close

आईटी ल्याब भएका विद्यालयलाई ३ दिने तालिम दिँदै प्राधिकरण

टेकपाना टेकपाना

चैत १८, २०७७ १२:२

आईटी ल्याब भएका विद्यालयलाई ३ दिने तालिम दिँदै प्राधिकरण

काठमाडौं । शिक्षण विधिलाई गुणस्तरीय एवम् प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणले सामुदायिक विद्यालयमा आईटी ल्याब स्थापना गरिरहेको छ । कुल ९ सय ३० सामुदायिक विद्यालयमा आईटी ल्याब स्थापना गर्ने उद्देश्यका साथ दुई वर्षअघि बढाइएको उक्त परियोजना हाल अन्तिम चरणमा रहेको छ ।

प्राधिकरणका सह–प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार हालसम्म ९ सय २० विद्यालयमा आईटी ल्याब स्थापनको काम सम्पन्न भएको छ । भने, बाँकी १० विद्यालयमा पनि आईटी ल्याबका लागि आवश्यक सम्पूर्ण पूर्वाधार पुगिसकेको छ ।

यसरी देशका सम्पूर्ण सामुदायिक विद्यालयमा आईटी ल्याब स्थापनाको काम करिब-करिब सम्पन्न भइसकेकाले प्राधिकरणले विद्यालयलाई तालिम दिने तयारी गरेको हो ।

प्राधिकरणले बुधबार सूचना जारी गर्दै आईटी ल्याब स्थापना भएका विद्यालयलाई तालिममा सहभागी हुन आग्रह गरेको छ ।

‘प्राधिकरण र विद्यालयबीच भएको सम्झौताअनुसार आईटी ल्याबमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई तीन दिने तालिम प्रदान गरिने भनिएको छ,’ प्राधिरणले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसैले उक्त ल्याब सञ्चालन गर्ने दुई जना कर्मचारी अथवा शिक्षकलाई तालिमका लागि पठाई दिनुहुन अनुरोध छ ।’

उक्त तालिममा सहभागी हुने आउने शिक्षक तथा कर्मचारीको तालिमभरको खाना तथा बस्नको सम्पूर्ण खर्च प्राधिकरण आफैले बेहोर्ने सूचनामा उल्लेख गरिएको छ ।

यसअघि २०७६ भदौ २५ गते प्राधिकरणले आईटी ल्याब स्थापना, सामानको आपूर्ति र सञ्चालनका लागि करीब तीन अर्ब ५० करोड रुपैयाँमा ओम्नी बिजनेस, म्याक्स इन्टरनेसनल र नेपा हिमा ट्रेडलिङ्कको संयुक्त्त उपक्रमसँग ठेक्का सम्झौता गरेको थियो ।

उक्त ठेक्कामै विद्यालयका प्रतिनिधिलाई तालिम दिनुपर्ने विषयसमेत समावेश भएकाले अहिले उक्त कम्पनीले नै विद्यालयलाई तालिम दिने तयारी गरेको मिश्रले बताएका छन् ।

उनका अनुसार तालिम विद्यालयअनुसार विभिन्न चरणमा मिलाइएको छ । त्यो हुँदा तालिमको अन्तिमसम्म बाँकी रहेका विद्यालयमा आईटी ल्याब स्थापनाको काम पनि सकिने र ती विद्यालयहरुलाई पनि तालिम प्रदान गरिने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३