मार्क जुकरबर्गकाे हराएकाे डायरी

स्टेभेन लेभी
मैले मार्क जुकरबर्गलाई २००६ को मार्च महिनामा पहिलोपटक भेटेको थिएँ । त्यो समय म न्युज विकमा प्रविधि लेखक थिएँ ।  त्यस समय म वेब टू प्वाइन्ट जेरोमा स्टोरी लेख्दै थिएँ ।

यसको अवधारणा इन्टरनेटको अर्को चरण रमाइलो र सर्वसाधारणको सहभागितामा आधारित हुनेछ भन्ने थियो । त्यसबेला मैले एउटा सामाजिक सञ्जाल स्टार्टअपको बारेमा सुनेको थिएँ, जुन जालो जसरी विभिन्न कलेज तथा क्याम्पसहरुमा फैलिरहेको थियो ।

म त्यसको बारेमा अझै अध्ययन गर्न चाहान्थेँ । सम्भवतः म त्यसलाई मेरो स्टोरीमा पनि समावेश गर्न चाहान्थेँ । सौभाग्य नै भन्नुपर्छ, त्यो स्टार्टअप कम्पनीका सहसंस्थापक तथा सीईओ मार्क जुकरबर्ग पनि त्यही महिना पीसी फोरममा सहभागी हुँदै थिए । म त्यो समारोहमा निरन्तर उपस्थित हुन्थेँ । जुन क्यालिफोर्नियाको कार्ल्सबाड रिसोर्टमा आयोजना हुने गर्दथ्यो । 

समारोहबीच हामीले कन्फ्रेन्स ग्राउण्डमा लञ्चको समयमा भेट्ने समय मिलायौँ । घमाइलो दिनमा हामी लाउञ्जमा राखिएको एउटा टेबलमा नजिकिएर बस्यौँ । उनको साथमा म्याट कोहलिर थिए, जसले भर्खरै लिंक्डईन छाडेर फेसबुक जोइन गरेका थिए । 

मैले त्यस समय जुकरबर्गलाई उनको वास्तविक उमेर २१ वर्षभन्दा पनि कम जस्तो ठानेको थिएँ । मैले लामो समयदेखि कति धेरै ह्याकरहरु तथा प्रविधि कम्पनीहरुको स्टोरी लेख्दै आएको थिएँ । तर मैले यति कम उमेरको कुनै पनि प्रविधि व्यवसायी देखेको थिइनँ ।

तर उनको प्रभाव ममा ठूलै पर्‍यो । मैले उनलाई केही सामान्य प्रश्न सोधेँ । कम्पनीले कतिसम्म गर्ने हो भनेर जिज्ञासा राखेँ । तर उनले मलाई एकहोरो हेरी मात्र रहे । केही भनेनन् । उनमा रिस वा पूर्वाग्रह केही देखिनँ । उनी मात्र खाली थिए । यदि मेरो प्रश्न कुनै पनी फोरामा राखेर कुनै डाँडाबाट फालेको थिएँ भने पत्थरका अनुहारमा योभन्दा धेरै प्रभाव हुने थियो होला । 

म छक्क परेँ । यो मान्छे त सीईओ होइन र ? मेरो मनमा प्रश्न उठ्यो । मैले केही त्यस्तो भनेँ र उनले मलाई मन पराएनन् ? हामीबीच मौनता व्यग्र भएर सन्नाट्टा छायो । मैले मार्गदर्शनका लागि कोहलिरलाई हेरेँ । उनी मुस्कुराए मात्र । मैले कुनै लाइफलाइन नै पाइनँ । 

मैले त्यो मौनता र अप्ठ्यारोलाई चिर्दै, जुकरबर्गलाई सोधेँ, तपाईंलाई पीसी फोरमको बारेमा केही थाहा छ ? उनले थाहा छैन भने । त्यसपछि मैले उनलाई यसको जराबाट नै सम्झाउन थालेँ । केही समय जानकारी दिएपछि उनी केही सहज र सरल भए ।

त्यसपछि लञ्चको बाँकी समय कुराकानी गर्न उनी मेरा लागि अलिक सजिलो बने । विस्तृतमा बताउन नसके पनि उनले बोल्न सुरु गरे । उनले होस्टेलको एउटा कोठादेखि सुरु भएर ७० लाख प्रयोगकर्ता कमाइसकेको कम्पनीको बारेमा बताउन सुरु गरे । 

थाहै नपाई म पनि जुकरबर्ग जस्तै उनको कुरा सुन्न थालेर चुपचाप मौन बसिसकेको रहेछु । मेरो कभर स्टोरीमा जुकरबर्ग र फेसबुकलाई मैले चार वटा वाक्यमा समावेश गरेको थिएँ । ‘द न्यू विसडम अफ वेब’ । यदि ला कोस्टा रिसोर्ट एण्ड स्पामा जुकरबर्गले शेयर नगरेको कुरा मलाईं थाहा भएको भए म सायद फेसबुक र उनलाई थप स्पेस दिन्थेँ होला । 

