close

अब हरेक स्थानीय तहमा सूचना प्रविधियुक्त सामुदायिक सूचना केन्द्र

टेकपाना टेकपाना

चैत २२, २०७७ १३:३८

अब हरेक स्थानीय तहमा सूचना प्रविधियुक्त सामुदायिक सूचना केन्द्र

काठमाडौं । अब हरेक स्थानीय तहमा सूचना प्रविधियुक्त सामुदायिक सूचना केन्द्र स्थापना हुने भएको छ । सूचना प्रविधिमार्फत स्थानीय तहमा सूचनाको पहुँच र सहज सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको हो ।

त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिइसकेको छ ।

‘यसअघि मन्त्रिपरिषदको बैठकले यो विषयमा निर्णय गरिसकेको छ,’ प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले भने, ‘त्यसकै आधारमा मन्त्रालयले प्राधिकरणलाई देशका हरेक स्थानीय तहमा सूचना प्रविधियुक्त केन्द्र स्थापना गर्न निर्देशन दिएको हाे ।’

मन्त्रालयको उक्त निर्देशनका आधारमा हाल अध्ययन प्रक्रिया अघि बढेको खनालले बताए । उनले भने, ‘प्राधिकरणले यसअघि सामुदायिक विद्यालयमा सूचना प्रविधि ल्याब स्थापना गरिसकेकाे छ । अब त्यस्तै परियोजनाको रुपमा हरेक स्थानीय तहमा सामुदायिक सूचना केन्द्र निर्माण गर्ने निर्णय भएको हो ।’

उक्त सूचना केन्द्रमा के–के कुरा रहने छ भन्ने विषय हालसम्म तय भइसकेको छैन । तर, त्यही केन्द्रबाट स्थानीय तहका स्कुल तथा हेल्थपोस्टहरुमा इन्ट्रानेटमार्फत कन्टेन्ट डेलिभरी गर्ने योजनासमेत रहेको उल्लेख गरिएको छ ।

यसका आधारमा हेर्ने हो भने उक्त केन्द्रमा कम्प्युटर, प्रिन्टर, फोटोकपी मसिन, उच्च गतिको इन्टरनेट र एकदेखि दुई जना प्राविधिकसहित उपलब्ध हुनसक्ने अनुमान गर्न सकिन्छ । प्राधिकरणका अध्यक्ष खनालका अनुसार मन्त्रालयले यसको सम्पूर्ण जिम्मा प्राधिकरणलाई दिएको छ ।

यो परियोजना ग्रामीण दूरसञ्चार विकास कोष अथवा प्राधिकरणको बजेटबाट आगामी वर्षदेखि बढ्नेछ । हाल प्राधिकरणको आगामी वर्षको बजेट तथा कार्यक्रम तयारीका लागि छलफल सुरु भएको छ ।

यस्ताे केन्द्रमा नागरिकले सूचना प्रविधिको माध्यममार्फत सहज रुपमा सूचना प्राप्त गर्न सक्नेछन् । साथै प्रविधिको उपयोग गरी नागरिकलाई सेवा उपलब्ध गराउने काम पनि हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१