close

साइबर सुरक्षामा निरन्तर प्रतिबद्ध – इमिनेन्स वेज

टेकपाना टेकपाना

चैत २२, २०७७ १४:४५

साइबर सुरक्षामा निरन्तर प्रतिबद्ध – इमिनेन्स वेज

काठमाडाैं । विश्व डिजिटल प्रणालीमा तीव्र रुपमा रुपान्तरण भइरहेको छ । एउटा सामान्य व्यक्तिदेखि ठूला ठूला कम्पनी प्रविधिकै सहारा लिएर कार्य सञ्चालन गरिरहेका छन् । आर्थिक कारोबारदेखि संवेदनशील सूचनाको भण्डारण अब डिजिटल प्रणालीबिना सम्भव छैन ।

यसर्थ डिजिटल डिभाइस, प्रोग्राम र डेटाको संरक्षणका लागि छुट्टै प्रविधि, प्रक्रिया वा अभ्यास जरुरी बनिरहेकाे छ । यही आवश्यकतालाई पुरा गर्न ‘साइबर सेक्युरिटी’ वा ‘इन्फर्मेशन टेक्नोलोजी सेक्युरिटी’को अवधारणा विकास भयाे । यसले विशेष गरी कम्प्युटर, एप्लिकेशन, सिस्टम र नेटवर्कमा अनधिकृत पहुँचबाट रोक्न, परिवर्तन वा नष्ट हुनबाट सुरक्षा प्रदान गर्छ ।

सूचना प्रविधिको विकाससँगै आवश्यकताको रुपमा भित्रिएको अवधारणा हो, साइबर सुरक्षा । नेपालमा पनि पछिल्लो समय साइबर सुरक्षासम्बन्धी काम गर्ने अनुसन्धानकर्मी र कम्पनीहरुको संख्या बढेको देख्न पाइन्छ ।

यो क्षेत्र आफैंमा चुनौतीसँगै प्रशस्त सम्भावना र अवसर बोकेको क्षेत्र हो । यसै सन्दर्भमा आज हामी सूचना सुरक्षालाई मुख्य क्षेत्र बनाउँदै नेपालको आईटी उद्योगमा क्रियाशील बनिरहेको कम्पनी इमिनेन्स वेजको व्यवसायिक यात्राबारे चर्चा गर्दै छौं ।

एक दशक अघिसम्म नेपालमा आईटी कम्पनीले गर्ने भनेकै सफ्टवेयर डेभलपमेन्ट र डिजाइनिङका काम थिए । त्यो त्यतिबेलाको परिदृश्य थियो । विस्तारै नेपालको आईटी क्षेत्रमा पनि नयाँ डोमेन भित्रियो ।

नारायण काेइरालाले यही नयाँ डाेमेनमा आफ्नो भविष्य देखे । आईटी व्यवसाय र सूचना सुरक्षामा काम गरिरहेका केही साथीहरूसँग मिलेर उनले सन् २०१३ देखि इमिनेन्स वेजकाे यात्रा अघि बढाए ।

हुन त त्यतिबेला पनि छिटपुट केही व्यक्ति र कम्पनीले सूचना सुरक्षाकाे क्षेत्रमा काम गरिरहेका थिए । तर दक्ष जनशक्तिकाे अभाव, पर्याप्त कामकाे कमी र अरू व्यवसायिक कठिनाईका कारण नियमितता हुन सकेन ।

साइबर सुरक्षाप्रति धेरैकाे चासाे र चिन्ता नहुँदा इमिनेन्स वेज कम्पनीको सुरुवाती यात्रा पनि पक्कै सहज थिएन ।

‘पहिले अधिकांश कम्पनी र सेवाग्राहीले आफ्नो डिजिटल सम्पत्ति र मूल्यलाई किन संरक्षण गर्ने भन्ने कुरा बुझेका थिएनन् । आईटीमा एउटा हार्डवेयर वा सफ्टवेयर राख्दा पर्याप्त हुन्छ भन्ने थियो । तर त्यसको सुरक्षाबारे सोच्न कोही पनि तयार थिएनन्,’ कम्पनीका संस्थापक एवं प्रबन्ध निर्देशक कोइराला भन्छन् ।

May be an image of Narayan Koirala
कम्पनीका संस्थापक एवं प्रबन्ध निर्देशक नारायण काेइराला

अर्काेतर्फ साइबर सुरक्षामै प्रतिबद्ध जनशक्ति र जानकारकाे कमी थियाे । यस्ताे अवस्थामा सुरू भएकाे इमिनेन्स वेजका लागि चुनाैतीकाे पहाड ठूलाे थियाे ।

‘साइबर सुरक्षामै भविष्यमा देखेकाे इमिनेन्ज वेजले याे अवस्थालाई चुनाैतीभन्दा अवसरकाे रूपमा लियाे,’ उनी भन्छन् ।

यस्ताे अवस्थामा कम्पनीले कलेजहरुमा विद्यार्थीहरुलाई साइबर सुरक्षाबारे चेतना विस्तार गर्दै, प्रशिक्षण दिदैँ यस क्षेत्रमा लाग्न विद्यार्थीहरुलाई प्रोत्साहन गर्न थाल्यो ।

अर्काेतर्फ विभिन्न पक्षसँगका समन्वयमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सेक्युरिटी कन्फ्रेन्स आयोजना गरेर नेपालमा साइबर सुरक्षा क्षेत्रमा सम्भावना र चुनौतीबारे सरोकारवालासँग अन्तर्क्रिया गर्यो । अन्य फाेरममा गएर पनि कुरा राख्न थाल्याे ।

यसरी नेपालमा साइबर सुरक्षा उद्योगका लागि आवश्यक आधार स्थापना हुँदै आएको कोइराला सम्झन्छन् ।

