close

१८ वर्षीय ढुंगानाले पत्ता लगाए फेसबुकको सुरक्षा कमजोरी

टेकपाना टेकपाना

फागुन २२, २०७७ १५:१४

१८ वर्षीय ढुंगानाले पत्ता लगाए फेसबुकको सुरक्षा कमजोरी

काठमाडौं । १८ वर्षीय नेपाली किशाेरले पत्ता लगाएको फेसबुक बिजनेस पेजको एडमिन डिस्क्लोजर भल्नरेबिलिटीलाई कम्पनीले फिक्स गरेको छ । पाल्पाका प्रज्ज्वल ढुङ्गानाले तीन महिनाअघि फेसबुक प्लेटफर्ममा उक्त बग पत्ता लगाएका थिए ।

ढुंगानाका अनुसार उक्त सुरक्षा कमजोरीका कारण उनले इन्स्टाग्राम बिजनेस पेजबाट फेसबुक पेजमा क्रस पोस्ट गर्दा फेसबुकको बिजनेस पेजबाट नभएर एडमिनको आईडीबाट पोस्ट भएको थियो ।

लगत्तै प्रज्ज्वलले उक्त एडमिन डिस्क्लोजर बग कम्पनीमा रिपोर्ट गरेपछि फेसबुकले त्यसलाई भेरिफाई गरेको थियो ।

‘बगका कारण कुनै पनि मान्छेले बिजनेस पेज चलाइरहँदा त्यसमा एडमिनको डिस्क्लोजर हुन मिल्थ्यो । यसरी त्यो विजनेस कसले चलाइरहेको छ भनेर ह्याकरहरुले थाहा पाउन सक्थे र फाइदा उठाउन सक्थे,’ उनले टेकपानासँगको कुराकानीमा भने ।

एक हप्ताअघि फेसबुकले उक्त बगलाई फिक्स गर्दे प्रज्वललाई ५ सय अमेरिकी डलरको बाउन्टी रिवार्ड प्रदान गरेको छ ।

लकडाउनको समयमा बाउन्टी रिवार्ड र ह्याकरहरुको स्टोरी विभिन्न पत्रपत्रिकाबाट पढेर प्रेरित भएका प्रज्ज्वल युट्युवबाट भिडियो हेर्दै आफूले पेनिट्रेसन टेस्टिङ सिकेको बताउँछन् ।

लकडाउनको समयमा उनी विभिन्न साइटमा बगहरु खोजी गर्ने गर्दथे । छोटो समयमै यस क्षेत्रमा प्रवेश गरेका प्रज्ज्वलको यो पहिलो बाउन्टी रिवार्ड हो ।

इथिकल ह्याकर प्रभा बस्नेतबाट आफू प्रेरित भएको बताउने प्रज्ज्वल काठमाडाैंस्थित नेपाल मेगा कलेजमा कक्षा १२ मा अध्ययनरत छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१