कोरोना महामारीमा नेपालको इन्टरनेट

Bikram Shrestha article

काठमाडौं । नेपालमा इन्टरनेट ब्याण्डविथ २०५७ सालभन्दा अगाडि भिस्याटबाट मात्र सम्भव थियो । त्यसबेला इन्टरनेट निकै महङ्गो थियो ।

यद्यपि इन्टरनेट प्रवाहमा तेस्रो मुलुकको नीति खुकुलो हुँदा यो बिना अवरोध खुला थियो । त्यसबेला नेटवर्क सेवाप्रदायक कम्पनीहरु पनि एकदमै सीमित संख्यामा थिए ।

सिङ्गटेल, हवाई टेलिपोर्ट, लोरल, पीसीसीडब्लू, थिकम र माबुहे आदि । तर  २०६४ सालमा नेपालमा भारतबाट १०० एमबीपीएस क्षमताको क्रस बोर्डर फाइबर ल्याइयो । 

हाल क्रस बोर्डर फाइबर इन्टरनेटअन्तर्गत नेपालमा कुल ८०० जीबीपीएसभन्दा माथिको अन्तर्राष्ट्रिय ब्याण्डविथ आइरहेको छ । नेपाल ब्याण्डविथ आपूर्तिका लागि दुई छिमेकी मुलुकहरुमा निर्भर छ ।

जसमा भारतसँग पाँचवटा प्रमुख ट्रान्जिट छन् । तीमध्ये तीन वटामा इन्टरनेट ट्रान्सबोर्डरको अनुमति पनि छ ।

यस्तै चीनसँग रसुवा र तातोपानी गरी दुईवटा अन्तर्राष्ट्रिय ट्रान्जिटहरु छन् । तर चीनका यी दुवै ट्रान्जिटहरुबाट न्यून क्षमताको ब्याण्डविथ आउँछ ।

वर्षायामको समयमा बाढी र पहिरोका कारण लगातार अवरोध उत्पन्न भइरहन्छ । कोभिड १९ महामारीको समयमा स्वास्थ्य, बैंक वित्तीय शिक्षा तथा ईकमर्स सम्पूर्ण क्षेत्रले एकदमै जटिल चुनौतीको सामना गर्नु पर्‍यो ।

सिङ्गो मानव जगतकै लागि यो अहिलेसम्मकै ठूलो चुनौंती थियो । त्यसले विश्वभरका १९४ मुलुकलाई नै यसले प्रभावित पार्‍यो ।

अझ लकडाउन घोषणा भएपछि त यसले झन् मुलुकको सामाजिक आर्थिक क्षेत्रमा गम्भीर असर पुर्‍यायो । तर प्रविधि र इन्टरनेटले धरासायी बनिसकेको हाम्रो सामाजिक आर्थिक क्षेत्रलाई टेकोको रुपमा सहारा दियो ।

धेरै क्षेत्रमाथि अवरोध उत्पन्न भयो । लकडाउन अवधिभर विभिन्न संस्थाहरु वर्क फ्रम होममा स्थानान्तरण भए ।

भर्चुअल मिटिङ र भिडिओ कलहरुबाट सार्वजनिक सञ्चार भए । त्यस किसिमको विषम परिस्थितिमा आर्थिक तथा सामाजिक जीवनको निरन्तरताका लागि इन्टरनेट लाइफलाइन बन्यो ।

जुन महामारीपछिको समयमा पनि रहनेछ । वास्तवमा एउटा अर्थपूर्ण कनेक्टिभिटीका लागि इन्टरनेट सुलभ र विश्वासिलो माध्यम बनेको छ ।

सबै यसबाट लाभान्वित छन् । तर गरिबीको रेखा मूनी रहेका विश्वभरका करिब १३ प्रतिशत मानिसहरुका लागि भने इन्टरनेट अझैं पनि सुलभ बन्न सकेको छैन ।

उनीहरुका लागि इन्टरनेटमा जोडिने उपकरण त झन् धेरै महंगा छन् । नेपाल सरकारको तथ्याङ्कअनुसार हाल नेपालमा १८.७ प्रतिशत नागरिकहरु गरिबको रेखाभन्दा मूनी छन् । 

अहिले कोभिड १९ सँग जुधिरहेका विश्वभरका मानिसहरुका लागि नेटवर्क अपरेटर तथा डिजिट सेवाहरु एकदमै महत्वपूर्ण छन् । रिमोट वर्किङ र अनलाइन स्वास्थ्य शिक्षाको सुविधाले यो अनिश्चितकालीन विषम परिस्थितिमा धेरै हदसम्म राहत प्रदान गरेको छ । 