यसैबीच सबैतिर प्रविधिको पहुँच र प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा बढ्दा यसका सम्भावित जोखिममा पनि कम्पनी र प्रयोगकर्ताको ध्यान जान थाल्यो ।

देश विदेशमा भएका साइबर अपराध र ह्याकिङका घटनाले नेपालमा पनि त्रास पैदा गर्न थालेपछि साइबर सुरक्षाप्रति मानिसहरु सजग बन्दै गए ।

अर्काेतर्फ प्रत्येक बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य सेक्युरिटी अडिट गराउनुपर्ने बाध्यात्मक प्रावधान लागू भयो । जसका कारण बामे सरिरहेकाे साइबर सुरक्षा उद्योगलाई केही हदसम्म अघि बढ्न नीतिगत रूपमा राहत पुग्याे ।

‘अहिले नेपाल दूरसञ्चार प्राधिकरणले पनि आफू मातहतका सेवाप्रदायक कम्पनीहरुलाई सेक्युरिटी अडिट गर्न निर्देशन दिएको छ,’ कोइराला भन्छन्, ‘यसरी राष्ट्रियस्तरमा चेतना बढ्दै गएको छ ।’

उनले अगाडि भने, ‘मानिसहरुलाई यसको आवश्यकता र महत्व बुझाइरहेका हुन्छौं । सेक्युरिटी अडिट नीति पालना गर्नका लागि मात्र नभएर आफ्नो डेटा सेक्युरिटीको लागि पनि त्यो आवश्यक छ भन्ने कुरा बैंक तथा कम्पनीहरुले बुझ्दै गएका छन् । अब याे सेक्टरमा पनि एउटा इकोसिस्टम विकास हुँदै छ ।’ 

अहिलेसम्म आइपुग्दा नेपालमा एक दर्जन बढी साइबर सुरक्षा कम्पनीहरु खुलिसकेका छन् । जसमा कतिपय कम्पनी नयाँ अवधारणासहित जन्मिएका छन् । यसबीच एमिनेन्स वेजको छुट्टै पहिचान बनेकाे छ ।

‘साइबर स्पेसमा धेरै किसिमका आवश्यकता हुन्छन् । यो आफैंमा धेरै ठूलो डोमेन (क्षेत्र) हो,’ कोइराला भन्छन्, ‘नेपालमा अहिले थुप्रै साइबर सुरक्षा सम्बन्धी कम्पनीहरु आइसकेका छन् । तर सबैले आ-आफ्नो डोमेनमा काम गरिरहेका छन् । हामी विशुद्ध सेवामा आधारित कम्पनी हौं ।’

इमिनेन्स वेजले हाल देशविदेशका विभिन्न सेवाग्राही कम्पनीका आईएस अडिट, आईटी अडिट, सेक्युरिटी एसेसमेन्ट लगायत सुरक्षासँग सम्बन्धित परियाेजनामा काम गरिरहेकाे छ । 

याे ८ वर्षको अवधिमा कम्पनीले सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, इन्टरनेट तथा टेलिकम कम्पनी, कर्पोरेट तथा बिजनेस हाउसलगायत १६० भन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुलाई सेवा दिइसकेको जानकारी उनले दिए । 

त्यस्तै कम्पनीले हालसम्म ५५० भन्दा धेरै एप्लिकेसन, १० हजारभन्दा माथि नेटवर्क डिभाइस परीक्षण र ३० भन्दा धेरै क्लाउड सेक्युरिटी अडिट गरिसकेको छ । साथै कम्पनीले दुई हजार बढीलाई साइबर सुरक्षा प्रशिक्षण प्रदान गरिसकेको छ ।

नेपालमा साइबर सुरक्षाको इन्टरनेश्नल सर्टिफिकेशन प्रदान गर्न इमिनेन्ज वेजले ईसी काउन्सिलसँग सहकार्य गरेको छ ।

यसैबीच नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीहरुको साइबर सेक्युरिटी अडिटका लागि ७ अडिटरको रोस्टर तयार पार्दा नेपालका २ कम्पनी छानिएका छन् । यसमध्ये एक कम्पनी हाे, इमिनेन्ज वेज ।

अहिलेको अवस्थामा नेपाली कम्पनीहरुसँग साइबर सुरक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्ने क्षमता भएको उनी बताउँछन् ।

‘पूर्वाधार र लगानीको सन्दर्भमा हामीसँग केही कमी कमजोरी होलान् । तर प्राविधिक रुपमा भने हामी पनि अन्तर्राष्ट्रिय कम्पनी जत्तिकै सशक्त छौं,’ कोइराला भन्छन् ।

यद्यपि यो क्षेत्रलाई धान्न नेपाली बजारमा अझै पनि मानव संसाधनको अभाव रहेको उनकाे बुझाई छ ।

यसरी इमिनेन्स वेजले नेपालमा साइबर सुरक्षालाई व्यवसायिक मोडल बनाउँदै निरन्तर सेवा दिइरहेको छ । हालै ८ वर्ष पुरा गरेकाे यस कम्पनी आफूलाई उदाहरणीय सेक्युरिटी कम्पनीका रुपमा चिनाउन कम्पनी सफल भएको छ ।

संस्थापक कोइराला भन्छन्, ‘व्यवसायिक मुनाफाभन्दा पनि हामीले समाजमा कस्तो प्रभाव पारिरहेका छौं, हाम्रो सेवाले कसलाई लाभ पुगिरहेको छ र भविष्यका चुनौतीसँग लड्न हामी कसरी तयार हुने भनेर बुझाउन खोजिरहेका छौं । स्पस्ट योजनाका साथ अघि बढेकाले हामी यी लक्ष्य भेट्टाउन समर्थ छौं भन्ने लाग्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१