close

डिजिटल सिग्नेचरका लागि चौधरी ग्रुपको कम्पनी मोल्डसेलको आफ्नै प्लेटफर्म

टेकपाना टेकपाना

फागुन २२, २०७७ १९:०

डिजिटल सिग्नेचरका लागि चौधरी ग्रुपको कम्पनी मोल्डसेलको आफ्नै प्लेटफर्म

काठमाडौं । नेपालमा डिजिटल सिग्नेचर (विद्युतीय हस्ताक्षर) प्रणाली लागू भएको पाँच वर्ष पुरा भइसकेको छ । तर यसको प्रयोग भने व्यापकरुपमा हुन सकेकाे छैन ।

डिजिटल सिग्नेचर कार्यान्वयनका लागि स्थापना भएको प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक अनिलकुमार दत्तका अनुसार हालसम्म ३ हजारभन्दा धेरैलाई डिजिटल सिग्नेचर वितरण गरिएको छ ।

यसअन्तर्गत लोकसेवा आयोग, कर्मचारी सञ्चय कोष, नेपाल नागरिक उड्ययन प्राधिकरण, नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतका सरकारी निकायले आफ्नो सफ्टवेयर एप्लिकेशनमा डिजिटल सिग्नेचर आबद्ध गरी काम गरिरहेका छन् ।

यो संख्या अझै बढ्ने क्रममा रहेको नियन्त्रक दत्त बताउँछन् । केही निजी कर्पोरेट कम्पनीहरुले पनि डिजिटल सिग्नेचर प्रयाेगमा ल्याएकाे नियन्त्रक दत्तले बताए ।

यसैबीच नेपालको औद्योगिक घराना चौधरी ग्रुपले पूर्वी युरोपेली मुलुक मोल्दाेभामा सञ्चालन गरिरहेको दूरसञ्चार कम्पनी मोल्डसेलले पनि डिजिटल हस्ताक्षर प्रयोग गर्न थालेको छ । यसका लागि कम्पनीले आफ्नै प्लेटफर्म तयार पारेको हो ।

मोल्डसेलकी सञ्चार निर्देशक इरिना स्ट्राजेस्कु डिजिटल सिग्नेचरजस्तो नवप्रवर्तित प्रविधिका फाइदाहरुले कम्पनीको कार्यसम्पादन प्रक्रियालाई अझ चुस्त र प्रभावकारी बनाएकाे बताउँछिन् ।

उनका अनुसार मोल्डसेल कम्पनीले डिजिटल सिग्नेचरलाई सहजीकरण र सुरक्षित बनाउन एमडक प्लेटफर्म नै सार्वजनिक गरेको हाे । यस प्लेटफर्ममा कम्पनीले आफ्ना विद्युतीय कागजात आदनप्रदान गर्नुका साथै मोल्डसेलकै मोबाइल सिग्नेचर सर्भिस प्रयोग गरेर साझेदार तथा सेवाग्राहीहरुसँग डिजिटल हस्ताक्षर पनि गर्न सकिन्छ ।

मोल्डसेल प्लेटफर्मलाई मोल्दाेभाकै कम्पनी सिम्पाल्सले तयार गरेको हो । याे प्लेटफर्मका प्रडक्ट म्यानेजर भादिम जेलियसकोभ भन्छन्, ‘अब तपाईंले यात्रामा, दस्तावेज तयारी तथा आदान प्रदानमा समय खेर फाल्नुपर्दैन ।’

उनी अगाडि भन्छन्, ‘अब तपाईंले सिस्टमबाट डकुमेन्ट डाउनलोड गरेर पठाउन सक्नुहुन्छ । तपाईंको पार्टनरले केही सेकेण्डमै त्यसलाई मोल्डसेल मोबाइल सिग्नेचरबाट हस्ताक्षर गर्न सक्छन् । यो एकदमै चुस्त, सजिलो छ र कम्पनीको पैसा र समय पनि बचत हुन्छ ।’

यो एकदमै सुरक्षित हुने भादिम बताउँछन् । किनभने यसमा सम्पूर्ण डकुमेन्टहरू कम्पनीको स्टोरेजमा भण्डारण भएर बस्छन्, जसको एक्सेस एकदमै सुरक्षित हुन्छ । अहिले मोल्डसेलका कर्पोरेट क्लाइन्टहरुले पनि यो सेवाको प्रयोग गरिरहेका छन् ।

ती क्लाइन्टले डिजिटल सिग्नेचरकाे याे नयाँ प्लेटफर्मले समय र संसाधनलाई बचत गर्न सघाएकाे प्रतिक्रया दिएका छन् ।

याे पनि पढ्नुहाेस् : सीजीले किन्यो युरोपको टेलिकम कम्पनी ‘मोल्डसेल’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१