जुकरबर्ग आफ्नो जीवनको सबैभन्दा उत्पादनशील समयमा प्रवेश गर्दै थिए । केही हप्तापछि मैले उनलाई भेटेँ । उनले फेसबुकका लागि एउटा अनावश्यक महत्वाकांक्षी भिजन सार्वजनिक गरेका थिए । ८ देखि १० पेजको एउटा जर्नलमा उनले आफ्नो मिसन र प्रडक्ट डिजाइनलाई स्केच गरेका थिए ।

साथै उक्त जर्नलमा एउटा सानो कम्पनी कसरी विश्वका लागि महत्वपूर्ण युटिलिटी बन्नसक्छ भनेर एक्सप्लोर पनि गरेका थिए । विस्तृतरुपमा भन्नुपर्दा उनले त्यसमा ओपन रजिस्ट्रेसन र फीड फिचरका बारेमा उल्लेख गरेका थिए । यी दुई फिचरले उनको कम्पनीको मूल्य थप धेरै बढाउँदै थियो ।

जुकरबर्ग आफ्नो नोटबुकमा केन्द्रीत थिए । फेसबुकको सफलता र असफलता दुवैको बिऊ उनको त्यही नोटबुकभित्रै थियो । जुकरबर्गले आगामी १० वर्षमा कार्यान्वयन गर्ने योजना पनि त्यही नोटबुकमै थियो । फेसबुक कलेजका विद्यार्थीको एउटा ह्याङआउटको माध्यमबाट आफूलाई वर्चश्वशाली सोसल मिडिया सर्भिसको रुपमा परिणत गराउँदै थियो ।

जसका प्रयोगकर्ता विश्वको सबैभन्दा ठूलो मुलुकको जनसंख्याभन्दा धेरै थिए । फेसबुकमा अहिले कुनै पनि धर्म सम्प्रदायको भन्दा धेरै सदस्य छन् । जुकरबर्गको फेसबुकले मानिसहरुलाई एक ठाउँमा जोड्ने काम मात्र गरेन । यो समाचार, मनोरञ्जन र जीवन सुरक्षा सूचनाको स्रोत पनि बन्यो । कम्पनीले आफ्नो प्रयोगकर्ताको आधारलाई विज्ञापनसँग जोड्यो र जुगरबर्ग विश्वकै धनी व्यक्ति बने । पीसी फोरम लिजेण्डमा उनको नाम पनि सदा सर्वदाका लागि लेखियो । 

त्यसपछि २०१६ को चुनाव आउँदै गर्दा अचानक फेसबुकको सेवाको बारेमा  उजुरी देखा परे । जुन विस्तारै आक्रोशमा परिणत हुँदै गए । फेसबुकले प्राप्त गरेको सफलताहरु दायित्वमा परिणत बन्दै गए । फेसबुकमा जोडिएका करोडौं मानिसहरु फेसबुकको अत्यधिक शक्तिलाई देखेर अब भने होसियार रहन थाले । आवाज विहीनहरुलाई आवाज दिएको प्लेटफर्म, जसले सुन्नै नसकिने स्तरका ट्रोलहरु पनि प्रशारण हुने अवसर दिएको थियो ।

यो घातक दमनकारीहरुदेखि मुक्तिको आन्दोलनका लागि पनि प्रयोगमा आयो । योभन्दा पनि फेसबुकले घातक काम त्यतिखेर गर्‍यो, जतिखेर यसले गोपनीयताको कदर गर्न सकेन । फेसबुकले लामो समयदेखि आफ्नो नीति बनाउँदै आएको शेयरिङको अवधारणलाई उसले प्रयोगकर्ताको डेटा फसाउने जालको रुपमा प्रयोग गर्‍यो । र हामीले जान अञ्जानमा उपलब्ध गराएको आफ्नो डेटा नै आज फेसबुक सम्वृद्ध बन्ने र मोटाउने एउटै कारण हो । 

२००६ देखि मैले जुकरबर्गलाई हेर्दै आएको छु । र विगत तीन वर्षदेखि उनको कम्पनीको इतिहासको बारेमा लेख्दै आएको पनि छु । मैले उनीसँग नौ पटक कुरा गरेँ । अनी उनले मैले भनेको कुरालाई त्यस्तो चुनौतीपूर्ण अवस्थामा केही प्रयोग गरेको र केही वेवास्ता गरेको पनि नियाले ।

फेसबुकप्रति सर्वसाधारणको बदलिँदो दृष्टिकोणले प्रविधि क्षेत्रको आफ्नै गरिमा पनि ढल्दै गएको झलक दिन्थ्यो । तर फेसबुकको त्यस्तो परिस्थिति उसकै संस्थापकको व्यतित्व, भिजन र व्यवस्थापनप्रतिको अवधारणाका कारण उत्पन्न भएको थियो । फेसबुकलाई बुझ्न तपाईंले जुकरबर्गलाई बुझ्नुपर्ने हुन्छ ।

यो सजिलो काम होइन । उनले आफ्नो सार्वजनिक छविमा रोबोटिक कूलनेस छ भने पनि मसँगको धेरै वार्तालापमा उनी तुलनात्मकरुपमा केही खुलेका थिए । तर पनि उनीसँग रिभर्ज बस्ने उपाय भने सधैं हुन्थ्यो । यति सम्म कि उनले म एउटा रिपोर्टर हुँ भन्ने कुरा उनले कहिल्यै पनि भुलेनन् । उनी सधैं आफू र आफ्नो कम्पनीलाई लिएर मसँग सधैं रक्षात्मक रहन्थे । 

