राखेको छ ।

नेपालको गत वर्ष सार्वजनिक गरिएका विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति (२०७६) ले विज्ञान, प्रविधि र नवप्रवर्तन लाई देशको आर्थिक विकास र सामाजिक परिवर्तनको मेरुदण्डको रूपमा परिभाषित गरेको छ ।

युवा वैज्ञानिकहरुलाई विज्ञान क्षेत्रमा फक्रने र फैलने वातावरण नबनाईकन, उक्त नीतिलाई लागु गर्न नसकिने र विज्ञान प्रविधिलाई सामाजिक परिवर्तन र आर्थिक विकासको उत्प्रेरक बनाउन पनि असम्भव हुने नयनले जनाएको छ । युवा वैज्ञानिकहरूलाई विज्ञान क्षेत्रमा राखिराख्ने वातावरण तयार पार्न वर्तमानमा उनीहरूले भोगेका चुनौती, देखेका अवसरहरु, उनीहरूको रोजगारी र अनुसन्धानका आयामहरुको बारेमा बुझ आवश्यक छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१