२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

बाबु आमाको चाहना विपरीत करियर बनाएकी ‘फर्स्ट आईटी लेडी’

Timila Yami Thapa

काठमाडौं । जहानियाँ राणा शासनविरुद्ध लडेका राजनीतिक योद्धा बुबा धर्मरत्न यमीको सपना छोरी तिमिलालाई रेडियो नेपालमा समाचार बाचिका बनाएर पछि राजनीतिमा होम्याउने थियो । तर आमा हिरादेवी यमी भने आफ्नै करियर बनाएर मूलधारको राजनीतिक मैदानमा छोरी उत्रिउन् भन्ने चाहन्थिन । 

कुरा सन् १९७० तिरको हो । त्यतिखेर तिमिला यमीकी दिदी धर्मा भारतमामा मेडिकल साइन्स र दाजु विधान इन्जिनियरिङ अध्ययन गर्दै थिए ।

सोही बखत तिमिला पनि बी टेक इलेक्ट्रोनिकल इन्जिनियरिङमा अध्ययन गर्न आईआईटी कानपुर पुगिन् । ‘आईआईटी कानपुरमा म इन्जिनियरिङ डिग्रीको लागि भर्ना भएको सुनेर मेरो बुबा निराश हुनु भएको थियो,’ तिमिला सम्झिन्छिन् । 

सन् १९७० मा आईआईटी कानपुरमा पढ्न जाँदा उनको ब्याचमा चार सयजना केटाहरुसँग उनी र एकजना अर्की केटी साथी थिइन् । भारतमा पनि त्यस बखत आईटी क्षेत्र भर्खरै बामे सर्दै थियो ।

तर आईटी क्षेत्रको महत्वलाई बुझेर आईआईटी कानपुरले पाएको स्वयत्तता र पर्याप्त संसाधनले सन् १९७५ को तिमिलाको ब्याचले एकदमै गहिरो सिकाई र असल ग्रुमिङ पायो । त्यसैले सन् १९७५ मा ग्र्याजुएसन सकेर उनले भारत सरकारको इलेक्ट्रोनिक्स डिपार्टमेन्टबाट प्रायोजित अनुसन्धान परियोजनामा तीन वर्षसम्म काम गर्ने मौका पाइन् । 

सन् १९७९ मा तिमिला नेपाल फर्किइन् । लगत्तै उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इलेक्ट्रोनिक्स डिपार्टमेन्टमा लेक्चरको रुपमा प्रोफेसनल करियर सुरु गरिन् । 

त्यस बेला अहिले जस्तो छुट्टै कम्प्युटर इन्जिनियरिङ कोर्ष थिएन । सबैतिर सिभिल इन्जिनियरिङकै बर्चस्व थियो । कम्प्युटर इन्जिनियरिङको अभाव इलेक्ट्रोनिकल इन्जिनियरिङले नै पुरा गर्दै थियो ।

प्रोग्रामिङ ल्याङ्ग्वेज, कोडिङ जस्ता विषय थोर बहुत इलेक्ट्रोनिकल इन्जिनियरिङमै सिकाइन्थ्यो ।सन् १९८१ तिर नेपाल विद्युत प्राधिकरणमा केही क्यानेडियन कन्सल्टेन्ट आएका थिए ।

उनीहरुले ७५ जिल्लाको विद्युत सञ्जालमा लोड फ्लो अध्ययनका लागि भनेर क्यानडाबाटै सफ्टवेयर पनि ल्याएका थिए । बानेश्वरमा कार्यालय खोलेर छुट्टै प्रोजेक्ट सञ्चालनमा थियो ।

तर क्यानडाबाट ल्याइएको उक्त सफ्टेयर नेपालमा चल्न सकेन । क्यानडेली परामर्शदाताहरुको पनि केही सीप चलेन । 

अहिले जस्तो प्राविधिक, त्यो पनि सफ्टवेयरको ज्ञान भएको मान्छे पाउन त्यतिखेर सजिलो थिएन । त्यहाँ काम गर्ने वरिष्ठ इन्जिनियर माणिकरत्न तुलाधरले तिमिलालाई चिनेका थिए ।

