close

राष्ट्रिय सहकारी बैंक साइबर हमलामा परेको खुलासा, ५ जीबी डेटा डार्क वेबमा लिक

युजु खालिङ युजु खालिङ

चैत ११, २०७७ १९:३१

राष्ट्रिय सहकारी बैंक साइबर हमलामा परेको खुलासा, ५ जीबी डेटा डार्क वेबमा लिक

काठमाडौं । केही वर्ष अघि राष्ट्रिय सहकारी बैंकमाथि साइबर हमला भएको खुलासा भएको छ । बैंकमाथि साइबर हमला भएपछि २०२० को नोभेम्बर २ मा ५ जीबी डेटा डार्कवेब फोरममा सार्वजनिक भएको थियो । 

उक्त डेटा लिकबारे साइबर अनुसन्धान कम्पनी भैरव टेक्नोलोजीले तत्कालै उक्त बैंकलाई जानकारी गराएपछि बैंकले उक्त सुरक्षा कमजोरीलाई सोही दिन फिक्स गरेको थियो ।

तर डार्क वेबमा सार्वजनिक भएको सोही ५ जीबी डेटा चार महिनापछि अहिले पुनः डार्क वेबमै लिक गरिएको छ । त्यससँगै बैंकमाथि भएको साइबर हमलाकाे तथ्य बाहिर आएको हो । 

‘पहिले नै सार्वजनिक भइसकेको डेटालाई अहिले अर्को कुनै अनएथिकल ह्याकरले मैले नयाँ डेटा पाएँ भनेर दाबी गरी सार्वजनिक गरेको छ । तर त्यो पुरानै डेटा हो,’ एक साइबर सुरक्षा अनुसन्धानकर्मीले टेकपानालाई भने । 

यसअघि डार्कवेबमा उक्त डेटा अपलोड हुनेबित्तिकै कम्पनीले डेटा डाउन अर्थात् अपलोड गरेको ठाउँबाट डिलिट गरेको थियो । जसले गर्दा त्यो डेटा धेरैले पाएका थिएनन् । तर अहिले डेटा यसरी रिअपलोड हुँदा यसमा धेरैले एक्सेस पाएको ती साइबर अनुसन्धानकर्मी बताउँछन् । 

डार्कवेबहरुमा डेटा एक्सचेन्ज भइरहने हुँदा होलिस्टिक डिटेक्टिभ नामको अनएथिकल ह्याकरले पुरानो डेटा पाएर सार्वजनिक गरेको हो । 

५ जीबीको त्यति ठूलो भोल्युमको डेटामा विशेषगरी ईमेलको ब्याकअप, एटीएम टेलर मसिनमा प्रयोग हुने सफ्टवेयर सोर्सकोड तथा एप्लिकेसनहरु रहेका छन् । यसबारे बुझ्न हामीले राष्ट्रिय सहकारी बैंकसँग पनि सम्पर्क गरेका थियौं ।

बैंकका प्राविधिक अधिकारी विक्रम खतिवडाले पहिले डेटा डार्कवेबमा सार्वजनिक भएको पुष्टि गरे । तर अहिले पुनः दोहोरिएर डार्क वेबमा सार्वजनिक भएको डेटा बैंककै हो भनेर पुष्टि नभएको उनले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१