तर मैले जुकरबर्गको एउटा यस्तो ठाउँ पत्ता लगाएँ, जहाँ जुगरबर्ग फेसबुकलाई लिएर आफ्नो योजना र सपनाबारे स्पष्ट बोल्न सक्दथे । यसरी विश्वको शक्तिशाली कम्पनी सञ्चालन गरिरहेका व्यक्तिको बारेमा मैले बलियो क्लु पाएँ । त्यो एउटा नोटबुक थियो, जुन २००६ को वसन्तमा राखिएको थियो । 

उत्तरी न्यूयोर्कको बेडरुम कम्युनिटी, न्यूयोर्क डोब्स फेर्रीमा हुर्किएका मार्क जुकरबर्ग गेम खेल्न मन पराउँथे । उनको मन पर्ने एउटा गेम के थियो भने पीसी आधारित रणनीतिक गेम ‘सिभिलाइजेसन’ । त्यसमा ट्यागलाइन थियो, ‘समयको परीक्षणलाई थेग्न एउटा साम्राज्य बनाउनुहोस्’ गेम खेल्दै गर्दा  प्रोग्रामिङ सिक्ने रहर पलायो । डेन्टिस्ट र साइक्याट्रिक रहेका अभिभावकले उनको लागि कोडिङ ट्युटर राखे । 

जुकरबर्गले लोकल पब्लिक हाईस्कूलको कम्प्युटर साइन्स अफरलाई त्यागेर आठौं कक्षामा ग्य्राजुएट कोर्षमा भर्ना भए । हाई स्कूलको दोस्रो वर्षपछि उनलाई थप एपी र कम्प्युटर कोर्स सहितको प्राइभेट स्कूलमा पढ्न आग्रह गरियो । परिवार उनलाई नजिकैको एउटा उच्च प्रिपेरेटरी स्कूल होरेस म्यान पठाउन चाहान्थे । तर जुकरबर्गलाई उनका बुवाले दृढ इच्छा भएको बताएका थिए । तर उनले फिलिप्स एक्सेटिर एकेडेमी पढ्ने रहर गरे । 

जुकरबर्गले न्यू हेम्सपेयरको प्रिप स्कुलमा पुगेपछि थप प्रगति गरे । त्यहाँ पुगेपछि उनी धेरै खुकुलो भए । अलि कम लजाउन थाले । उनले त्यहाँ आफूलाई कम्प्युटरको हिरो मात्र बनाएनन् । आफूलाई फेन्सिङ टिमको क्याप्टेन पनि बनाए । उनी एकदमै लगाव भएको विद्यार्थी थिए ।

त्यहाँ पनि गेममा डुबिरहन्थे । सिभिलाइजेसनपछि उनको मनपर्ने खेल अल्फा सेन्चुरी थियो, जुन आउटर स्पेसमा सेट गरिएको थियो । उक्त खेलमा खेलाडीले ग्यालेक्सीमा नियन्त्रण जमाउन सात मानव फ्याक्सनलाई लिड गर्दथ्यो । गेममा जुकरबर्ग सधैं यूएनको शान्ती सेनाको भूमिकामा बस्दथे । उक्त शान्तिसेनाको आध्यात्मिक नेता एक आयुक्त थिए, जसको नाम प्रवीन लाल थियो । 

‘सूचनाको खुल्ला प्रवाह नै उत्पीडनविरुद्ध सुरक्षा दिने आधार हो’ प्रवीन लालको विचार थियो । पछि जुकरबर्गले प्रवीन लालको उद्धरणलाई आफ्नो फेसबुक प्रोफाइलमा राखे । ‘त्यो व्यक्तिसँग डराउनुहोस्, जसले तपाईंलाई सूचनामा पहुँच दिदैँन । उसले भित्रभित्रै तपाईंको मास्टर बन्ने सपना देखिरहेको हुन्छ ।’

जुकरबर्ग २००२ मा हावर्ड विश्वविद्यालयमा प्रवेश गरे । उनले त्यहाँ गर्नुपर्ने कुराहरुलाई वेवास्ता गर्न थाले । उनले आफ्नो अधिकांश समय किर्कल्याण्ड हाउसको स्यूट एच ३३ को कमन रुमको एउटा सस्तो काठको डेस्कमा सफ्टवेयर प्रडक्टहरु बनाउँदै बिताउने गर्दथे । उनले आफ्नो कक्षा र परीक्षाको अंकलाई भन्दा पनि यी कुरालाई बढी ध्यान दिन्थे र कक्षामा कहिले काहिँ मात्रै उपस्थित हुने गर्दथे । 

यसैबीच विद्यार्थीहरुलाई एकअर्काको लुक्सलाई रेट गर्ने एउटा फेसम्यास कार्यक्रम ‘हट अर नट’ आयोजना भएको थियो । त्यसका लागि संकलन भएको तस्वीरको डेटाबेसलाई प्राप्त गर्न उनले विश्वविद्यालयका धेरै प्रक्टेड हाउजिङ वेबसाइटहरु ह्याक गरेका थिए ।