उनले तिमिलालाई बोलाएर त्यो समस्या हेर्न लगाए । ‘त्यसको कोडको चाङ निकै ठूलो थियो,’ तिमिला ४० वर्ष अगाडिको आफ्नो काम सम्झिदैँ भन्छिन्, ‘त्यसलाई मैले घरमा ल्याएर तीन चार दिन लगाएर कोडको लजिक हेर्दा त्रूटी फेला पारेँ ।

त्यसमा लुपिङ इरर थियो । त्यो मैले सबै ब्रिफिङ गरेँ । समस्या समाधान भयो । क्यानडेली टिमले मलाई त्यो सफ्टवेयरका लागि औपचारिक रुपमा नै भर्ना गरेँ । अर्कोतिर पुल्चोक इन्जिनियरिङमा १९७९ मा हेड अफ डिपार्टमेन्टले पनि मलाई लिइसकेको थियो ।’

त्यसपछि तिमिला यमी थापाले कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन । प्राविधिक दक्षता र सीपका कारण उनलाई ब्याक टु ब्याक धेरै प्रोजेक्टहरु असाइन हुन थाले । 

टेलिकमको त न्युन स्तरको मसिन लेभलको सफ्टवेयर थियो । राष्ट्र बैंकको परियोजनामा पनि उनी संलग्न हुँदै गइन् । तिमिलाले त्यसबेलाको सबैभन्दा ठूलो परियोजना नेपाल टेलिकमको ७५ जिल्लाकै कम्प्युटर बिलिङको जिम्मा पनि लिइन् ।

त्यसपछि आईटी परियोजना र प्राज्ञिक केन्द्रमा मात्र उनी सीमित रहिनन् । सूचना प्रविधिको जटिल विषय र यसको दुरगामी महत्वलाई बुझेर यसको प्रवर्द्धनका लागि पहलकदमी लिन सक्ने त्यसबेला कोही पनि थिएनन् ।

त्यसैले उनको संलग्नताको क्षेत्र र जिम्मेवारी पनि थप विस्तार हुँदै गयो । विभिन्न मुलुकहरुले देशमा ल्याउने आईटी परियोजनामा त उनको संलग्नता छँदै थियो ।

साथै उनी त्यहीँ बेला पुल्चोक आईओईको असिस्टेन्ट डिन समेत हुन पुगिन् । नेपाल दूरसञ्चार प्राधिकरण पनि भर्खर भर्खर अस्तित्वमा आउँदै थियो ।

त्यहाँको आरटीडीएफ (ग्रामीण दूरसञ्चार विकास कोष) को एडभाइजरी बोर्डमा पनि उनले आफ्नो विज्ञताले भ्याएसम्म सहयोग गरिन् । उता इन्जिनियरिङ काउन्सिलको गभर्निङ बोर्ड मेम्बरको रुपमा पनि सेवा गरिन् ।  

एकेडेमिक र इन्डस्ट्री सेक्टरको, सरकारी सेवाको क्षेत्रमा आईटीको कोर्षदेखि नियमन कसरी गर्ने भन्ने कुरामा बोल्ने कोही पनि थिएन । यूजीसी (विश्वविद्यालय अनुदान आयोग) को रिसर्च एकेडेमिक काउन्सिल, पोखरा युनिभर्सिटीको सिनेट मेम्बरमा पनि उनलाई राखियो । 

यसरी सूचना प्रविधिको सेवा तथा औधोगिक, प्राज्ञिक र नियामक क्षेत्रलाई एकै ठाउँमा ल्याउँदै जाने उनी एक्लो पहलकर्ता पनि बन्दै गइन् । यसक्रममा काठमाडौं खानेपानी लिमिटेडको बोर्ड सदस्य हुँदै (पछि अध्यक्ष) को जिम्मेवारी पनि उनले निर्वाह गरिन् । 

