close

ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम दुई महिनामा २ प्रतिशत मात्रै

टेकपाना टेकपाना

चैत ११, २०७७ २१:३६

ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम दुई महिनामा २ प्रतिशत मात्रै

काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत सञ्चालन भइरहेकाे ब्रोडब्याण्ड इन्टरनेट परियोजनामा दुई महिनामा दुई प्रतिशतमात्र काम भएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आरटीडीएफ परियोजनाको फागुन मसान्तसम्मको प्रगति विवरणमा कुल ७४.८९ प्रतिशत काम सम्पन्न भएको उल्लेख छ ।

हालसम्म उक्त परियाेजनाअन्तर्गत ११ हजार ९६९ साइटहरुमा इन्टरनेट जडान सम्पन्न भइसकेको छ भने चार हजार १३ स्थानमा अझै जडान गर्न बाँकी छ ।

दुई महिनाको अवधिमा यस परियोजनामा २.३ प्रतिशतमात्र काम सम्पन्न भएको छ । यसअघि पुस मसान्तसम्मको प्रगति विवरणमा ७२.८६ प्रतिशत काम सम्पन्न भएको थियो ।

१८ प्याकेजमा सम्पन्न यस परियोजनालाई सम्पन्न गर्न प्राधिकरणले विभिन्न इन्टरनेट तथा दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई ठेक्का दिएको छ ।

जसमा यी कम्पनीहरुले स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय तथा स्वास्थ्य संस्थाको कार्यालय गरी १५ हजार ९८२ साइटहरुमा इन्टरनेट जडान गर्नुपर्ने छ ।

प्राधिकरणले याे परियोजना २०७३ देखि सुरू गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषअन्तर्गत अगाडि बढाएका ठूला परियोजनामध्येको यो एक वृहत परियोजना हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१