close

आक्रामक योजनाका साथ इन्टरनेट सेवा सुरु गर्दै सीजी टेलिकम

टेकपाना टेकपाना

चैत १, २०७७ २०:५०

आक्रामक योजनाका साथ इन्टरनेट सेवा सुरु गर्दै सीजी टेलिकम

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमले इन्टरनेट सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आक्रामक रुपमा बजारमा उपस्थिति जनाउने उद्देश्यका साथ आवश्यक पूर्वाधार निर्माणको कार्य अगाडि बढाएको हो ।

कम्पनीले इन्टरनेट सेवा सञ्चालनका लागि काठमाडौंको सतुंगलमा डेटा सेन्टर समेत बनाइरहेको छ । कम्पनी स्रोतका अनुसार उक्त डेटा सेन्टर निर्माणको काम करिब २५ प्रतिशत सम्पन्न भइसकेको छ ।

अबको पाँच/छ महिनामा सतुंगल लगायतका केही स्थानमा कम्पनीले फाइबर इन्टरनेट सञ्चालनमा ल्याउने गरी आवश्यक पूर्वाधार तयार भइसक्नेछ । यस बाहेक कम्पनीले प्वाइन्ट टु प्वाइन्ट फाइबर कनेक्सन, ओएलटी (अप्टिकल लाइन टर्मिनल), राउटर लगायतका आवश्यक उपकरण तथा सामग्री समेत खरिद प्रक्रिया अगाडि बढाइसकेको छ ।

मोबाइल तथा आधारभूत दूरसञ्चार सेवा सञ्चालनका लागि युनिफाइड लाइसेन्स पाउन नसकेको सीजी तत्काल इन्टरनेट सेवामा केन्द्रीत भएको हो । ब्याण्डविथ आयात तथा इन्टरनेट सेवा सञ्चालनका लागि कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट यस अघि नै नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र लिइसकेको छ ।

अप्टिकल फाइबर नेटवर्कको निर्माणमा आधारभूत दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्स लिएर फाइभजी सेवामा आक्रामक रुपमा प्रस्तुत योजना समेत कम्पनीले बनाएको छ । यसैगरी सीजी टेलिकम अब पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको छ ।

यसअघि प्रालिको रुपमा सञ्चालित उक्त कम्पनीले अब भने सीजी कम्युनिकेसन्स लिमिटेडको रुपमा काम गर्नेछ । कम्पनीका जनरल म्यानेजर मधुसुधन पौडेलका अनुसार कम्पनीले केही समय अघि नै कम्पनी रजिष्ट्रार कार्यालयबाट नाम परिवर्तनको काम सम्पन्न गरिसकेको छ ।

यसैगरी नियामक प्राधिकरणमा समेत नाम परिवर्तनको विषयमा जानकारी गराएर स्वीकृति लिने काम भइसकेको छ । लामो समयदेखि जीएसएम मोबाइल सेवाको लाइसेन्सको पर्खाइमा बसेको सीजीले हालसम्म सरकारबाट उक्त लाइसेन्स प्राप्त गर्न सकेको छैन ।

अनुमतिपत्र पाएको खण्डमा सस्तो मूल्यमा इन्टरनेट तथा टेलिफोन सेवा उपलब्ध गराउने बताउँदै आएको चौधरी ग्रुपले आफ्नो दायीत्व पुरा गर्ने क्रममा कम्पनीलाई लिमिटेड बनाएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१