फिलिप्स होल्याण्ड जाँदाको तस्वीरमा तिमिला यमी

सँगसँगै एक वर्षका लागि टेलिकम र मध्यपूर्वका ठूला सफ्टवेयर परियोजनामा काम गर्न उनी १९८५ मा फिलिप्स होल्याण्डमा पनि बसिन् । सन् १९८८ तिर दक्षिण एसियाका विभिन्न मुलुकमा भइरहेको आईटी क्षेत्रको औद्योगिक गतिविधि अध्ययनको एउटा जापानी परियोजना आएको थियो ।

जसमा नेपाल सरकार उद्योग मन्त्रालयको तर्फबाट तिमिलाले अध्ययनको नेतृत्व गरेकी थिइन् । पछि त्यसमाथि पुस्तक पनि प्रकाशन भयो । 

पुल्चोक आईओईमा अध्यापन जारी थियो । सोहीक्रममा सन् १९९४ मा वेलायतमा सूचना प्रविधि तथा सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर अध्ययनका लागि उनले छात्रवृत्ति पाइन् । 

त्यहाँबाट सन् १९९५ मा नेपाल फर्किएपछि प्राज्ञिक क्षेत्रमा अर्को उद्विकासका लागि उनले पहल सुरु गरिन् । नेपालमा आईटी क्षेत्रलाई इलेक्ट्रोनिकल इन्जिनियरिङले धानिरहेको थियो ।

तर विश्वका अन्य मुलुकमा कम्प्युटर इन्जिनियरिङको अध्ययन अध्यापन सुरु भइसकेको थियो । अर्कोतर्फ इलेक्ट्रोनिङ इन्जिनियरिङ आईटी क्षेत्रमा असान्दर्भिक बन्दै गइरहेको थियो । 

तर आईटी सबैले बुझ्न सक्ने विषय पनि थिएन । नियामक निकायमा त्यही चेतनाको कमी थियो । तैपनि तिमिलाले आफ्नो प्रयास जारी राखिन् । 

त्यस बेला सजिलो के भइदियो भने उद्योग मन्त्रालयका तत्कालीन सचिव भोलानाथ चालिसेका छोरा आईओईमा तिमिलाको विद्यार्थी थिए । यसैले उनले विषयलाई थप प्रस्ट्याउने मौका पाइन् ।

मन्त्रालयमा उनले लगातार प्रिजेन्टेसनहरु पनि दिइन् । सोही क्रममा सन् १९९६ मा ह्यान्नोभर जर्मनी नामक सफ्टवेयर उद्योगको अन्तर्राष्ट्रिय प्रद्रशनी हुँदै थियो ।

नेपालको उपस्थितिका लागि मन्त्रालयले तिमिलालाई पठाउने भयो । त्यहाँ त ठूला ठूला अन्तर्राष्ट्रिय प्रोजेक्टका लागि आउटसोर्सिङ तथा सम्झौता भइरहेका थिए ।

भारतीय कम्पनीहरुले पनि एकपछि अर्को परियोजनाहरु लिइरहेका थिए । त्यो देखेर उनी अवाक् भइन् । 

‘ह्यान्नोभर जर्मनी एक्जिबिसनमा ठूला ठूला कन्ट्रयाक्ट मात्र साइन हुँदो रहेछ,’ तिमिला सुनाउँछिन्, ‘त्यस बेला एउटा कम्पनीले मलाई सय जना जति कम्प्युटर इन्जिनियर राखेर प्रोजेक्ट गर्न सक्छौं भनेर सोध्यो ।

प्रोजेक्ट दिनुअघि उसले एकेडेमिक क्षेत्रको अवस्था र आकार नै सोध्यो । तब म अक्क न बक्क परेँ । किनभने त्यस बेला हाम्रोमा कम्प्युटर इन्जिनियरिङको कोर्ष नै सुरु भएको थिएन ।

उता केयू (काठमाडौं विश्वविद्यालय) तिर पनि उक्त विषय सुरु गर्ने विषय गाइँगुइँ चलेको थियो । वास्तवमा यो सेक्टरलाई लिड गर्ने विद्यार्थीहरु र पूर्वाधार त आईओइसँग थिए । त्यसैले अर्को वर्ष आउँदा सबै चाँजोपाँचो मिलाएर आउँछु भनेर उनीहरुलाई मैले भनेकी थिएँ ।’

