close

तपाईंको जीमेल कहाँकहाँ छ लगईन ? थाहा पाउन र लगआउट गर्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत १७, २०७७ २१:२८

तपाईंको जीमेल कहाँकहाँ छ लगईन ? थाहा पाउन र लगआउट गर्न यसो गर्नुहोस्

काठमाडौं । अहिलेको समयमा लगभग सबैजसोले जीमेल प्रयोग गरिरहेका हुन्छन् । चाहे कुनै कार्यालय प्रयोजनका लागि होस् वा स्कुल कलेजको प्रोजेक्टका लागि नै किन नहोस्, जीमेलले महत्वपूर्ण भूमिका निभाइहरेको हुन्छ ।

हामीलाई जीमेल जहाँसुकै जहिले पनि प्रयोग गर्नुपर्ने हुनसक्छ । यस्तोमा तपाईंले आफ्नो डिभाइसमा मात्र नभएर अन्यत्र पनि आफ्नो जीमेल लगईन गर्ने सम्भावना रहन्छ ।

तर कतिपय समय यस्तो पनि भइदिन्छ कि हामी आफ्नो जीमेल अकाउन्ट लगआउट गर्न बिर्सिन्छौं । घर पुगेपछि मात्र त्यसको याद आउँछ । जीमेल लगआउट गर्नकै लागि फर्केर जाने कुरा पनि सहज हुँदैन ।

अब के गर्ने ? केही गरी अरुले आफ्नो जीमेल चेक गर्‍यो भने ? कहिलेकाहिँ तपाईंलाई पनि यस्तै भएको हुनसक्छ ।

तर अब भने चिन्ता नलिनुहोस् । तपाईं जहाँ हुनुहुन्छ, त्यहिँबाट अर्को ठाउँको डिभाइसमा लगईन भएको आफ्नो जीमेल सहजै लगआउट गर्न सक्नुहुन्छ । आज हामी तपाईंलाई त्यस विषयमा बताउँदै छौं ।

लगआउट कसरी गर्ने ?

यदि कहिँ कतै आफ्नो जीमेल अकाउन्ट खुल्लै छोडेर आउनु भएको छ भने तपाईं आफ्नो मोबाइलको सहायताले त्यस्तो डिभाइसबाट लगआउट गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले अन्यत्र जानु पर्दैन ।

तर मोबाइलमा रहेको जीमेल एपबाट भने यो सम्भव छैन । त्यसैले मोबाइलमा क्रोम ब्राउजरमा जानुहोस् र आफ्नो जीमेल लगईन गर्नुहोस् ।

जीमेल लगईन गरिसकेपछि माथि बायाँ कुनामा रहेको तीन वटा तेर्छो धर्सामा थिच्नुहोस् र तलतर्फ जानुहोस् । अन्तिममा तपाईंले भ्यू जीमेल इन मोबाइल/ओल्डर भर्सन/डेक्सटप लेखिएको पाउनुहुनेछ ।

अब त्यसमध्ये डेक्सटपमा थिच्नुहोस् र एचटीएमएल अप्सनमा जानुहोस् । त्यसपछि तपाईंले डेक्सटपमा जस्तै गरी जीमेलको इन्टरफेस आफ्नो मोबाइलमै देख्न सक्नुहुनेछ ।

अब फेरी तलतर्फ अन्तिममा जानुहोस् । जहाँ तपाईंले प्रयोग गरिरहेको जीमेलको जानकारी दिइएको हुन्छ । त्यसमध्ये डिटेल्समा थिच्नुहोस् ।

यति गरिसकेपछि तपाईंले जीमेलका सबै गतिविधि देख्न सक्नुहुन्छ । अब त्यसमा तपाईंले आफ्नो अकाउन्ट कुन ब्राउजरमा, कुन आईपी एड्रेसमा, कतिसमयसम्म एक्टिभ रहेको थियो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।

यदि अहिलेको समयमा तपाईंको जीमेल कुन कुन डिभाइसमा चलिरहेको छ भन्ने कुरा जान्न चाहनुहुन्छ भने केही माथि रहेको सेक्युरिटी चेकअपमा ट्याप गर्नुहोस् ।

अब योर डिभाइसेसमा जानुहोस् । यति गरेसँगै तपाईंले आफ्नो जीमेल अकाउन्ट जहाँ जहाँ लगईन छ, हेर्न सक्नुहुन्छ । डिभाइसको अगाडि दिइएको तीन थोप्लामा दबाएर तपाईंले सम्बन्धित डिभाइसबाट आफ्नो जीमेल अकाउन्ट साइनआउट गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३