जसले गर्दा हावर्ड प्रशासन बोर्डले उनीमाथि अनुसन्धान पनि गरेको थियो । उनलाई निलम्बन त गरिएन तर त्यसको नजिकसम्म पुगेका थिए । उनी निकट रहेका मानिसहरु भन्छन्, त्यो अवस्थामा पनि उनीमाथि कुनै प्रभाव परेको थिएन । 

एउटा विदाइ पार्टीमा १९ वर्षका जुकरबर्गले आफ्नी जीवन संगिनी प्रिसिएला चान भेटे । निलम्बन हुने सम्भावना रहेका जुकरबर्गले त्यस समय पार्टी ग्लास लगाएका थिए । जसबाट उनले वियन कन्जुम्सनको कोडिङ पनि बनाउन सक्दथे । 

उनका सहपाठी जोइ ग्रिन भन्छन्, ‘उनीसँग त्यो वास्तविक आत्मविश्वास थियो ।’ एकपटक जुकरबर्ग र चानसँग ग्रीन डिनरका लागि हिँडिरहेका थिए । जुकरबर्ग एकैपटक व्यस्त सडकमा कुदेर हुइकिए । त्यो समय चान आत्तिएकी थिइन् । तर ग्रिनले उनलाई चिन्ता नलिन भन्दै जुकरबर्गको आत्मविश्वासको शक्तिले उनलाई बचाउने बताएका थिए । 

जुकरबर्ग निलम्बनबाट बचे । त्यो अन्तिम पटक उनले आफ्नो क्रियाकलापको परिणामबाट बच्ने व्यवस्था मिलाए । त्यसपछि २००४ मा उनले फेसबुकको सहस्थापना गरे । उनका साथीहरु क्यामेरुन र टाइलर विंकलिभोस, जसले उनलाई सोसल नेटवर्क वेबसाइट स्थापना गर्न सहयोगका लागि साथमा लिए ।

अन्ततः उनीहरुमाथि मूद्दा लाग्यो । एक वर्षभर त्यो जुम्ल्याहा र उसका साझेदारहरुको कम महत्वका साथ निकै माथापच्ची भयो । जुकरबर्गले त्यो सफल आइडियालाई हत्याए । सम्भवतः उनीहरुले आफ्नो प्रडक्टलाई नजरन्दाज गरेकै हुन् । तर यो कुरामा दुईमत छैन कि जुकरबर्गले त्यो प्रोडक्टमा आफ्नो खुट्टा घुसारे । उनले आफ्नो प्रतिस्पर्धाको प्रडक्टमा दिमाग खियाएका थिए ।

आफ्नो डिजिटल पदमार्गको प्रमाण हुँदाहुँदै पनि जुकरबर्ग अहिले आफ्नो नियोजित छललाई अस्विकार गर्छन् । उनले मलाई भनेका छन्, ‘मलाई लाग्छ, म द्वन्द उपेक्षा गर्ने मान्छे हुँ ।’ फेसबुकले त्यो बेला उक्त केसलाई मिलाउन ६५ मिलियन डलर नगद र स्टकमा तिर्नुपरेको थियो । त्यो पैसा फेसबुकको मल्टी  बिलियन डलरको मूल्यांकनको तुलनामा एकदमै सानो रकम थियो । 

फेसबुक प्रगति गर्दै थियो । जुकरबर्गलाई फण्ड रेजिङ र व्यवसाय सञ्चालनको विषयमा धेरै थाहा नभए पनि उनको कम्पनी सजिलै सञ्चालन भइरहेको थियो । २००५ को अन्त्यसम्म जुकरबर्गले मिलियन डलरको फाइनान्सिङ संकलन गर्न सम्भव तुल्याए । सुरुवाती चरणका उनका मेन्टर सिन पार्करले पिटर थाइललाई फेसबुकको पहिलो ठूलो लगानीकर्ताको रुपमा खाजिदिए । उनले अनुभवी सल्लाहकारहरुको टिम पनि तयार गरे ।

‘सिन पार्कर हुन् वा पिटर थाइल, यी दुबै आफूले जुकरबर्गलाई म्यानुपुलेट गरिरहेको सोच्थे ।’ फेसबुकका सुरुवाती दिनका एक कर्मचारी भन्छन् यद्यपी उनीसँग कुनै प्रमाण भने छैन । ‘कामकुरा अघि बढ्दै जान थालेपछि मैले सोच्दा थाहा पाउँछु, जुकरबर्ग कति जिनियस रहेछन् । उनले सिन पार्करलाई आफ्नो लागि पैसा जम्मा गराउने कुरामा मनाउन सके । जकरबर्गले मार्कले सिनलाई त्यो फण्ड रेजका लागि राम्रो माध्यमको रुपमा बुझे ।’

यो वर्ष मैले उनलाई फेसबुकको कार्यालयदेखि केही दुरीमा रहेको उनको एक कोठे अपार्टमेन्टमा भेटेँ । उनीसँग सधैं एउटा नोटबुक हुन्छ । उनी आफ्नो अधिकांश समय भिडमा नै बिताउँछन् । भिड भएको फेसबुकको कार्यालयमा बिताउँछन् । जहाँ उनलाई टाउको झुकाएर, नबुझिने अक्षरमा केही लेखिरहेको देखिन्छ । त्यहाँ उनी आफ्न प्रडक्टको आईडियालाई स्केच गरिरहेका हुन्छन् , कोडिङ अप्रोचको डायग्राम बनाइरहेका हुन्छन्, यस्तै आफ्नो दर्शनमा हिसाब किताब गरिरहेका हुन्छन् । 

