close

अब नागरिक एपबाटै पुलिस रिपोर्ट लिन सकिने

टेकपाना टेकपाना

चैत १२, २०७७ १७:५१

अब नागरिक एपबाटै पुलिस रिपोर्ट लिन सकिने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउँदै आएको पुलिस क्लियरेन्स रिपोर्ट अब नागरिक एपमार्फत नै उपलब्ध हुने भएको छ । आउँदो साताबाट उक्त सेवा नागरिक एपमा समावेश हुने उल्लेख गरिएको छ ।

यसअघि यही फागुनमा प्रहरी कार्यालयको अपराध अनुसन्धान विभाग, चालचलन शाखाबाट प्राप्त अनलाइन रिपोर्ट आफैं प्रिन्ट गरेर सोझै परराष्ट्र मन्त्रालयबाटै प्रमाणीकरण हुने व्यवस्था मिलाइएको थियो ।

अब त्यसलाई अझ प्रभावकारी र सबैको हातहातमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एपमा समावेश गर्ने तयारी भएको हाे । राष्ट्रिय सूचना प्रविधि कन्द्र (एनआईटीसी) ले हाल उक्त सेवाका लागि टेस्टिङको काम भइरहेको जनाएको छ ।

‘सिस्टममा टेस्टिङको काम करिब करिब सम्पन्न भइसकेको छ,’ केन्द्रका एक अधिकारीले टेकपानासँग भने, ‘अर्को हप्ताबाट यो सेवा नागरिक एपमा समावेश हुनेछ ।’

स्रोतका अनुसार नागरिक एपमा उक्त सेवा समावेश भएसँगै त्यहीँबाट आवेदन दिनेदेखि पुलिस रिपोर्ट प्राप्त गर्नेसम्मका कार्य सम्भव हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१