close

स्टार्टअपलाई करिब ६ लाखको अमेजन होस्टिङ निःशुल्क उपलब्ध गराउँदै जेनस

टेकपाना टेकपाना

चैत ९, २०७७ १३:२०

स्टार्टअपलाई करिब ६ लाखको अमेजन होस्टिङ निःशुल्क उपलब्ध गराउँदै जेनस

काठमाडौं । अमेजन वेब सर्भिस (एडब्लूएस) को नेपालका लागि आधिकारिक कन्सल्टिङ पार्टनर जेनस सोलुसनले नेपाली स्टार्टअपलाई पाँच हजार डलर अर्थात करिब ६ लाख रुपैयाँको सर्भिस निःशुल्क उपलब्ध गराउने भएको छ । एडब्लूएस स्टार्टअप क्रेडिट अन्तर्गत कम्पनीले स्टार्टअप व्यवसायलाई निःशुल्क होस्टिङ तथा कम्प्युटिङ सर्भिस उपलब्ध गराउने भएको हो ।

स्टार्टअप व्यवसायको विस्तार र विकासलाई लक्षित गर्दै कम्पनीले यस्तो योजना अघि सारेको हो । आइतबारबाट सुरु भएको यो योजना जम्मा १० दिनमात्रै कायम रहने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमा सहभागी हुनका लागि व्यवसाय सुरु गरेको एक/दुई वर्ष वा सो भन्दा कम हुनुपर्ने छ । उक्त स्टार्टअपको आफ्नो छुट्टै डोमेन नेम र वेवसाइट समेत हुनुपर्ने जनाइएको छ ।

त्यस्तै, कुनै लगानी भित्र्याएका व्यवसाय अथवा कुनै व्यवसायी घरानाको लगानीमा सञ्चालन भएका स्टार्टअपले भने यसमा सहभागी हुन पाउने छैनन् । यसरी सहभागी भएर छनौट भएको कम्पनीले दुई वर्षसम्म दुई सयभन्दा बढी सर्भिस प्रयोग गर्न पाउनेछन् ।

जसमा कम्प्युटर, स्टोरेज, डेटाबेस, एनालिटिक्स, आईओटी, आर्टिफिसियल इन्टिलिजेन्स, कन्टेन्ट डेलिभरी र म्यासेजिङ सर्भिस रहेका छन् । यसका साथै कम्पनीले एक सय डलर बराबरको एडब्लूएसको एजुकेट अकाउण्ट क्रेडिट समेत उपलब्ध गराउने छ ।

जसमा विश्वस्तरीय तालिमका कन्टेन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यदि उल्लेखित योग्यता पुगेको खण्डमा स्टार्टअप कम्पनीले यसमा सहभागी हुने पाउने छन् । त्यसका लागि कम्पनीको वेबसाइट अथवा यहाँ क्लिक गरी आवेदन दिन सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१