close

टेलिकमको ‘नमस्ते पे’ वालेट जेठदेखि

टेकपाना टेकपाना

चैत १९, २०७७ ८:५६

टेलिकमको ‘नमस्ते पे’ वालेट जेठदेखि

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैङ्कसँग् सहकार्य गरी ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ ।

मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार गर्नसक्ने उक्त सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी)का प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

बुधबार आयोजित भर्चुअल कार्यक्रममा उनले अहिले मोबाइल मनी सञ्चालनका लागि प्राविधिक रूपमा काम भइरहेको बताए ।

कार्यक्रममा उनले डिजिटल भन्नासाथ निःशुल्क हुनुपर्छ भन्ने आमधारणामा परिवर्तन आवश्यक रहेको पनि बताउनुभयो । डिजिटलाइजेसनका लागि ठूलो पुँजी लगानी गर्नुपर्ने भएकाले त्यसलाई भरपर्दो र दिगो बनाउन पनि पूर्णरूपमा निःशुल्क गर्नु सम्भव नहुने उनको भनाइ छ ।

त्यस्तै डिजिटल फाइनान्सलाई द्रुत गतिमा अगाडि बढाउन उपकरण आयातमा छुट र सुविधा उपलब्ध गराउने पर्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ)का अध्यक्ष विक्रम श्रेष्ठले डिजिटल वित्तीय पहुँच विस्तारका लागि गुणस्तरीय इन्टरनेट पहिलो सर्त हुने बताए । पूर्वाधारका लागि नीतिगत सहयोग पनि महत्वपूर्ण हुने उनको भनाइ थियो ।

“नेपाल राष्ट्र बैङ्कको नीतिकै कारण सुरु भएको छोटो समयमै क्यूआर कोड प्रयोगकर्ता दुई लाखभन्दा बढी पुगिसकेका छन्,” उनले भने । सम्पूर्ण कारोबारलाई पूर्ण रूपमा नगदरहित बनाउन सम्भव नभए पनि नगदको प्रयोगलाई कम गर्न भने सम्भव भएको उनले बताए ।

कार्यक्रममा उनले नेपाली भाषामा एपहरू नहुँदा समस्या रहेकाले स्वदेशी कन्टेन्ट निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्रका मानव अधिकारकर्मी शुभेच्छा खड्काले कोभिडलगायत पछिल्ला परिवेशले वित्तीय डिजिटलाइजेसनलाई बढावा दिइरहे पनि सेवा प्रदायकले दिएको सेवाको गुणस्तर र सर्वसुलभतालाई पनि ध्यान दिनुपर्ने, यससँग सम्बन्धित नीति बनाउँदा सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायलाई समेट्नुपर्ने भनाइ राखिन् ।

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३