close

भुक्तानी सेवा प्रदायक र बैंकमा अब कम्तीमा १८ घण्टा गुनासाे सुनुवाई डेस्क

टेकपाना टेकपाना

चैत १८, २०७७ १६:३२

भुक्तानी सेवा प्रदायक र बैंकमा अब कम्तीमा १८ घण्टा गुनासाे सुनुवाई डेस्क

काठमाडौं । अब भुक्तानी सेवा प्रदायक र बैंकले कम्तीमा १८ घण्टा गुनासाे सुनुवाई डेस्क सञ्चालन गर्नुपर्ने भएकाे छ ।

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई पर्न जाने कठिनाईका सम्बन्धमा गुनासो सुनुवाई गर्न बिहान ६ देखि बेलुका १२ बजेसम्म गुनासो सुनुवाई डेस्क सञ्चालन गर्न नियामक राष्ट्र बैंकले निर्देशन दिएकाे छ । 

सेवाग्राहीहरुको गुनासो सुनुवाईका लागि संस्थाले हटलाइनका साथै आफ्नो वेबसाइटमा अनलाइन पोर्टल राख्न र टोल फ्री नम्बर समेत उपलब्ध गराउनु पर्नेछ । 

साथै कारोबारको सिलसिलामा सेवाग्राहीको व्यक्तिगत विवरण लिँदा सोको प्रयोजनबारे संस्थाले अनिवार्य जानकारी गराउनुपर्ने भएकाे छ । ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्था अन्तर्गत त्यस्तो निर्देशन जारी भएकाे राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएकाे छ ।

साथै राष्ट्र बैंकले विद्युतीय भुक्तानी साक्षरतामा सहयोग पुर्‍याउन संस्थाहलाई आफ्नो वेबसाइटमा राखिने सामग्रीहरु यथासम्भव सरल नेपाली भाषामा राख्न निर्देशन दिएको छ ।

यसबाहेक संस्थाको लापरवाही वा असावधानीले गर्दा सेवागाह्रीलाई कुनै क्षति हुन गएमा उचित क्षतिपूर्ति समेत संस्थाले नै दिनुपर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।

मर्मत सम्भार, स्तरवृद्धि वा अन्य विशेष कारणवश सेवा अस्थायीरुपमा बन्द गर्नुपर्ने भएमा सम्बन्धित सेवाप्रदायकले पाँच दिनअगाडि नै राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्नेछ । सेवा अवरोध हुँदा त्यसको जानकारी वा अनिवार्य सूचना प्रकाशन समेत गर्नुपर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३