त्यहाँबाट फर्किएपछि उनले सबै विवरण ल्याएर मन्त्रालयमा बुझाइन् । साथै सन् १९९७ मा पनि सोही एक्जिबिसनमा तिमिलाले नेपालको प्रतिनिधित्व गर्ने मौका पाइन् ।

तर त्यसपटक भने उनले मन्त्रालय र एफएनसीसीआई (नेपाल उद्योग वाणिज्य महासंघ) का पदाधिकारीलाई पनि सँगै लिएर जाने अड्डी कसिन् । त्यतिखेर एफएनसीसीआईका अध्यक्ष पद्मज्योती कंशकार थिए ।

जो आईआईटी कानपुरकै प्रडक्ट थिए । साथै पूर्व गभर्नर चिरन्जीवि नेपाल त्यसबेला उद्योग मन्त्रालयका कर्मचारी थिए ।

मन्त्रालयबाट चिरञ्जीवि नेपाल, क्यान (कम्प्युर एसोसियसन नेपाल) का अध्यक्ष विजयकृष्ण श्रेष्ठको साथमा उनी दोस्रोपटक एक्जिबिसनमा गइन् । त्यहाँबाट फर्किएपछि पछिल्लो चार पाँच वर्षदेखिको पहल सन् १९९८ मा आएर पुरा भयो ।

तिमिलाकै नेतृत्वमा पुल्चोक इन्जिनयरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङको औपचारिक रुपमा अध्ययन अध्यापन सुरु भयो । तर नेपालमा त्यसका लागि बजेट र विज्ञको कमी थियो ।

कोर्ष डिजाइन गर्नेदेखि भारतबाट विज्ञहरु झिकाउनेसम्म सबै काम उनकै नेतृत्वमा हुन थाले । तर उनलाई नियामकलाई मनाउनु त्यति सजिलो भएन ।

‘त्यसबेला फण्डिङ र संसाधान चाहिन्थ्यो । तर आईआईटी कानपुर आफैं लिड रोलमा थियो । भारतको मानव संसाधन मन्त्रालय यो नयाँ उद्योगलाई चिनेर आईआईटी कानपुरलाई आवश्यक पैसा दिन तयार भएको थियो,’

तिमिला सुनाउँछिन्, ‘त्यो कुरा मैले भोलानाथ चालिसेलाई भनेँ, यसको वित्तीय उपादेयता निकै ठूलो छ भनेर पनि सम्झाएँ । तर यसका लागि मन्त्रालयले पैसा लगानी गर्नुपर्छ भनेँ । त्यसपछि मन्त्रालयले पैसा पनि निकासा गर्‍यो । त्यसबेला मन्त्रालयले करिब आठ दश करोड रुपैयाँ नै निकासा गरेको थियो ।’ 

आइओईमा ट्यालेन्ट विद्यार्थी थिए । ती विद्यार्थीलाई बाहिरबाट बोलाइएका विज्ञहरुसँग सहकार्य गराएर दक्ष जनशक्ति उत्पादन गर्ने योजना सहित त्यति ठूलो रकम निकासा भएको थियो । त्यही पैसा राम्रा विद्यार्थीहरुलाई ग्रुम गरेर अगाडि लानुपर्नेमा कता कता ट्रेनिङ सेन्टर भनेर त्यो पैसा सबै दुरुपयोग गरियो ।

‘आज पनि म ठोकुवा गरेरै भन्छु, त्यो मेरो अगाडि नै भएको थियो र जे भएको थियो त्यो गलत थियो,’ तिमिला दृढतापूर्वक भन्छिन्, नियमन र सञ्चालन भनेको एउटा एक्सपर्टको ग्रुपले गर्नुपर्थ्यो । यूनिभर्सिटी ग्रान्ट कमिसनको रिसर्च काउन्सिलमा पनि म थिएँ ।