टेलिहेल्थ सोलुसनले समग्र हेल्थकेयर सिस्टमलाई नै अनलाइन बनाएर बिरामीको जीवन जोगाउन मद्दत गरेको छ । भिडिओ कन्फ्रेन्सिङ र सोसल नेटवर्कले हामीलाई आफ्ना आफन्त तथा साथीभाइहरुसँग जोडिन मद्दत गरेको छ ।

घरभित्र कैदी जस्तैगरी समय बिताइरहँदा अनलाइन मिडियाका समाचार अनलाइन मुभिज र अनलाइन गेमिङले हामीलाई मनोरञ्जन प्रदान गरेका छन् । वास्तवमा भन्ने हो भने महामारीको समयमा इन्टरनेटले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।

यसले स्वस्थ्य क्षेत्र, ईकमर्स र ई-गभर्नेन्सको क्षेत्रमा पनि उल्लेखनीय विकास ल्यायो । त्यसैले आजको समयमा महामारीको असरलाई न्यूनिकरण गर्ने महत्वपूर्ण भूमिकामा नेटवर्क अपरेटरहरु देखा परेका छन् ।

तर नेटवर्क अपरेटरहरुको काममा पनि साइबर सुरक्षा, पूर्वाधारको ठूलो खर्च, भूराजनीति, भौगोलिक तथा स्थानीय कन्टेन्टले विभिन्न किसिमका चुनौतीहरु खडा गरेका छन् । महामारीको समयमा इन्टरनेट ब्याण्डविथको उपभोग अत्यधिक बढ्यो ।

जसले विश्वभर इन्टरनेट सेवाको माग उल्लेखनीयरुपमा वृद्धि हुन पुग्यो । ब्याण्डविथ उपभोग रातको समयमा पनि उच्च किसिमले बढ्न थाल्यो ।

कोभिड १९ महामारीबीच विभिन्न सेवामा खर्च भएको नेपालको अन्तर्राष्ट्रिय ब्याण्डविथ

लकडाउनको समयमा अर्थतन्त्रलाई चलायमान राख्न विभिन्न पाँच तरिकाबाट अपरेटरहरु ‘मिसन कृटिकल’ रहे । 

१. बिजनेस कृटिकल कनेक्टिभिटी र प्रतिरोधात्मक क्षमताको सेवा

२. वर्क फ्रम होमका लागि सुविधा प्रदान

३. नेटवर्क कनेक्टिभिटीमाथि नियमित निरीक्षण र साइबर सुरक्षाको व्यवस्थापन 

४. आवश्यकता अनुसार इन्टरनेट ब्याण्डविथ सन्तुलित रुपमा वितरण गर्नु

५. समाज र व्यक्तिहरुलाई सुसूचित राख्ने । अनिवार्य सामाजिक दूरीको समयमा स्वास्थ्य, वित्तीय तथा डिजिटल बैंकिङ तथा कमर्सको सुविधा । 

विश्व कोभिड १९ महामारीबाट जकडिएको अवस्थामा उद्यमीहरु यो संकटबाट कसरी पार पाउने भन्ने कुराको खोजी गरिरहेका छन् । नेटवर्क अपरेटरका लागि आफ्नो समुदायलाई सेवा दिने, पूर्वाधार बढाएर विश्वास र गूडविल बनाउने यो राम्रो अवसर हो । 

सन् २०२० मा ‘सामाजिक दूरी’ एउटा दुर्भाग्यपूर्ण मन्त्र बन्यो । भर्चुअल माध्यमबाट सामाजिक रुपमा कनेक्टेड रहन हाम्रो सुरक्षा, स्वास्थ्य र विश्वजनहीतका लागि अनिवार्य थियो ।

सामाजिक दूरी तय गर्नुपर्ने अवस्थामा सोसल कनेक्टिभिटीलाई चलायमान राख्न तिनै नेटवर्क सेवाप्रदायकहरुले कृटिकल पूर्वाधारको निर्माण गरे । यो संकट कहिले अन्त्य हुन्छ भन्ने कुरा अझै निश्चित छैन ।

हामी सामान्य जीवनमा कहिले फर्कने र कोभिड १९ लाई कहिले जित्ने अनिश्चित छ । जबसम्म यो अवस्था प्रतिकूल नै रहिरहन्छ, तबसम्म यीनै अपरेटरहरुले हामीलाई महत्वपूर्ण सेवा प्रदान गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team