अब जुकरबर्ग कोडिङ गर्दैनन् । उनी अधिकांश समय ठूला तस्विरमा केन्द्रीत छन् । यो नोटबुकले उनलाई आफ्नो भिजनमा विस्तृतरुपमा काम गर्न दिन्छ । जब फेसबुकका इन्जिनियर र डिजाइनरहरु कार्यालयभित्र छिर्छन्, तब उनीहरुले आफ्नो कार्यशालामा त्यही नोटबुकको केही पृष्ठहरुको फोटोकपि पाउँछन् ।

ती पेजहरुमा अल्गोरिदम र्‍याङ्किगका लागि सिग्नलको सूची र फ्रन्ट एण्ड डिजाइनहरु रहेका छन् । यस्ता पेजले उनी र उनका कर्मचारीहरुबीच एउटा सम्पर्क शूत्रको रुपमा काम पनि गरिहेको छ । 

त्यस्ता नोटबुकहरु अहिले धेरै हराइसकेका छन् । जसलाई जुकरबर्ग आफैले ध्वस्त पारिसकेका छन् । उनका अनुसार गोपनीताका लागि उनले यसरी नष्ट पारेका हुन् ।

जुगरकबर्गका अनुसार यसअघि कानूनी प्रक्रियाका क्रममा उनका धेरै ईमेल र आईएमईहरु खुलाउनु परेको थियो । आफ्नो कुनै समयका गोप्य लेखहरु एक्सपोज भएकै कारण उनले हाल फेसबुकका प्रडक्टमा इन्क्रिप्सनको कुरालाई अघि बढाएका हुन् । 

तर मैले थाहा पाए अनुसार उनको त्यो पहिलेको नोटबुक सबै ध्वस्त भइसकेका छैनन् । उनले कपि गरेका र शेयर गरेका ती नोटले त्यो बेलाको उनको सोचाईमा छिर्ने द्वार बनाई दिएको छ । फेसबुकको उद्विकास सम्बन्धि उनको १७ पेजको जर्नल प्राप्त गरेको छु । यसलाई उनले ‘बुक अफ चेञ्ज’ नाम दिएका छन् । 

२००६ को मे २८ देखि उनले त्यो लेख्न सुरु गरेको पहिलो पृष्ठबाट थाहा हुन्छ । त्यहाँ उनको नाम र फोन नम्बर रहेको छ । उनले त्यसमा महात्मा गान्धीको भनाई पनि लेखेका छन् । सबै जसो पेजमा मिति खुलाइएको छ । 

बुक अफ चेञ्जमा दुईओटा प्रोजेक्ट बारे रुपरेखा कोरिएको छ । जसले फेसबुकलाई कलेज तथा हाईस्कूलको सोसल नेटवर्कदेखि विश्वव्यापी सञ्जालमा परिणत गराएको छ । मे २९ मा उनले ओपन रजिस्ट्रेसन भन्ने पेज सुरु गरेका छन् । त्यसबेलासम्म फेसबुक विद्यार्थीका लागि मात्र सिमित थियो ।

एउटा निर्धारित परिधिभित्र थियो । जहाँ साथीभाईले मात्र हाम्रो प्रोफाइल ब्राउज गर्न सक्दथे । तर जुकरबर्गको योजना भनेको फेसबुक सबैका लागि खुल्ला गर्नु थियो । त्यहाँ उनले कसरी प्रयोगकर्ताले अकाउन्ट बनाउन सक्छ भनेर चित्र कोरेका छन् । उनले त्यहाँ गोपनीयताको विषयमा विचार गरेका छन् । त्यहाँसम्म उनले साइटलाई खुलाएका छन् तर त्यो अझै राम्रो आईडिया बन्नसकिरहेको छैन । 

उनले फेसबुकलाई व्यापकरुपमा खुलाउन चाहेका छन् । तर नोटबुकका पृष्ठहरुमा उनी त्यसको परिणामहरुसँग संघर्ष गरिरहेको स्पष्ट देख्न सकिन्छ । ओपन रजिस्ट्रेसनको व्यवस्था ल्याइसकेपछि फेसबुक व्यापक जनसागरमा पुगेको थियो । जसले गोपनीतामाथि पनि केही व्यवधान खडा गरेको थियो । यसैकारण जुकरबर्गले अब के मानिसहरुले फेसबुकलाई सुरक्षित प्लेटफर्मको रुपमा लिन्छन् त भनेर प्रश्न गरेको पनि देखिन्छ ।  

फेसबुकको सीमा विस्तार हुँदैजाँदा र गोपनीयताको व्यवस्थापनबीचको तनावले जुकरबर्गको दिमागमा ठाउँ ओगटेको देखिन्छ । उनले आफ्नो तीन पृष्ठमा एउटा भिजन कोरेका छन् । जसलाई उनले ‘डार्क प्रोफाइल’ नाम दिएका छन् । यो त्यस्ता व्यक्तिहरुका लागि हो, जसले विभिन्न कारण वा रहर नभएरै फेसबुक साइन अप गर्दैनन् ।