आईटी क्षेत्रका लागि छुट्टै फण्ड हुनुपर्छ भनेर त्यहाँका भीसीलाई नियमित भन्थेँ । तर उहाँहरुको त्यो ज्ञानको पृष्ठभूमि नै थिएन र उनीहरुले त्यसको महत्व नै बुझेनन् ।’

सन् १९९८ मा पुल्चोकमा कम्प्युटर इन्जिनयरिङ सुरु भयो । आईओईकै मातहतमा धरान क्याम्पस थियो । त्यहाँ ओभरसियर डिग्री चलिरहेको थियो । पोखरा र थापाथलीमा पनि त्यही विषय थियो ।

पुल्चोकमा जस्तै ती संस्थामा पनि कम्प्युटर इन्जिनियरिङ कोर्ष सञ्चालन गर्नुपर्छ र पुराना काम नलाग्ने कोर्षलाई विस्थापन गर्नुपर्छ भनेर तिमिला प्रशासनसँग कराइरहन्थिन ।

‘सन् १९९८ मा ती तीन वटैलाई गाभेर अध्यापन सुरु गरेको भए आज यो आईटी सेक्टरलाई कति ठूलो योगदान हुन्थ्यो,’ तिमिला खेद प्रकट गर्दै भन्छिन्, ‘मैले कति गर्न खोजेँ, दबाब दिएँ । तर गर्नै दिएनन् ।

धरानमा कति धेरै पूर्वाधार थियो । वर्ल्ड बैंकको कोष थियो, होस्टेल र स्टाफ क्वार्टर थियो । बेवास्ता हुनुमा एउटै कारण थियो । हाम्रा आईओईकै धेरै टिचरहरु आफ्नै प्राइभेट कलेज चलाइरहेका थिए ।

यता सरकारी कलेजमा प्रोग्राम सुरु भयो भने उनीहरुकोमा १२ लाख तिरेर आउने विद्यार्थी अढाई लाख तिरेर सरकारी कलेजतिर कुद्ने निश्चित थियो । त्यही स्वार्थको द्वन्द्वविरुद्ध म लडेकी थिएँ ।’  

सन् १९९८ देखि कुरा उठाएको भए पनि सन्  २०१० मा जब तिमिला असिस्टेन्ट डिन भइन्, तब उनले पुनः लबिङ सुरु गरिन् । आफू आईओईको प्रशासकीय इन्चार्ज बनेपछि धरान र पोखरामा बल्ल कम्प्युटर इन्जिनयरिङ सुरु भयो ।

‘त्यही बेला ती सबै कलेजमा कम्प्युटर प्रोग्राम सुरु गर्नुका साथै मन्त्रालयको पैसालाई लगानी गरेको भए आज यो सेक्टर धेरै अगाडि पुग्ने थियो,’ तिमिलाको बुझाई छ । सन् २०१५ मा आईओईका सबै अध्यापन गतिविधिबाट अवकाश लिएकी ७० वर्षीया तिमिला यमी थापा अहिले पनि सक्रिय रुपमा नेपालको आईटी क्षेत्रको प्रवर्द्धनमा लागि परेकी छन् ।

सन् १९९१ मा आफूले सुरु गरेको सफ्टवेयर कम्पनी ‘डिजाइनको’ उनी अहिले पनि सक्रिय सञ्चालकको भूमिकामा छिन् । कम्पनीले बिलिङ, ईआरपी सफ्टवेयर तथा ससाना कम्पनीहरुका लागि पेरोल, एचआर, इन्भेन्ट्री अकाउन्ट बनाउँदै आएको छ ।

‘सन् १९९१ तिर सफ्टवेयर कम्पनीको नाममा मर्कन्टाइल थियो र आरएन तुलाधरको माइक्रोसफ्ट भनेर चिनिने ट्रेनिङ सेन्टर थियो । अरु मलाई खासै याद छैन । त्यतिखेर मैले ‘डिजाइनको’ सुरु गरेकी हुँ,’ तिमिला भन्छिन् ।

