close

बोली बिगारेपछि ट्रोल बनेका वनमन्त्री आलेले दिए प्रविधिलाई दोष

टेकपाना टेकपाना

फागुन २३, २०७७ १६:१

बोली बिगारेपछि ट्रोल बनेका वनमन्त्री आलेले दिए प्रविधिलाई दोष

काठामडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराइएको आरोप लगाएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले काठमाडौँमा योजना कार्यक्रममा बोल्दै उनले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गरिएको आरोप लगाए ।

‘वर्तमान सरकार तथा मप्रति कुदृष्टि राख्नेले मेरो भाषणलाई एडिट तथा तोडमोड गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्,’ उनले भने, ‘यस्तो कूप्रचार नगर्न र उक्त कुरामा विश्वास नगर्न आग्रह गर्दछु ।’

यसरी प्रविधिको दुरुपयोग गरी समय खेर फाल्नुभन्दा देश विकासमा लाग्न उनले आग्रह गरे । नबोलेको कुरा एडिट गरेर बोलेको हो भन्दै कुप्रचार नगर्न आग्रह गर्दै उनले भने, ‘मैले यो जनताको सरकार हो, जनताप्रति उत्तरदायी सरकार हो, भनेको कुरालाई एडिट गरी गलत प्रचार गरिएको प्रति मेरो घोर आपत्ति छ ।’

केही दिनदेखि वनमन्त्री आलेले एक कार्यक्रममा बोलेको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसमा उनले ‘जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौं, जुन रुखलाई हामी अक्सिजन दिन्छौं, त्यही रुख रहेन भने के हुन्छ हालत ?’ भन्दै भाषण गरेको देखिन्छ ।

त्यस्तै ट्रोल भएको अर्को क्लिपमा ‘यो जनताको सरकार हो । यो कुनै जनताप्रति उत्तरदायी सरकार हो भन्ने कसैलाई लाग्छ भने त्यो तपाईंको ठूलो भुल हो’ भन्दै गरेको सुनिन्छ ।

वनमन्त्रीले बोल्दै नबोलेको कुरा एडिट गरी उनलाई नियतबस बदनाम गराइएको हो वा उनी आफैंले त्यसमा चिप्लिएका हुन्, त्यसमा हामीले पनि बुझ्ने प्रयास गरेका छौं । गत मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रमको विषय हो, यो ।

कार्यव्यस्तताका कारण प्रधानमन्त्री केपी शर्मा ओली भने वनमन्त्रीको भाषण अघि नै कार्यक्रम स्थलबाट बाहिरिएका थिए । उक्त कार्यक्रमको अढाई घण्टा लामो फेसबुक लाइभको भिडियो अहिले पनि महासंघको फेसबुक पेजमा पाउन सकिन्छ ।

भिडियोको २ घण्टा ३८ मिनेटमा मन्त्री आलेको करिब २२ मिनेट लामो भाषण सुरु हुन्छ । उक्त भिडियोको २ घण्टा ५१ मिनेट ४७ सेकेन्डमा ‘जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौं…’ भन्दै उनी चिप्लिन थालेका छन् ।

त्यही दिनको कार्यक्रममा उनी अर्को ठाउँमा पनि नराम्रोसँग चिप्लिए । भिडियोको २ घण्टा, ३९ मिनेट ५८ सेकेन्डमा ‘यो जनताको सरकार…’ भन्दै मन्त्री आले दोस्रो पटक नराम्रोसँग चुकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१