बुक अफ चेञ्जमा उल्लेख भए अनुसार डार्क प्रोफाइलले त्यस्ता मानिसहरुलाई फेसबुकमा साइन अप गर्न प्रेरित गर्छ । तर फेसबुकमा अकाउन्ट बनाउन नचाहानेहरुको प्रोफाइल तयार गरिदिरहँदा यसले गोपनीयता सम्बन्धि प्रश्न उठाउने हो कि भन्ने कुरामा जुकरबर्ग सचेत देखिन्छन् । यस्तो खतराबाट बच्न उनले डार्क अकाउन्टलाई सर्च इन्जिनमा देखाउन नमिल्ने बनाउने बारे सोचेको पनि देखिन्छ । 

फेसबुकका एकजना पूर्व कर्मचारी क्याथरिन लोसले आफूले २००६ मा एउटा प्रोजेक्टमा काम गरेको बताइन् । ‘फेसबुक साइनअप नगरेको तर साथीहरुका कारण फेसबुकमा फोटो ट्याग भएका मानिसहरुको हिडन प्रोफाइल बनाउने’ यो एक किसिमको साथीबाट साथीमा हुने फेसबुकको मार्केटिङ थियो । यसअघि अर्का एकजना फेसबुककै पूर्व कर्मचारीले पनि यो कुरालाई पुष्ठि गरेका छन् ।

उनले फेसबुकले जुकरबर्गको आईडियालाई ब्रेनस्ट्रोमिङ गरेको पनि बताउँछन् । उक्त आईडियामा मानिसहरुले आफ्ना साथीहरुको डार्क प्रोफाइल तयार गर्नु तथा एडिट गर्नु थियो । जुन विकिपेडिया स्टाइलमा थियो । तर त्यो पछि कार्यान्वयनमा आएन । 

उक्त बुक अफ चेञ्जमा जुकरबर्गले फेसबुकको अर्को फिड फिचर उल्लेख गरेका छन् । २००६ मा फेसबुकमा तपाईंले कसैको कसैको पोस्ट तथा अपडेटहरु हेर्न उनीहरुको प्रोफाइलमा जानुपर्ने हुन्थ्यो । तर न्युज फीडले ती सबै अपडेट तथा पोस्टहरुलाई फेसबुकको फ्रन्ट पेजमा नै आउने बनायो । तर फीडमा के राख्ने भन्ने विषयमा पनि उनी घोत्लिएको बुक अफ चेञ्जमा देख्न सकिन्छ ।

उनले मूख्य प्राथमिकताको आफ्नो स्टोरीमा राखेका छन्, दोस्रोमा आफ्नो सामाजिक परिधी । यस अलावा तेस्रो र अन्तिम प्राथमिकता प्रयोगकर्तालाई रुची रहेका विषयका फिडहरु राखिएको हुन्थ्यो । व्यक्तिले आफ्नो सामाजिक तथा निजी जीवनका गतिविधि जस्तै विवाह, जन्म, सम्बन्ध, जस्ता व्यक्तिगत विवरणलाई पनि राख्ने व्यवस्थाबारे उनले सोचेका थिए । 

उक्त नोटबुक लेख्न सुरु गरेको केही दिनमा नै जुकरबर्गले प्राइभेसी तथा फेसबुकलाई कलेज तथा हाईस्कूल बाहिर बुढाबुढी तथा युवाहरुबीच कसरी पुर्‍याउने भनेर आईडियाको रुपरेखा तयार पारेको देखिन्छ । उनले प्रोफाइल पेजमा मिनी फीडको डिजाइनबारे पनि उल्लेख गरेका छन् । ‘यसले प्रयोगकर्ताको जीवनको लग बनाउने उद्देश्य लिएको थियो । तर हानिकारिक तरिकामा भने होइन ।’ उनले आफ्नो नोटबुकमा लेखेका छन् ।  

एक विन्दुमा आएर केही पृष्ठ पछि उनले उक्त नोटबुकमा इन्फर्मेसन इन्जिनको बारेमा उल्लेख गरेका छन् । जसमा उनले फेसबुकका लागि ग्राण्ड भिजन लिपिबद्ध गरेका छन् । फेसबुक प्रयोग गर्दा तपाईलाई कुनै भावी सरकारको इन्टरफेस प्रयोग गरेको जस्तो अनुभुति हुनुपर्छ । जसबाट तपाईले हरेक व्यक्तिको डेटाबेसको सबै इन्फर्मेसनमा एक्सेस पाउन सक्नुहुन्छ । प्रयोगकर्ताले सबै सूचना गहिराईसम्म गएर हेर्न पाउनुपर्छ ।

यसो भएमा प्रयोगकर्ताहरुलाई त्यस्तो पेजमा गएर भिजिट गर्न मन पर्छ । फेसबुकलाई यसरी भविष्यको लागि डिजाइन गर्नु जुकरबर्गको भिजन र उनको लागि फाइदाजनक कुरा थियो । तर त्यो समय फेसुबकले ठूलो पीडा सहनु पर्‍यो । त्यस बेलाको ठूलो इन्टरनेट शक्ति मानिने याहूले फेसबुलाई एक बिलियन डलरमा खरिद गर्न अफर गर्‍यो । त्यो ठूलो रकम थियो ।