नेपालमा सूचना प्रविधि क्षेत्रको जग बसाल्नेदेखि पछिल्लो विकासक्रम र नयाँ पुस्तालाई नियाल्दै आएकी तिमिला आईटी इन्डस्ट्री र एकेडेमिक क्षेत्र सँगसँगै विकास हुनु पर्नेमा जोड दिन्छिन् । 

‘पढ्ने, पढाउने एकाडेमिक कोर्षको जुन डिटेलिङ हुन्छ, त्यसलाई एउटा एकेडेमिक्सले कसरी हेर्छ त ?’ उनी अगाडि भन्छिन्, ‘सफ्टवेयर उद्योगमा आउने जुन लजिक छ, त्यो गणित, स्टाटिस्टिक्ससँग सम्बन्धित हुन्छ ।

अन्य थुप्रै कम्पोनेन्टहरु जोडिएका हुन्छन् । ती सबै कुरा गहिरो रुपमा विद्यार्थीलाई अभ्यास गराउने हो, सिकाउने हो । विद्यार्थीलाई आवश्यक विज्ञतामा ढाल्न त्यसै अनुसारको पाठ्यक्रम संरचना आईओईले स्वीकार गर्दै लैजानु पर्छ र कोर्षको रिडिजाइनिङ गर्नुपर्ने देखिन्छ ।’

नयाँ फिल्ड भएको कारणले अप्ठ्यारो पनि होला । तर अन्ततः उद्योगसँग सुहाउँदो कोर्ष डिजाइन हुनुपर्छ । ‘हामीलाई जसरी आईआईटी कानपुरमा पढाइयो, ग्रुमिङ गरियो । त्यसले एउटा गहिरो ज्ञान दियो । पुल्चोकका लागि अहिले पनि त्यो गाह्रो छ । यसका लागि राम्रो फण्डिङ चाहिन्छ ।’

उद्योग क्षेत्र विकास हुँदे गइरहेको छ । त्यसैअनुसार विद्यार्थीका लागि एकेडेमिक कोर्षलाई पनि सँगसँगै राम्रो बनाउदैँ लैजान सक्नुपर्छ ।

नियमन समयानुकूल बनाउँदै जानु पर्नेछ । शिक्षामा जुन किसिमको लगानी हुन पर्थ्यो, त्यस हिसाबले पर्याप्त छैन ।

नेपालमा आईटी उद्योगलाई अगाडि डोर्‍याउने पर्याप्त प्रतिभा भए पनि सरकार आईटी व्यवसायमैत्री नभएको तिमिलाको गुनासो छ । ‘सबैतिर सेवा टेस्टेड मागिन्छ ।

सफ्टवेयर खरिदकै कुरा गर्दा कतै परीक्षण भएको र चलिरहेको नै मागिएको हुन्छ । जसले चलाइरहेको छ, उसलाई क्लाइन्टको सर्टिफिकेट नै मागिन्छ ।

तर नेपाली कम्पनीहरुले कताबाट पाउने ? नेपालमा मान्छे नभएका होइनन् । तर उनीहरुलाई फल्ने फुल्ने वातावरण सरकारले दिइरहेको छैन ।

मलेसियाली सरकारले आफ्नो जुनसुकै परियोजना, चाहे सडक होस् वा अन्य कुनै, आफ्नै स्वदेशी कम्पनीलाई नै दिन्छ । उसले जसलाई पनि दिनसक्थ्यो ।

तर आफ्नै मुलुकभित्रको कम्पनीलाई दिने र बरु नपुगेको विज्ञता बाहिरबाट ल्याएर राखिदिने गर्छ । यसो गर्दा कम्पनीका लागि विदेशमा शोकेस गर्न प्रोफाइल पनि बन्छ ।

त्यसमा मलेसिया सरकारको ठूलो सहयोग छ । नेपालमा पहिलो पटक बैंकिङ सफ्टवेयर बङ्गलादेशबाट आएको थियो । त्यसको साटो सरकार र राष्ट्र बैंक नै लागेर आफैंले कुनै समूह नै खडा गरेको भए सफ्टवेयर खरिदमा हुने यति ठूलो खर्च जोगिने थियो ।

