close

विश्वकै सबैभन्दा सस्तो इन्टरनेट नेपालमा

टेकपाना टेकपाना

फागुन २३, २०७७ २०:४०

विश्वकै सबैभन्दा सस्तो इन्टरनेट नेपालमा

काठमाडौं । विश्वमा सबैभन्दा सस्तो इन्टरनेट नेपालमा देखिएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले हालै प्रकाशित गरेको ‘द अफाेर्डेबिलिटी अफ आईसीटी सर्भिसेज २०२०‘ प्रतिवेदनमा मूल्यका हिसाबले नेपाल विश्वकै पहिलो सस्तो देखिएको हो ।

यससँगै इन्टरनेटको शुल्क प्रति महिना १.६६ अमेरिकी डलर अर्थात करिब १९३ रुपैयाँ ४२ पैसा कायम भएको छ । आईटीयूको अलायन्स फर अफोर्डेबल इन्टरनेट (सस्तो इन्टरनेटका लागि गठबन्धन) को आईसीटी प्राइस बास्केट अनुसार यो विश्वकै सबैभन्दा सस्तो हो ।

यहाँ हेर्नुहोस् आईटीयूको आईसीटी प्राइस भिजुअलाइजेसन । विश्वमा नेपालपछि सबैभन्दा सस्तो इन्टरनेट हुने मुलुकहरुमा क्रमशः श्रीलंका (२.६२ डलर), उज्बेकिस्तान (२.९६ डलर), इरान (३.२४ डलर) र बंग्लादेश (४.१२ डलर) रहेको छ ।

आईटीयूको आईसीटी प्राइस डेटा कलेक्सन नियम अन्तर्गत रहेर सन् २०२० को अप्रिलदेखि जुनको बीचमा यो तथ्याङ्क संकलन गरिएको हो । यसका लागि विश्व बैकको सन् २०१९ को प्रति व्यक्ति आय (जीएनआई) लाई आधार मानिएको छ ।

यस्तो शुल्कको मूल्यांकनका लागि आईटीयूले ५ जीबी तथा २.५६ किलोबाइट प्रति सेकेन्ड माथिको स्पिडलाई आधार मानेको छ । यसमा मुलुकमा उपलब्ध सबैभन्दा सस्तो प्याकेजलाई आधार बनाइएको छ । जब कि छिमेकी देश भारतमा यसको मूल्य ५.१८ अमेरिकी डलर रहेको छ ।

यद्यपी नेपालमा फिक्स्ड ब्रोडब्याण्डमा भोलुममा आधारित इन्टरनेट प्याकेजको साटो अनलिमिटेड प्याकेज प्रचलनमा छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार नेपालमा उपलब्ध इन्टरनेट प्याकेजलाई ‘क्याल्कुलेसन’ गरेर आईटीयूको संरचनामा ढालिएको थियो ।

त्यस्तै फिक्स नेपाल पहिलाे पटक फिक्स्ड ब्रोडब्याण्डको शुल्क प्रतिव्यक्ति आय (जीएनआई) को २ प्रतिशतभन्दा कम गर्न समेत सफल भएको छ । सन् २०१९–२०२० को प्रतिव्यक्ति आयको आधारमा नेपाल उक्त सूचीमा पर्न सफल भएको हो ।

जब कि छिमेकी देश भारतमा भने फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको मूल्य प्रति व्यक्ति आय (जीएनआई)को ३.१७ प्रतिशत रहेको छ । सूचीमा स्थान बनाउने सदस्यमा नेपाल सहित मंगोलिया र इन्डोनेसिया रहेका छन् । तर विश्वका कम विकसित मुलुक मध्ये यो लक्ष्य प्राप्त गर्नेमा भने नेपाल एक्लो मुलुक हो ।

अध्ययनमा समेटिएका कूल १७८ देशमध्ये हाल ६७ देशले मात्र यो लक्ष्य पुरा गर्न सकेका छन् । बाँकी १११ देश भने महंगो इन्टरनेट भएका मुलुकमा सीमित छन् ।

आईटीयूको अध्ययन प्रतिवेदनले नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट शुल्क प्रतिमहिना प्रतिव्यक्ति आय (जीएनआई) को १.९६ प्रतिशतमा झरेको देखाएको हो । प्रति व्यक्ति आयको आधारमा सबैभन्दा सस्तो इन्टरनेट हुने मुलुकमा क्रमशः लिचेटेन्सटेन (०.३४ प्रतिशत) , कुवेत (०.४० प्रतिशत), मकाउ (०.४७ प्रतिशत), चीन (०.५१ प्रतिशत) र यूएई (०.५५ प्रतिशत) रहेका छन् ।

याे सूचीबाट यसअघि लक्ष्य हासिल गरिसकेका दुई देश ब्राजिल र साउदी अरेबीया भने पुन: बाहिरिएका छन् । यससँगै अझै १११ देश लक्ष्यभन्दा बाहिर देखिएका छन् ।

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटतर्फ नेपालले यो सफलता हासिल गरेको भएता पनि मोबाइल ब्रोडब्याण्डतर्फ भने अझै लक्ष्य प्राप्त गर्न सकेकाे छैन ।

मोबाइल ब्रोडब्याण्ड कनेक्सनका आधारमा हर्ने हो भने हालसम्म २ प्रतिशतको लक्ष्य पुरा गर्नेमा यो वर्ष मोल्दोभा, मोरक्को, बोत्स्वाना, नाइजेरिया, इराक, लिबिया, माल्दिभ्स, नौरु र मंगोलिया रहेका छन् ।

१९० देश समेटिएको यो सूचीमा १०६ देशले मात्र लक्ष्य पुरा गर्न सकेका छन् । जसमध्ये ४ देश अति कम विकसित रहेको आईटीयूले जनाएको छ ।

त्यस्तै यो लक्ष्य भेटाउन नसक्ने ८४ देशमा ३९ देश कम विकसित रहेका छन् । उक्त प्रतिवेदन अनुसार नेपालको मोबाइल ब्रोडब्याण्डको शुल्क प्रतिमहिना प्रति व्यक्ति आय (जीएनआई) को २.५५ प्रतिशत रहेको छ ।

मोबाइल डेटाको शुल्क २.१६ अमेरिकी डलर अर्थात २५१ रुपैयाँ ६८ पैसाभन्दा बढी छ । यसका लागि आईटीयूले १.५ जीबी मोबाइल डेटालाई आधार मानेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१