close

एप्पल डेभलपर कन्फ्रेन्सको मिति तय, के होला नयाँ ?

टेकपाना टेकपाना

चैत १७, २०७७ २०:३८

एप्पल डेभलपर कन्फ्रेन्सको मिति तय, के होला नयाँ ?

काठमाडौं । एप्पलले आफ्नो वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) को मिति सार्वजनिक गरेको छ । कम्पनीले आगामी जुन ७ देखि ११ सम्म अनलाइनमार्फत कार्यक्रम आयोजना गर्ने भएको हो ।

विस्तृत विवरण आउन बाँकी रहेको भए पनि ल्यापटपको प्रतिबिम्ब देखिने मेमोजीमा आधारित ग्लास आउनसक्ने संकेत प्राप्त भएको छ । अथवा लामो समयदेखि चर्चामा रहेको भीआर हेडसेट तथा एआर ग्लासको घोषणा समेत एप्पलले गर्न सक्छ ।

‘हामी डब्लूडब्लूसी२१ लाई अहिलेसम्मकै बृहत् र उत्कृष्ट बनाउनका लागि काम गरिरहेका छौं,’ एप्पलको अन्तर्राष्ट्रय डेभलपर सम्बन्धका उपाध्यक्ष सुसन प्रेसकटले विज्ञप्तिमा भनेका छन्, ‘एप्पल डेभलपरलाई सहयोग पुर्‍याउने नयाँ टुलहरु उपलब्ध गराउन हामी निकै उत्साहित छौं, जसले हाम्रो जीवनशैली, काम र खेलकुदको तरिकालाई परिवर्तन गर्न उनीहरुलाई सघाउनेछ ।’

डब्लूडब्लूडीसीमार्फत एप्पलले आगामी आईओएस, आईप्याड, म्याक ओएस, टिभी ओएस र वाच ओएसमा परिवर्तनको विषयमा जानकारी दिने गर्दछ । गत वर्षको कन्फ्रेन्स मार्फत कम्पनीले म्याक कम्प्युटरमा एप्पल सिलिकन प्रोसेसर प्रयोग गर्ने घोषणा गरेको थियो ।

यद्यपी उक्त घोषणा अझै पनि कार्यान्वयनकै अवस्थामा छ । डेभलपर कन्फ्रेन्समा नयाँ हार्डवेयरलाई कमै मात्रामा केन्द्रीत गरिन्छ । तर त्यसले राम्रै चर्चा बटुल्ने गर्दछ ।

एप्पलले सन् २०१९ को डब्लूडब्लूडीसीलाई नयाँ म्याक प्रो सार्वनजकि गर्ने थलोको रुपमा उपयोग गरेको थियो भने २०१७ को कन्फ्रेन्समार्फत होमपोड स्मार्ट स्पिकर, आईम्याक डेक्सटप अपडेट र १०.५ इञ्चको आईप्याड प्रोको घोषणा गरेको थियो ।

कोभिड १९ को असर विश्वव्यापीरुपमा अझै कायम रहेको कारणले एप्पलले यस पटकको इभेन्ट पूर्ण रुपमा अनलाइनमा सीमित गर्न लागेको हो । एप्पल मात्र नभएर यस वर्ष आयोजना हुने फेसबुकको एफ ८ डेभलपर कन्फ्रेन्स पनि भर्चुअल रुपमा नै हुनेछ ।

तर बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेस भने सीमित भौतिक उपस्थितिमा आयोजना गर्ने तयारी भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३