एकजना बाहेक धेरै संस्थापकहरु याहूको अफरलाई स्विकार्ने पक्षमा थिए । तर जुकरबर्ग तयार थिएनन् । हार्वर्डबाट बाहिरिएसँगै जुकरबर्ग एकदमै अवसरवादी, महत्वकांक्षी र छलकपटी बनेका थिए । तर संस्थापकहरुको निर्णयले उनलाई दुविधामा पार्‍यो । उनी अझै आफ्नै २० को दशकमै थिए । जीवनबारे थोरै अनुभव र थोरै वित्तीय ज्ञान भएका उनले कम्पनी बेच्न चाहेनन् ।

उनलाई कसरी कम्पनीलाई अगाडी लाने भन्ने ज्ञान भने थिएन । उनका लगानीकर्ता र कर्मचारीहरुले सोचेका थिए कि यति ठूलो रकम अस्वीकार गर्ने जुकरबर्ग पागल भए । विद्यालय तथा हाईस्कुलमा फैलिसकेपछि फेसबुकको गति सुस्त भएको थियो । यसकारण पनि लगानीकर्ताहरु यसको बिक्रीलाई नै अन्तिम विकल्पको  रुपमा सोच्न थालिसकेका थिए ।

सबैबाट दबाब आएपछि उनले एक समय त्यस्तो अफरलाई स्वीकार पनि गरिसकेका थिए । तर पछि याहूका सीईओ टेरी सेमेलले एउटा ट्याक्टिकल गल्ती गरे । उनले आफ्नो कम्पनीको स्टक डाउनटर्न गइरहेको बताउँदै शर्तमा पुनः विचार गर्ने बताएपछि जुकरबर्गलाई उनीसँगको वार्ता अन्त्य गर्ने राम्रो बहाना मिलेको थियो ।

बुक अफ चेञ्जमा उनले दुई प्रडक्टले फेसबुकलाई थप मूल्यवान बनाएको उल्लेख गरेका छन् । जुकरबर्गले याहूको प्रस्ताव अस्वीकार गरेको केही महिनापछि बुक अफ चेञ्जमा उल्लेख गरिएका प्रडक्ट सार्वजनिक गरे । आठ महिनापछि सेप्टेम्बर २००६ मा उनले न्युज फिड सुरु गरे । त्यसको रोलआउट एकदमै व्यापक बन्यो । जसमा फ्ल्यास पोइन्ट प्राइभेसी थियो । 

न्युज फीडले सामाजिक समूहमा ठूलो असर पार्‍यो । सबैले सबैको सानो भन्दा सानो कुरा थाहा पाउन सकिने भएको थियो । किनभने फेसबुकले ती सबैकुरा देखाई दिन्थ्यो । यस्ता सबै कुरा देखाई दिन थालेपछि करिब एक लाखभन्दा धेरै मान्छेहरुले फेसबुक ग्रुपमा जोडिएर फेसबुकको मूख्यालय अगाडि त्यो फिचरबाट पछाडि हट्न भन्दै प्रदर्शन गरेका थिए । 

तर मानिसहरुले मूख्यालय अघि आएर विरोध प्रदर्शन गरे पछि कर्मचारीहरुले विश्लेषण गरेको तथ्यांकले अरु नै कुरा देखायो । जतिसुकै मानिसहरुले न्युज फीडमाथि असन्तुष्टि देखाए पनि उनीहरुको गतिविधि त्यसको विपरित थियो । न्युज फीडका कराण उनीहरु फेसबुकसँग रिसाए पनि उनीहरु त्यसैका लागि फेसबुकमा घण्टौं समय व्यतित गरिरहेका थिए । 

पछि फेसबुको न्युज फीड टिमले प्राइभेसीलाई मिलाएर त्यसमा काम गर्न थाले पछि मानिसहरु शान्त भए । यसरी नै फेबसकुले निरन्तर उचाई छुँदै गयो । जुकरबर्गले आफ्नो पहिलो सार्वजनिक संकटबाट पाठ लिएको देखिन्छ । उनले गम्भीर गोपनीयताको मुद्दा रहेको प्रडक्टलाई बाहिर ल्याए । जसलाई उनकै मानिसहरुले पत्ता लगाएका थिए । संकट उत्पन्न भए पनि तत्काल उठाइएको कदम र माफी मागेपछि अवस्था अनुकूल बन्यो । मानिसरुले पुनः प्रडक्टलाई मन पराए ।

जुकरबर्गलाई तब सजिलो थियो, जब उनी फेसबुकका अन्तिम निर्णयक भए । साम लेसिन, उनकै हार्वर्डका सहपाठी फेसबुकमा एक्जुकेटिभ भएर आए । उनी भन्छन् जुकरबर्गले सधैं सबैको विचारसँग विवादित हुने निर्णय लिने गरेका थिए । उनको विचार सधै वर्चश्वशाली हुन्थ्यो । तर पछि जुकरबर्गका निर्णयहरु सही हुने कुरा सबैले स्वीकार गर्न थाले । 

