close

टेलिकमका लगानीकर्ताले प्रतिशेयर ४० रुपैयाँ पाउने

टेकपाना टेकपाना

चैत १३, २०७७ १८:२

टेलिकमका लगानीकर्ताले प्रतिशेयर ४० रुपैयाँ पाउने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का शेयर धनीले प्रतिशेयर ४० रुपैयाँ प्राप्त गर्ने भएका छन् । कम्पनीको १३ औं वार्षिक साधारणसभाले प्रति शेयर ४० रूपैयाँका दरले लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।

आज सम्पन्न साे साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकम मध्येबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हाे ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूची उपर छलफल गरी पारित गरेको छ ।

यसैगरी साधारणसभाले लेखा परीक्षकसमेत नियुक्त गरेको छ । भने, सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रुपमा अम्बिकाप्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

उक्त सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित शेयरधनीलाई स्वागत गर्दै कम्पनीको १३ औं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

उनले उपभोक्ताको अपेक्षाअनुरूप किफायती, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल र अग्रणी संस्थाको रूपमा विकास गर्न शेयरधनीबाट प्राप्त सहयोग, सद्भाव र सहकार्यका लागि सञ्चालक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् ।

अध्यक्ष बस्यालले भने, ‘कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांश लगायत शीर्षकमा राजस्वको ढुकुटीमा जम्मा गर्दै आएको छ ।’

लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट २ करोड गरी जम्मा १२ करोड योगदान गरेको छ ।

यसका साथै आर्थिक वर्ष २०७६/०७७ मा कर तथा गैह्रकर वापत सरकारी राजस्वमा ३५ अर्ब ५ करोड बुझाएको छ ।

कम्पनीले विभिन्न चुनौती र जोखिमका बाबजुद पनि आव २०७६/०७७ मा कुल राजस्व र खुद नाफा क्रमशः रू. ४२ अर्ब ९९ करोड र ९ अर्ब ७५ करोड रुपैयाँ कायम गर्न सफल भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१