close

उद्योग वाणिज्य महासंघले ५० स्टार्टअपका लागि लगानी जुटाइदिने, यस्तो छ प्रक्रिया

टेकपाना टेकपाना

चैत ९, २०७७ १९:१९

उद्योग वाणिज्य महासंघले ५० स्टार्टअपका लागि लगानी जुटाइदिने, यस्तो छ प्रक्रिया

काठमाडौं । उद्योग वाणिज्य महासंघले ५० वटा स्टार्टअपलाई ५० व्यवसायीबाट लगानी जुटाउने भएको छ । महासंघको नवगठित स्टार्टअप एण्ड इनोभेसन समितिले आफ्नो पहलमा ५० वटा लगानीका लागि उत्कृष्ट ५० वटा स्टार्टअप छनौंट गर्ने भएको हो । 

सोमबार महासंघले पत्रकार सम्मेलनमार्फत उक्त योजनाको घोषणा गरेको छ । समितिका सभापति रञ्जित आचार्यले दुई वर्षको घोषणा कार्यक्रम अन्तर्गत यो योजना ल्याइएको बताए ।

जुनसुकै क्षेत्रको नवीनतम सोचमा आधारित व्यवसायहरुले आवेदन दिनसक्ने भन्दै उनले त्यसको आवश्यकता, सम्भावनाको आधारमा लगानी प्रदान गरिने बताए । तर लगानी जुटाउन स्टार्टाअप कम्पनीहरुले महासंघले खुलाएको आवेदनमा प्रतिस्पर्धा गर्नु पर्नेछ ।

महासंघले यसका लागि चैत महिनाको तेस्रो सातामा आवेदन खुल्ला गर्नेछ । प्रतिस्पर्धामा सहभागी हुन चाहने इच्छुक कम्पनीहरुले कम्तिमा एक वर्षसम्म सञ्चालनसँगै आर्थिक कारोबारको अडिट गरेको हुनुपर्नेछ ।

महासंघले मे महिनाको दोस्रो हप्तासम्ममा प्राप्त आवेदनबाट पहिलो सूची तयार पार्नेछ । मे महिनाको अन्तिम हप्ता अन्तरवार्ता र जुनको दोस्रो साता छनौट भएका ५० स्टार्टअपको अन्तिम सूची सार्वजनिक हुनेछ ।

साथै छनौट भएका स्टार्टअपहरुलाई जुलाई देखि तीन महिनासम्म मेन्टरशिप प्रदान गरेपछि लगानी समक्ष पुर्‍याउने महासंघको योजना छ । ती स्टार्टअपहरुलाई अनिल चित्रकार, पशुपति मुरारका, ओमराज भण्डारी, सौरभव ज्याति र आशुतोष तिवारीले मेन्टरशिप प्रदान गर्नेछन् ।

त्यस्तै रन्जित आचार्य, सुमन शाक्य, सिद्धान्तराज पाण्डे, अमति अग्रवाल, विश्वास ढकाल, सुमना श्रेष्ठ, निरज खनाल, आनन्द बगारिया र गगन प्रधानले समेत मेन्टरशिप दिनेछन् । अन्य मेन्टरहरुमा निरन्जन श्रेष्ठ, दीलिप अग्रवाल, सनम चित्रकार, योगेन्द्र शाक्य, भाष्कर ढुंगाना र संजय गोल्छा जस्ता व्यवसायीहरु रहेका छन् ।

मेन्टरशिप प्रदान गरिएका स्टार्टअपहरुलाई अक्टोबरको पहिलो हप्ता पिचिङका लागि समय दिइनेछ । केन्द्रबाहेक जिल्लास्तरमा पनि स्टार्टअप/उद्योग व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट २० मेन्टरहरु प्रदान गरिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१