close

टेलिकमको फाइबर इन्टरनेट प्रयोगकर्ता २ लाख नाघे, कुन प्रदेशमा कति ?

टेकपाना टेकपाना

चैत ८, २०७७ १८:१६

टेलिकमको फाइबर इन्टरनेट प्रयोगकर्ता २ लाख नाघे, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा तीव्र गतिको इन्टरनेटका लागि फाइबर टु दी होम (एफटीटीएच) प्रविधि विस्तार गरिरहेको छ । काठमाडौं उपत्यकाबाट सुरु भएको एफटीटीएच सेवा हाल ४७ जिल्ला पुगेकाे छ भने अझै विस्तारको क्रममा रहेको टेलिकमले जनाएको छ ।

पहिलो चरणमा फाइबरमार्फत भ्वाइस र उच्च गतिको इन्टरनेटमात्रै उपलब्ध गराएको कम्पनीले केही समयदेखि भिडियो सेवा अर्थात टेलिभिजनसमेत उपलब्ध गराउँदै आएको छ ।

आगामी दिनमा देशभर एफटीटीएच सेवा उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेकाे छ । टेलिकमले एफटीटीएचमा व्यक्तिगत र कर्पोरेट ग्राहकका साथै कम्बो प्याकेजमा सेवा उपलब्ध गराइरहेको छ ।

उक्त सेवा जडान गर्ने प्रयोगकर्ताको संख्या फागुन मसान्तसम्म कुल दुई लाख तीन हजार ११० पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सबैभन्दा बढी एफटीटीएच ग्राहक बागमती प्रदेशमा छन् । फागुन मसान्तसम्म बागमती प्रदेशमा १ लाख ९५ हजार १६९ ओटा पाेइन्ट तयार भइसकेको छ । त्यसमध्ये कुल १ लाख ३ हजार ४ सय ३३ जनाले एनटी फाइबर जडान गरिसकेका छन् ।

जसमा ४५ हजार ७५० जनाले इन्टरनेटमात्रै जडान गरेका छन भने ५७ हजार ९१३ जनाले टेलिफोनसहितकाे सेवा जडान गरेका छन् । त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेश रहेको छ । टेलिकमका अनुसार याे प्रदेशमा हालसम्म २६ हजार ९४७ जना प्रयोगकर्ता रहेका छन् ।

त्यसमध्ये १४ हजार ६०३ जनाले इन्टरनेटमात्रै र १२ हजार ४२० जनाले टेलिफोनसहितको प्याकेज जडान गरेका छन् । त्यहाँ हालसम्म ५२ हजार ११८ जना ग्राहकलाई पुग्ने गरी पाेइन्ट निमार्ण भइसकेको छ ।

लुम्बिनी प्रदेशपछि तेस्रोमा गण्डकी प्रदेश छ । ३५ हजार ३ सय ७६ पाेइन्ट उपलब्ध गण्डकी प्रदेशमा हालसम्म २५ हजार २३ जनाले एनटी फाइबर जडान गरेका छन् । जसमा १३ हजार २४६ जनाले इन्टरनेटमात्रै र ११ हजार ८४५ जनाले टेलिफोनसहित जडान गरेको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार चौथो नम्बरमा प्रदेश १ रहेको छ । ४२ हजार ९९९ पाेइन्ट उपलब्ध प्रदेश १ मा हालसम्म २१ हजार २७० प्रयोगकर्ता रहेका छन् । जसमध्ये १० हजार ३२६ जनाले इन्टरनेटमात्रै र १० हजार ९४० जनाले टेलिफोनसहितको इन्टरनेट जडान गरेका छन् ।

सुदूरपश्चिममा हालसम्म ११ हजार ३४९ जनाले एनटी फाइबर जोडेका छन् । १५ हजार ६५९ पाेइन्ट उपलब्ध रहेको सुदूरपश्चिम संख्याको हिसाबले पाँचौ स्थानमा रहेको छ । कुल ११ हजार ३४९ जनामध्ये ६ हजार ६८ जनाले इन्टरनेटमात्रै र ५ हजार ३३८ जनाले टेलिफोनसहितकाे प्याकेज जडान गरेका छन् ।

टेलिकमका अनुसार प्रदेश २ मा हालसम्म जम्मा ८ हजार ९११ जना प्रयोगकर्ता रहेका छन् । त्यसमध्ये ४ हजार ९२८ जनाले इन्टरनेटमात्रै र ४ हजार ४९ जनाले टेलिफोनसहितको एफटीटीएच जडान गरेका छन् ।

प्रदेशको हिसाबले नेपाल टेलिकमको एफटीटीएच प्रयोगकर्ता सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । याे प्रदेशमा २ हजार ३३७ जनाले इन्टरनेटमात्रै र २ हजार ५९६ जनाले भ्वाइससहितको इन्टरनेट जडान गरेका छन् ।

प्रदेश २ र कर्णाली प्रदेशमा क्रमशः २१ हजार २६६ र ९ हजार ५४४ पाेइन्ट रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१