close

वानप्लसको पहिलो स्मार्टवाच सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

चैत ११, २०७७ १८:५०

वानप्लसको पहिलो स्मार्टवाच सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमान्डाैं । वानप्लसले मंगलबार वानप्लस ९ सिरिजमा तीन स्मार्टफोनका साथै पहिलाे स्मार्टवाच सार्वजनिक गरेकाे छ । कम्पनीले एकैपटक वानप्लस ९, वानप्लस ९ प्रो र वानप्लस ९ आर गरी तीन स्मार्टफोन सार्वजनिक गरेको हाे ।

त्यस्तै १.३९ इच्न एचडी एमाेलेड डिस्प्लेका साथ कम्पनीले आफ्नो पहिलाे स्मार्टवाच सार्वजनिक गरेको छ । २.५ डी कर्भ्ड ग्लास प्रोटेक्सनका साथमा याे स्मार्टवाच आएकाे छ ।

कल तथा एपमा आउने नोटिफिकेशन सिधै वाचमा आउने गरी ‘सिमलेस कनेक्सन’ का साथ याे वाच सार्वजनिक भएकाे छ । यसले वानप्लस टिभीका लागि रिमोट कन्ट्रोलरका रुपमा समेत काम गर्नेछ ।

यतिसम्म कि वाचले निदाएको थाहा पाएर तपाईं सुतेको ३० मिनेटपछि आफैं टिभी बन्दसमेत गरिदिने छ । फिटनेशका लागि वानप्लस वाचमा ११० वर्कआउट मोड उपलब्ध छ ।

त्यसमध्ये यसले जगिङ, रनिङजस्ता वर्कआउट आफैं डिटेक्ट गर्नेछ । यसका साथै स्वास्थ्यलाई केन्द्रित गर्दै वाचमा एसपीओ२ मनिटरिङ, स्ट्रेस डिटेक्सन, श्वास प्रश्वास, धड्कनको रेट पत्ता लगाउने लगायतका फिचर रहेका छन् ।

४०५ एमएएच क्षमताको ब्याट्री रहेको वाच फुल चार्ज हुन मात्र २० मिनेट लाग्छ । भने, ५ मिनेट चार्ज गर्दा एक दिनभरी चल्ने कम्पनीले जनाएको छ ।

विभिन्न कलर भेरियन्टमा उपलब्ध याे स्मार्टवाच नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने अनुमान गरिएकाे छ । याे वाचकाे अन्तर्राष्ट्रिय बजार मूल्य १५९ डलर अर्थात् १८ हजार ५ सय रूपैयाँकाे हारहारीमा रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१