close

सावधान ! सित्तैमा आईफोन पाउने लोभमा फिशिङको शिकार हुनुहोला

टेकपाना टेकपाना

चैत १५, २०७७ १७:३३

सावधान ! सित्तैमा आईफोन पाउने लोभमा फिशिङको शिकार हुनुहोला

काठमाडौं । यदि तपाईंले फेसबुक वालमा सित्तैमा आईफोन उपहार जित्ने अफरसहितको पोस्ट देख्नुभएको छ भने हत्तपत्त लिंक नखोल्नुहोस् । यसबाट तपाईंको गोप्य विवरण चोरी हुन सक्छ ।

माथिको पोस्टमा नेपाल टेलिकम नामको पेजबाट सित्तैमा आईफोन १२ प्रो म्याक्स जित्न सकिने भन्दै सदस्यता लिन लिंक उपलब्ध गराइएको छ । कसैले यो सत्य लागेर लिंक खोल्न पुग्छन्, र फिशिङ हमलाको शिकार बन्न पुग्छन् ।

पछिल्ला केही महिनादेखि निरन्तर दूरसञ्चार सेवाप्रदायकहरुको प्रोफाइल पिक्चर र नाम प्रयोग गरेर फिशिङ हमला भइरहेको छ ।

नेपाललगायत विभिन्न मुलुकमा सञ्चालन भएको यस्तो फेसबुक फिशिङ स्क्याममा लाखौं फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियल चोरी भइरहेकाे छ । नेपालमा पनि नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल र नियामक दूरसञ्चार प्राधिकरणकै नाम र लोगो दुरुपयोग गरी प्रयोगकर्तालाई झुक्याउन स्क्यामिङ भइरहेको छ ।

phishing in facebook in nepal

यो फिशिङ क्याम्पियनबाट नेपाल, इजिप्ट, फिलिपिन्स, ट्युनिशिया, पाकिस्तान र अन्य मुलुकका प्रयोगकर्ताहरुको फेसबुक लगइन क्रेडेन्सियलहरु चोरी भइरहेको साइबर सुरक्षामा अनुसन्धान गर्दै आएको नेपाली कम्पनी थ्रेटनिक्स बताउँछ ।

यो क्याम्पियन अन्तर्गत ह्याकरहरुले विभिन्न मुलुकको स्थानीय फेसबुक पोस्ट तथा पेजहरुको नक्कल गरी तिनै मुलुकसँग मिल्ने किसिमका विज्ञापन तथा अफरहरुको लोभमा पारेर मानिसहरुलाई फिशिङको शिकार बनाइरहेका छन् ।

होस्टेड फिशिङ साइटमा प्रयोगकर्ताहरुका लागि लगइन प्यानल राखिने गरेकाे पाइएकाे छ । जहाँ लगइन गरिसकेपछि प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियल ह्याकरको हातमा पुग्छ ।

त्यसो त फेसबुकले यसअघि नै त्यस्ता किसिमका फिशिङ पेज निर्मुल गर्न एडका लागि अप्रुभ गर्न बन्द गरेको छ । तर स्क्यामरहरुले बिट्ली लिङ्क प्रयोग गर्ने गर्छन्, जुन सुरुमा हेर्दा एउटा इमान्दार पेज जस्तो देखिन्छ । तर अप्रुभ भइसकेपछि ती सबै फिशिङ डोमेनमा परिवर्तन हुन्छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा प्रतिष्ठित कम्पनीको जस्तै देखिने पेज बनाएर फिशिङ गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ ।

यसकारण तपाईंले पनि कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेज पहिचान गरेर मात्रै आवश्यक जानकारी लिनु राम्राे हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१