मेन्टिनेन्समा मात्रै वर्षमा कति धेरै रकम बाहिरिरहेको हुन्छ । आजको दिनमा पनि कति यस्ता प्रडक्टहरु छन्, जसको खरिदको नाममा धेरै पैसा विदेशी गइरहेको छ । किन्नेलाई पनि गाह्रै छ । जोखिमको कुरा आउँछ,’ तिमिला भन्छिन्।  

त्यो पैसा सबै यतै लगानी गर्न पाएको भए यहाँको आन्तरिक कम्पनीहरु पनि बढ्ने र अन्तर्राष्ट्रिय रुपमा उनिहरुको प्रोफाइल पनि निर्माण हुने सम्भावना उनी देख्छिन् । यस अनुरुप सरकारले पनि आफ्नो नीति बनाउनु पर्छ ।

यो क्षेत्रले जसरी टेकअप गर्नुपर्ने हो, त्यसमा अनेकौं कमीकमजोरीहरु छन् । अहिले पनि आउटसोर्सिङ र सफ्टवेयर कम्पनीहरुले एक स्तरको पर्फमेन्स दिइरहेका छन् ।

अहिलेका विद्यमान सफ्टवेयर कम्पनीहरुलाई सरकारले उपयुक्त वातावरण दिनु एकदमै आवश्यक छ । यदि त्यसो हुन सकेमा यी कम्पनीहरुले जुन स्केलमा रोजगारी दिइरहेका छन्, त्यो पनि बढेर जान्छ ।

यसको पछाडि आईटी क्षेत्रमा दबाब दिने समूहको पनि कमजोरी देख्छिन् उनी । ‘एफएनसीसीआईले पनि आफ्नो आईटी विङ राखेको भन्छ । तर न त क्यान, न त एफएनसीसीआई, कसैले पनि यस्ता कुरामा दबाब दिदैँनन्,’ तिमिला भन्छिन् ।

क्यान, नेटवर्क एसोसिएसन, एकेडेमिक इन्स्टिच्युट, इन्जिनियरिङ काउन्सिल आदि विभिन्न सरोकारवाला संस्थाहरु सबैले संयुक्त उद्देश्य र बुझाई बनाएर पहल अगाडि बढाए देशको समग्र आईटी क्षेत्र राम्रो बन्नेमा उनी आशावादी छिन् । त्यस किसिमको विकास भारतमा देखिएको उनी चर्चा गर्छिन् ।

‘भारतमा न्यासकम जस्ता संस्थाहरु छन् । आफैंमा पनि भारतमा यो सेक्टर निकै रेगुलेटेड छ । उनीहरुको सबै कुरा करको दायरमा छ । ब्याङ्लोरमा एउटा थिङ्क ट्याङ्क छ,’ उनी उदाहरण दिँदै भन्छिन्, ‘जसले भेण्डरलाई पनि ट्रयाकमा ल्याउने, सरकारको नियम र नयाँ आईटी कम्पनीलाई पनि ट्रयाकमा ल्याउने काम गर्छ ।

यी सबै स्ट्याण्डराइजेसनलाई वार्तामार्फत विकास गर्दै निश्चित आकारमा ल्याएको छ । यो सबैलाई निमयन गर्ने एउटा मजबूत निकाय उनीहरुसँग छ ।’ देश संघीयतामा गइरहेको अवस्थामा केन्द्रीकृत आईटी क्षेत्रले पनि संघीयताको मर्म अनुरुप काम गरेर जानु पर्ने उनको सुझाव छ ।

तिमिला अगाडि भन्छिन्, ‘संघीय राज्य संरचना यदि राम्रोसँग सञ्चालन भएको खण्डमा आईटी पनि विस्तार भएर जान्छ । आईटी क्षेत्रमा लागेका मान्छेहरुले यो बुझ्न सकेको छैनन् । आईटी मास रिलेटेड फंसनालिटी कन्सेप्ट हो । हाम्रो एकेडेमिक्समा पनि यो बुझाउनु पर्ने देखिन्छ ।’

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team