close

भारतमा १ जीबीपीएससम्मको इन्टरनेट, नेपालमा कहिले आउला ?

टेकपाना टेकपाना

चैत ९, २०७७ १४:१७

भारतमा १ जीबीपीएससम्मको इन्टरनेट, नेपालमा कहिले आउला ?

काठमाडौं । भारतमा एयरटेल र जियो जस्ता टेलिकम कम्पनीहरुले १ जीबीपीएस गतिको इन्टरनेट प्लान सार्वजनिक गरेका छन् । पछिल्लो समय एयरटेलले ल्याएको प्लानले त झन् भारतीय बजारमा निकै चर्चा कमाएको छ ।

कम्पनीले ३९९९ भारुमा १ जीबीपीएस डाउनलोड तथा अपलोड स्पिडका साथ अनलिमिटेड डेटा (३३०० जीबी) सहितको इन्टरनेट प्याकेज ल्याएको छ । जसमा भारतीय नम्बरहरुमा अनलिमिटेड भ्वाइस कलको सुविधा समेत छ ।

त्यस्तै डिज्ने, हटस्टार, अमेजन प्राइम भिडियो सब्सक्रिप्सन समेत यो प्याकेजमा पाउन सकिन्छ । कम्पनीले घरायसी प्रयोगकर्ता र ससाना कार्यालयहरुलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

१५०० भारु डिपोजिट राखेर ३९९९ रुपैयाँको यो प्याकेजमा एयरटेल एक्स्ट्रिम बक्स समेत प्राप्त गर्न सकिन्छ । त्यतिमात्र होइन बक्सको साथमा कम्पनीका ग्राहकले सुरुको एक महिना एचडी प्याकको रिचार्ज निःशुल्क पाउन सक्छन् ।

अर्को टेलिकम कम्पनी जियोले प्रति महिना ८ हजार ४९९ भारुमा ६६०० जीबी डेटा रहेको १ जीबीपीएस इन्टरनेट प्याकेज बिक्री गरिरहेको छ । पर्याप्त इन्टरनेट स्पिड पाउन नसकेको गुनासो गरिरहने नेपाली प्रयोगकर्ताका लागि भारतीय कम्पनीको यो प्याकेजले पक्कै पनि लोभ्याएको हुनसक्छ ।

तर नेपालमा भने हालसम्म घरायसी प्रयोगकर्ताका लागि सेवाप्रदायकले अधिकतम ६० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराइरहेका छन् । यद्यपी नेपाल टेलिकमले भने १६० एमबीपीएस गतिको इन्टरनेट दिन सक्नेगरी नेटवर्क तयार पारिरहेको जनाएको छ ।

तर १ जीबीपीएस गतिको इन्टरनेट चाहिँ नेपालमा कहिलेसम्म आउला ? इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा आफूहरुलाई त्यसतर्फ चाँसो नै नभएको बताउँछन् ।

‘अहिलेकै अवस्थामा पनि धेरैजसो ग्राहकहरुको आकर्षण कम स्पिड भएका सस्ता प्याकेजमै देखिन्छ । जति माथिको स्पिडमा गयो, त्यति नै थोरै ग्राहकहरु छन्,’ उनी भन्छन्, ‘ग्राहक साइडबाट माग आएको खण्डमा हामीसँग १६० एमबीपीएस गतिको इन्टरनेट दिने पूर्वाधार तयार नै छ ।’

लोकल ब्याण्डविथका लागि सहज भए पनि अन्तर्राष्ट्रिय ब्याण्डविथमा भने १ जीबीपीएस इन्टरनेट प्याकेज दिन नेपालमा निकै कठीन विषय हो । शक्तिशाली सर्भरको अभाव र देशको सीमा समुद्रसँग नजोडिएका कारण अन्तर्राष्ट्रिय ब्याण्डविथकमा प्रतिवद्धता व्यक्त गर्न सक्ने अवस्थामा सेवाप्रदायकहरु पुगिसकेका छैनन् ।

यस्ता प्याकेजहरु ठूला र विकसित देशहरुमा मात्र सम्भव हुने इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) का पूर्व अध्यक्ष समेत रहेका बोहोराको भनाई छ । ‘हामी अहिले धेरै गतिको इन्टरनेट प्याकेज दिने भन्दा पनि भइरहेकै प्याकेजमा कसरी थप गुणस्तरीय इन्टरनेट दिने भन्नेमै केन्द्रीत छौं,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१