जुकरबर्गले नोटबुकमा उल्लेख गरे झैं उनी वृद्धि चाहन्थे । फेसबुक तब बढ्न सक्दथ्यो जब मानिसहरुले इन्फरमेसन धेरै शेयर गर्दथे र त्यो न्युज फीडबाट सम्भव भएको थियो । फेसबुकले यसका लागि प्राइभेसी कन्ट्रोल पनि दियो ।

तर सबै सफ्टवेयरमा डिफल्ट रुल सेटिङ हुन्छ । प्राइभेसी कन्ट्रोल प्रदान गर्नुको अर्थ प्राइभेसी नै प्रदान गर्नु भन्ने हुँदैन । यसकारण यसले सुरक्षित त देखायो तर त्यो वास्तवमा सुरक्षित हो वा हैन भनेर कसैलाई थाहा छैन ।

२००७ मा फेसबुले एउटा बिएकन फिचर ल्यायो, जसबाट मानिसहरुले वेबमा के खरिद गर्छन् भन्ने कुरा थाहा नदिई ट्रयाक गर्दथ्यो । त्यसपछि उनीहरुको निजी खरिदारीको समाचार पनि प्रचार गर्दथ्यो । जुकरबर्गको टिमले त्यो फिचरलाई अप्सनको रुपमा राख्न आग्रह गरे ।

तर उनले कसैको कुरा नसुनी आफ्नो कुरा लादे । त्यो समयका एकजना कार्यकारीले मलाई त्यो कुरा बताएका थिए । बिएकन फिचर पूर्वनिर्धारित एउटा फेलियर थियो । त्यसपछि उनले सेर्यल स्याण्डवर्गलाई प्रमुख अपरेटिङ अफिसरको रुपमा नियुक्त गरे ।

जुकरबर्ग फेसबुकले बनाउने सबै इन्जिनियरिङका भगवान थिए । जुकरबर्गले रुची नदेखाएको कुरामा स्याण्डवर्ग इन्चार्ज थिए । जस्तै सेल्स, पोलिसी, लिगल, कन्टेन्ट मोडरेसन जस्ता कुराका साथै सेक्युरिटीको कुरामा पनि । स्याण्डवर्ग भन्छन्, त्यो काम सजिलो थियो उनले सबै प्रोडक्ट हेर्थे र म आराम लिन्थे ।

तर जुकरबर्ग अझै अन्तिम निर्णयक थिए । २००९ मा फेसबुले नयाँ प्रयोगकर्ताका लागि आफ्नो डिफल्ट सेटिङलाई परिवर्तन गर्दै फ्रेन्ड्सदेखि एभ्रिवानमा लग्यो । अनि आफ्ना ३५० मिलियन प्रयोगकर्तालाई त्यस्तै गर्न लगायो । २०१० मा फेसबुकले इन्स्ट्यान्ट पर्सनलाइजेसन फिचर ल्यायो । यो एउटा प्राइभेसी बुस्टिङ फिचर थियो, जसले बाहिरका एप डेभलपरलाई पनि प्रयोगकर्ताको व्यक्तिगत विवरण दिने गर्दथ्यो । 

तर फेरी जुकरबर्गले आन्तरिक विरोधको बावजूद पनि वृद्धि र प्रतिस्पर्धी फाइदालाई जोड दिदैँ सचेतना र गोपनीयताको विषयलाई लत्याइरहे । परिणामस्वरुप क्षमा याचनाको श्रृंखला चलिरह्यो । फेडरल ट्रेड कमिसनले उनलाई पाँच बिलियन डलरको जरिवाना गरायो । 

२०१६ को अन्त्यतिर म जुकरबर्गसँग नाइजेरिया गएको थिएँ । उनले लागोसमा प्रविधि स्टार्टअपमा प्रिजेन्टेसन दिएका थिए । त्यसबेला त्यहाँका राष्ट्रपति मुहम्मद बुहारी पनि जुकरबर्गले शहर भ्रमण गरेकोमा प्रशन्न थिए । उनी त्यो बेला कति चाँडो राष्ट्रिय हिरो बनेका थिए । 

त्यसको केही समयपछि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बने । अनि फेसबुकले गरेको धेरै अपराधहरु बाहिर आए । यो रसियाली मिसइन्फरमेसन अभियानको भाँडो भएको थाहा भयो । यसले प्रयोगकर्तासँगको गोपनीयताको बाचा तोडेको थियो । यो म्यानमारमा गलत सूचना फैलाउन प्रयोग भएको थियो, जसको परिणामस्वरुप त्यहाँ रेड भएर दुईजना मानिसहरु मारिएका थिए । यसले स्वतन्त्र पत्रकारितालाई साथ दिएर व्यवसायिक मोडललाई नै ध्वस्त बनाएको थियो । 

आलोचनाप्रति सुरुवाती दिनमा जुरकबर्ग निकै रक्षात्मक देखिए । तर जब मिसइन्फरमेसन बारेको आरोपलाई उनले खण्डन गर्न सकेनन् र कंग्रेसले उनलाई स्पष्टिकरणका लागि बारम्बार बोलाइरह्यो, तब उनले क्षमा मागे र अगाडि बढे । 

द वायर्डबाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team