close

लाइभमा आयो नेपालकै पहिलो बगबाउन्टी, एक दिनमै जोडिए ५०० बढी ह्याकर

टेकपाना टेकपाना

फागुन २४, २०७७ १९:५७

लाइभमा आयो नेपालकै पहिलो बगबाउन्टी, एक दिनमै जोडिए ५०० बढी ह्याकर

काठमाडौं । नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म ‘बगभी’ अब पूर्णरुपमा सञ्चालनमा आएको छ । गत पुष १४ गते नै सार्वजनिक भएको बगभीलाई सिनिकल टेक्नोलोजीले दुई महिना १० दिनसम्मको परीक्षण पछि अन्ततः लाइभमा ल्याएको हो । 

सबैतिरबाट सकरात्मक प्रतिक्रिया आउनुका साथै परीक्षण पनि सफल भएपछि आइतबार बगभी पूर्णरुपमा सेवाका लागि सार्वजनिक भएको हो । बगभी सार्वजनिक भएको पहिलो दिनमा नै प्लेटफर्ममा देश तथा विदेशका गरी पाँच सयभन्दा धेरै सुरक्षा अनुसन्धानदाता (एथिकल ह्याकर) जोडिएका छन् ।

पहिलो दिनमै यति धेरै ह्याकरहरु जोडिनु निकै ठूलो कुरा भएको भन्दै सिनिकल टेक्नोलोजी तथा बगभीका संस्थापक नरेश लाम्गादेले खुशी व्यक्त गरे । हालसम्म बगभी प्लेटफर्ममा १० वटा नेपाली कम्पनी जोडिसकेका छन् भने अन्य कम्पनीहरु अनबोर्डिङ हुने प्रक्रियामा रहेको नरेशले बताए । 

सिङ्गो एसिया क्षेत्रलाई नै लक्षित गरी तयार गरिएको यो प्लेटफर्ममा क्रमशः विदेशी कम्पनीलाई पनि जोड्दै लैजाने नरेशको योजना छ । आइतबारबाट पूर्ण सञ्चालनमा आएको बगभी प्लेटफर्मबाट अब हरेक कम्पनीले सुलभ मूल्यमा साइबर सुरक्षा सेवा लिन सक्नेछन् । 

के हो बगभी ?

बगभी साइबर सुरक्षा प्रदान गर्ने एउटा प्लेटफर्म हो । जसमा देश तथा विदेशका साइबर सुरक्षा अनुसन्धानकर्ताहरुले विभिन्न कम्पनीका साइटहरुमा रहेका सुरक्षा कमजोरी खोज्ने र रिपोर्ट गरेर सुरक्षित पार्न सहयोग गर्दछन् । 

व्यावसायिक संघसंस्था तथा कम्पनीहरुले बगभीको प्लेटफर्ममा आफ्नो सिस्टमलाई सेवाका लागि राख्न सक्छन् । उनीहरुले आफ्नो साइटमा भेटिएका बगको प्रकृतिअनुसार क्रिटिकल भल्नरेबिलिटीलाई के कति पैसा दिने आफैंले निर्णय गरेर डिस्क्रिप्सनमा तय गर्न सक्छन् ।

बगभीमा साइट राख्दा कम्पनीले साइबर सुरक्षाको लागि लाखाैं रुपैयाँ तिर्नु पर्दैन । सुरक्षा शाेधकर्ताहरुले बग भेटेको खण्डमा बगको प्रकृतिअनुसार निश्चित पैसा दिनुपर्ने हुन्छ ।

ह्याकरहरुले बगभीको साइटमा गएर सहजै अकाउन्ट क्रियट गरेर सूचीकृत भएका साइटहरुमा बग खोज्न सक्छन् । बगभीमा खाता खोल्न तथा बगहरु खोज्न ह्याकरहरुले भने कुनै शुल्क तिर्नुपर्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१