close

कृषक र व्यापारीलाई जोड्ने डिजिटल प्लेटफर्म – हाट बजार

टेकपाना टेकपाना

चैत २१, २०७७ १२:३०

कृषक र व्यापारीलाई जोड्ने डिजिटल प्लेटफर्म – हाट बजार

काठमाडाैं । गाउँमा कृषकको उत्पादनले बजार नपाएको र सहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबाट उत्पादित सामान खरिद गर्न नपाउँदा कृषिजन्य सामानहरू महँगो परेका समाचारहरू दैनिक रुपमा हामीले सुन्दै पढ्दै आएका छौं ।

अर्काेतिर देशको अर्बौं रुपैयाँ कृषिजन्य आयातमा बाहिरिएको यथार्थ छ । याे अवस्थालाई केही भएपनि सुधार गर्न हात-हातमा हुने मोबाइलबाट निःशुल्क रुपमा क्रेता र बिक्रेतालाई जोड्ने मोबाइल एप हाट बजार विकास भएकाे छ । 

याे एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफैं तोकी त्यसको विवरणहरू जस्तै फोटो, मूल्य, स्थान, सामानको गुणस्तर, डेलिभेरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्छन् ।

यसरी किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक गुणस्तर हेरेर, मोलमोलाइ गरेर ठीक लागेमा सिधा किसानबाटै खरिद गर्न सक्छन् । 

किसानहरूले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशु पन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामग्री र खेतीका लागी जग्गा भाडामा लिन दिन परेमा निःशुल्क यो एपमा बेच्न राख्न सकिन्छ ।

कृषकले बेच्न राखेका सामानहरू तुरुन्त सबै हाट बजार एप प्रयोगकर्ताहरूलाई ‘कसले के बेच्न राख्यो’ भनेर नोटिफिकेशन जान्छ र यसले कृषकको सामान छिटो बेच्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

जस्तै जुम्लामा भएको स्याउ कसैले यस एप मा बेच्न राखेमा उक्त सूचना देशभरी रहेका हाट बजार एप प्रयोगकर्तामा पुग्ने भएकोले स्याउको उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुन्छ । 

हाट बजार एपका प्रयोगकर्ताहरुले आफूलाई चाहिएको सामानहरू अनुराेध गर्न सक्छन, जस्तै २० केजी टिमुर चाहियो, तरकारी बालीका लागि खेत भाडामा चाहियो, ट्याक्टर भाडामा लिन–दिन आदि । जसले गर्दा समय, यातायातको खर्चमा बचत भई व्यपार बढाउन सकिन्छ । 

यो एपमार्फत किन्ने र बेच्नेहरु नै एक आपसमा सिधै सम्पर्क गरेर कारोबार गर्ने भएकोले, गुणस्तर र मूल्य आफैंले तय गरेर पूर्ण भरोसाका साथ लेनदेन गर्न सक्छन् ।

अरु कसैलाई बीचमा कमिसन पनि दिन नपर्ने भएकाले यो एपको भरपूर प्रयोग गरेर फाइदा लिन सकिने वातावरण बनेको छ। नेपालको कृषिक्षेत्रमा डिजिटल टेक्नोलोजी भित्रिएको छ, अब किसान र व्यापारीहरुले पनि यस टेक्नोलोजीबाट टाढा नबसी समयमा नै यसकाे प्रयोग गरी फाइदा लिने विश्वास कम्पनीले गरेकाे छ । 

यस एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, बिक्रेताको प्रोफाइल बनाउन मिल्ने, कृषिसम्बन्धी समाचार पढ्न, भिडियोहरु हेर्न, एफएमहरु सुन्न र सोसल मिडियामा पनि शेयर गर्न सकिने जस्ता फिचरहरु राखिएका छन् ।

ट्राभहिल डटकम प्रालिले ल्याएको यो एप एन्ड्रोइडआईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३