close

अब गुगल म्यापले इन्धन खपत कम गर्न सघाउने

टेकपाना टेकपाना

चैत १९, २०७७ २०:१

अब गुगल म्यापले इन्धन खपत कम गर्न सघाउने

काठमाडौं । प्रयोगकर्ताले आफ्नो गन्तव्य तय गर्दा राउट देखाउने समयमा गुगल म्यापले सडकको अवस्था र ट्राफिक जामसँगै सम्बन्धित अन्य पक्षहरु समेत हेर्नेछ । त्यसो त शाब्दिक रुपमा तपाईंले यो फिचर गुगल म्यापमा यसअघि देखि नै देख्दै आउनु भएको होला ।

तर नयाँ मोडेलको कुरा गर्ने हो भने गुगल म्यापले कुन मार्गबाट जाँदा वातावरणीय असर कम वा बढी हुन्छ भन्ने कुरा समेत तय गर्नेछ । गुगलका अनुसार यसरी उपलब्ध गराइएको मार्गले कम इन्धन खपतमा समेत सघाउनेछ ।

यतिमात्र होइन, अब गुगल म्याप्सले हरेक सवारीचालकका लागि सबैभन्दा कम इन्धन खपत हुने मार्गलाई स्वतः डिफल्ट राउटको रुपमा देखाउनेछ । यसरी डिफल्ट रुटको रुपमा देखिने मार्ग भएर जाँदा सबैभन्दा छिटो पुगिन्छ भन्ने चाहिँ होइन ।

गुगलले भनेअनुसार फेला परेका रुटहरुलाई गुगल म्यापले सावधानीपूर्वक हेर्नेछ र तुरुन्तै तुलना गर्नेछ । गन्तव्यमा पुग्न छिटो हुने र इन्धन खपत कम हुने रुट लगभग समान भएको अवस्थामा मात्र गुगल म्यापले डिफल्ट रुटको रुपमा देखाउनेछ ।

‘कम कार्बन उत्सर्जन हुने रुट र अनुमानित रुपमा छिटो पुगिने रुट समान भएको अवस्थामा गुगल म्यापले डिफल्ट रुटको रुपमा देखाउनेछ,’ गुगलले यसलाई व्याख्या गर्दै भनेको छ, ‘सम्भावित रुपमा छिटो पुगिने रुटभन्दा वातावरणीय असर कम हुने रुटबीच धेरै अन्तर देखिएको अवस्थामा हामीले तपाईंलाई ती दुई रुटबीचमा कार्बन उत्सर्जनमा कति फरक पर्छ भन्ने कुरा तुलना गरेर देखाउने छौं ।

जसआधारमा तपाईंले कुनै एउटा रोज्न सक्नुहुनेछ ।’ यसको अर्को एउटा राम्रो पक्ष के छ भने गुगल म्यापले तपाईंलाई कुनै निश्चित रुट भएर जान दबाब भने दिने छैन । तपाईंलाई वातावरणीयमैत्री रुटभन्दा अर्को रुट जानुपर्ने छ भने सहजै विकल्प छनौट गर्न पाउनुहुनेछ ।

ईको फ्रेन्ड्ली रुट नाम दिइएको यो फिचर यस वर्षको अन्त्यपछि एन्ड्रोइड र आईफोनका लागि अमेरिकामा सार्वजनिक हुनेछ । यसलाई अन्तर्राष्ट्रिय रुपमा समेत सार्वजनिक गर्ने गरी आवश्यक काम सुरु भइसकेको गुगलले जनाएको छ । तर यस विषयको जानकारी भने पछि मात्र शेयर गर्न सकिने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३