close

त्रिभुवन विश्वविद्यालयले ल्यायो अनलाइनमै पुस्तक, थेसिस र जर्नल पढ्ने सुविधा

टेकपाना टेकपाना

चैत ९, २०७७ १८:५९

त्रिभुवन विश्वविद्यालयले ल्यायो अनलाइनमै पुस्तक, थेसिस र जर्नल पढ्ने सुविधा

काठमाडौं । देशकै जेठो विश्वविद्यालय त्रिवि अन्तर्गतको केन्द्रीय पुस्तकालयले अनलाइनबाटै पुस्तक निःशुल्क पुस्तक पढ्न सकिने व्यवस्था गरेको छ । पुस्तकालयले विद्यार्थीलाई घरमै बसेर अनलाइनमा विदेशी पुस्तक पढ्ने सुविधा ल्याएको हो ।

पुस्तकालयले अनलाइन प्रणालीमार्फत घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल आदि सामग्री पढ्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । यसका लागि रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डेटाबेस सफ्टवेयर जडान गरिएको छ ।

उक्त सफ्टवेयरका लागि पुस्तकालयले ३२ लाख रुपैयाँ खर्च गरेको छ । त्रिविका आङ्गिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीले समेत यसबाट निःशुल्करुपमा पुस्तक पढ्न सक्नेछन् ।

कसरी पढ्ने ?

विद्यार्थीले पुस्तकालयको वेबसाइटमा गएर (फर्म भर्न यहाँ क्लिक गर्नुहोस्) फाराम भर्नुपर्ने हुन्छ । सोही फाराम भरेका आधारमा विद्यार्थीको ईमेल आईडी प्राप्त हुन्छ ।

जसबाट विदेशी पुस्तक, डकुमेन्ट, जर्नल लगायत पाठ्य सामग्रीमा पहुँच पाउने व्यवस्था मिलाइएको छ । पुस्तकालयको रिमोट एक्सेस सिस्टममा हालसम्म ३० हजारभन्दा बढी विद्यार्थी आईडी बनिसकेको बताइएको छ ।

पुस्तकालयका अनुसार यसमा चार लाख ५० हजारभन्दा बढी पुस्तक, ५० लाखभन्दा बढी थेसिसका साथै विभिन्न जर्नल, पत्रिका र लेख, रचना रहेका छन् । यसका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सगरमाथा इञ्जिनीयरिङ कलेज, हेटौँडा कलेज अफ सोसल साइन्सेस, बानेश्वर बहुमुखी क्याम्पस पुस्तकालयको अनलाइन सिस्टममा जोडिइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१