close

सुरु भयो खुमलटारमा आईटी पार्क बनाउने काम

टेकपाना टेकपाना

चैत २०, २०७७ ११:११

सुरु भयो खुमलटारमा आईटी पार्क बनाउने काम

काठमाडौं । सरकारले ललितपुरस्थित खुमलटारमा निर्माण गर्न लागेको आईटी पार्कको काम अगाडि बढ्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतकाे सूचना प्रविधि विभागले हालै पार्कको सीमा पर्खाल निर्माणका लागि हिमानी/काव्या कस्ट्रक्सनलाई ठेक्का दिने निर्णय गरेको छ ।

गत माघ २६ गते विभागबाट गोरखापत्रमा प्रकाशित ई-बिडिङ आह्वानबाट प्राप्त बोलपत्रअनुसार मूल्यांकन समितिले सो कम्पनीलाई सिफारिस गरेको हो ।

विभागले आज गोरखापत्रमा बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गर्दै दोस्रो चरणको कामस्वरुप पर्खाल निर्माणको जिम्मा सो कम्पनीलाई दिएको हो ।

पर्खाल निर्माणका लागि सो कम्पनीले ३४ लाख ७१ हजार ३६० रुपैयाँ (मु.अ.क. सहित) कबोल गरेको छ ।

लामो समयदेखि अन्याैलमा रहेको सूचना–प्रविधि पार्क (आईटी पार्क) निर्माणको काम अब भाैतिक रूपमा अघि बढ्ने जनाइएकाे छ । दक्षिण एसियामै नमुना पार्कको रुपमा बनाउने योजनाका साथ आजभन्दा २० वर्षअघि सुरु भएको परियोजना कार्यान्वयनमा आउन नसक्दा अन्याैलमा रहेको छ ।

सफ्टवेयर विकास र निर्माण, सूचना प्रविधिको विकास, सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्ने, आईटी कम्पनीको विकास तथा प्रवर्द्धनमा सहयोग, सूचना प्रविधि सेवा, सूचना प्रविधिमा आधारित सेवाको निर्यात प्रवर्द्धन तथा वृद्धिका लागि निजी कम्पनी तथा लगानीकर्तालाई अवसर प्रदा गर्ने उद्देश्यका साथ २०५४ सालमै बनेपामा आईटी पार्क स्थापना गरिएको थियो ।

काठमाडौंबाट ३० किलोमिटर परको बनेपा–पनौती सडकमा रहेको पार्कमा भवन निमार्णको काम सम्पन्न भएको भएतापनि त्यसका लागि आवश्यक पर्ने अन्य पूर्वाधार निमार्ण भने हुने सकेको थिएन । त्यतिले गर्दा अड्किएर बसेको उक्त पार्कमा सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र) स्थापना गर्ने निणर्य यसअघि नै गरिसकेको छ ।

उक्त स्थानमा आईटी पार्क निमार्णको काम नहुने भएसँगै सरकारले ललितपुरको खुमलटारमा आईटी पार्क बनाउने निर्णय गरेको थियो । त्यसका लागि आवश्यक भौतिक काम सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै आईटी पार्कको जग्गा वरिपरी पर्खाल निमार्णको जिम्मा लगाएको हो ।

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३