close

भारतमा एलन मस्कको स्याटेलाइट इन्टरनेट प्रतिबन्ध गर्न माग

टेकपाना टेकपाना

चैत २०, २०७७ १६:५५

भारतमा एलन मस्कको स्याटेलाइट इन्टरनेट प्रतिबन्ध गर्न माग

काठमाडौं । भारतमा सन् २०२२ मा स्याटेलाइट इन्टरनेट सेवा सार्वजनिक गर्ने योजनामा रहेको एलन मस्कको स्पेस एक्स टेक्नोलोजीले पहिलो चुनौतीको सामना गरेको छ ।

ब्रोडब्याण्ड इण्डिया फोरमले देशको नियामक टेलिकम रेगुलेटरी अथोरिटी अफ इण्डिया र भारतीय स्पेस रिसर्च अर्गनाइजेसनलाई स्पेस एक्स टेक्नोलोजीको बिक्री रोक्का गर्न पत्र लेखेको छ ।

स्टारलिङ्ककाे स्याटेलाइट इन्टरनेट सेवाको बेटा भर्सनको भारतमा प्रि-सेलिङलाई रोक्न आग्रह गर्दै ब्रोडब्याण्ड इन्डिया फोरमले नियामकलाई पत्र लेखेकाे हो ।

अमेजन, फेसबुक, गुगल, ह्युजेज तथा माइक्रोसफ्टलाई प्रतिनिधित्व गर्ने औद्याेगिक अङ्ग ब्रोडब्याण्ड इण्डिया फोरमका अध्यक्ष टिभी रामाचन्द्रनले भारतमा त्यस्तो सेवा प्रदान गर्न स्पेस एक्सलाई अनुमति नभएको दाबी गरेका थिए ।

स्पेसएक्सले यसअघि नै भारतमा आफ्नो स्टारलिङ्क इन्टरनेट सर्भिसको बेटा भर्सनको प्रि-अर्डर खुला गरिसकेको छ । जसमा उसले सात हजार भारतीय रुपैयाँको पूर्ण रिफण्डेबल डिपोजिटमा उक्त सेवा अफर गरेको छ ।

उक्त सेवाले भारती ग्रुप तथा बेलायत सरकार स्वामित्वको वानवेब र अमेजनको प्रोजेक्ट क्युपरजस्ता अन्य स्याटेलाइट कम्युनिकेसन सर्भिससँग प्रतिस्पर्धा गर्ने छ । 

रामाचन्द्रनले नियामक निकायसँग स्पेसएक्सको सेवामा तत्काल हस्ताक्षेप गरी स्वस्थकर प्रतिस्पर्धालाई रक्षा गर्दै अहिलेको नीति र मूल्यलाई पालना गर्न अपिल गरेका छन् ।

टेलिकम रेगुलेटरी अथोरिटी अफ इण्डिया (टीआरएआई) का अधिकारीले फोरमको अपिलमाथि छानबिन हुने बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३