close

यस्तो छ करिब ६ खर्ब रुपैयाँमा बनेको एप्पलको हेडक्वार्टरः एप्पल पार्क

टेकपाना टेकपाना

चैत २३, २०७७ १४:४१

यस्तो छ करिब ६ खर्ब रुपैयाँमा बनेको एप्पलको हेडक्वार्टरः एप्पल पार्क

काठमाडौं । एप्पलको नयाँ मुख्यालय, जसलाई एप्पल पार्क पनि भनिन्छ । त्यसको निर्माण चार वर्ष लगाएर सन् २०१७ मा सम्पन्न भयो । उक्त भव्य भवन निर्माण गर्न एप्पलले पाँच अर्ब डलरभन्दा धेरै (करिब ६ खर्ब रुपैयाँ) रकम खर्चिएको थियो ।

आजको समयमा पृथ्वीको सबैभन्दा महङ्गो भवनमध्येमा एप्पल पार्क पनि पर्दछ । तपाईंहरु धेरैलाई जिज्ञासा होला, आखिर एप्पल पार्कमा के छ त्यस्तो, जसका लागि एप्पलले पाँच अर्ब डलरभन्दा धेरै लगानी गर्‍यो । 

आज हामी एप्पलको मुख्यालयभित्रको संसार नियाल्ने छौं । यो भवनलाई विशेष बनाउने सुविधा र भवनका विशेषताहरु बारे बुझ्ने छौं । 

प्रसंगको सुरुवात गरौं एप्पलको मुख्य भवनबाट । जसलाई रिङ भनिन्छ । चार तले गोलाकार यो भवनमा १२ हजार भन्दा धेरै कर्मचारी काम गर्छन् ।

भवनको भित्री र बाहिरी बरण्डामा निकै लामो वाक वे (हिँड्न मिल्ने लेन) लाइन छ । यो भवनमा एउटा कुनाबाट अर्को विपरित धुर्वको कुनासम्म पुग्न साढे सात मिनेट लाग्छ भने पुरै वाक वे लाइन घुम्न करिब १५ मिनेट लाग्छ । 

रिङ भवनको एक्सटेरियर (बाहिरी भाग) ३६ देखि ४७ फिट लामो कर्भ्ड ग्लास प्यानलबाट निर्माण गरिएको छ । यसले गर्दा भवनबाट बाहिरको प्यानोरमिक दृश्य अवलोकन गर्न सकिन्छ । 

एप्पल पार्कलाई एकदमै खुल्ला स्थानको रुपमा डिजाइन गरिएको छ । कर्मचारीहरुबीच आइडियाहरु स्वतन्त्ररुपमा सजिलै प्रवाह हुन सकोस् भन्ने उद्देश्यले भवनलाई त्यसरी डिजाइन गरिएको कम्पनीले बताएको छ ।

कर्मचारीहरु सहकर्मीबाट डिस्ट्रयाक्ट (एकाग्र हुन नसक्नु) हुनुको सट्टा गहिरो ध्यानमा रहन सकुन् भनेर अफिस स्पेसलाई पोड वा खुल्ला स्पेसको रुपमा निर्माण गरिएको छ । तर एप्पलको भवन निर्माणको यो अवधारणा प्रति सबैजना कर्मचारी खुशी थिएनन् ।

त्यसताका एप्पलका कति कर्मचारीहरुले प्रविधि पत्रकार जोन ग्रुबरलाई एप्पलको खुल्ला फ्लोर योजनाको आलोचना गर्दै गुनासो सहितको पत्रसमेत लेखेका थिए । यति मात्र होइन एप्पलको पारदर्शी ढोका तथा भित्ताहरुलाई लिएर धेरैले गुनासो समेत गरे ।

वास्तवमा एप्पलका दुई कर्मचारी त पारदर्शी सिसामा ठोक्किदाँ घाइते भएर अस्पताल समेत भर्ना भए । त्यसैले पछि पारदर्शी झ्याल ढोकालाई चिनाउन कमर्चारीहरुले रङ्गी विरङ्गी कागजका टुक्राहरु झ्याल ढोका र भित्ताहरुमा टाँस्ने गरेका थिए । तर त्यसले भवनको डिजाइनलाई बिगारेको भन्दै हटाइएको थियो । 

एप्पलले कर्मचारीबीच अन्तरक्रियालाई बढावा दिन रिङभित्रै एउटा ठूलो रेस्टुरेन्ट निर्माण गरेको छ । ५८ हजार वर्ग फिटको यो रेस्टुरेन्टमा कर्मचारीहरु खाना खाँदै कुराकानी गर्न सक्छन् । एप्पलले रेस्टरेन्टलाई क्याफे म्याक्स नामाकरण गरेको छ ।

यसमा विश्वकै सबैभन्दा ठूलो ग्लासका चार स्ट्रोय स्लाइडिङ ढोकाहरु छन् । एप्पलले कति सूक्ष्म विवरणको पनि ख्याल राख्छ भन्ने कुरा उसले आफ्नो पिज्जा बक्सको प्याटेन्ट अधिकार लिएको कुराबाट नै प्रमाणित हुन्छ ।

एप्पलले निर्माण गरी प्याटेन्ट अधिकार लिएको पिज्जा बक्सले पिज्जाको क्रस्ट (तल्लो भाग) लाई ओसिलो हुनबाट सुरक्षित राख्दछ । यसबाहेक रिङभित्र तपाईंको आखाँले सजिलै देख्न सक्ने भन्दा अन्य धेरै कुराहरु पनि लुकेर बसेका छन् ।

रिङभित्र सेतो रिफ्लेक्टिभ (परावर्तन हुने) टाइलबाट निर्माण भएको दुई तले पार्किङ ग्यारेज छ । यसमा गोलाकार सेतै टाइल राखिएको सिलिङ, स्ट्रिट साइनसँग मिहिनरुपमा एकीकृत भएका ट्राफिक बत्ती सबै कुरा छन् ।

यसैले गर्दा एप्पलका कर्मचारीहरु एप्पल पार्कभित्रका सुन्दर दृश्यलाई नियाल्दै परिसर वारपारको यात्रा गर्न सक्छन् । वास्तवमा एप्पल पार्कभित्रको भूपरिदृश्य आफैमा एउटा महत्वपूर्ण फिचर हो ।

एप्पल पार्कभित्रै नौ हजारभन्दा धेरै विशेष रुख विरुवाहरु (इन्डिजिनियस) रोपिएका छन् । एप्पल पार्कको परिदृश्य संरचनाका आधारमा मात्र सुन्दर छैन । यी त वास्तवमा खडेरी र सुख्खा याम प्रतिरोधी पनि छन् ।

क्याफे नजिकै आँगनमा एप्रिकोट, ओलिभ, एप्पल अर्किड्स तथा विभिन्न जडिबुटीका बगैंचाहरु छन् । एप्पलले आफ्नो मुख्य रिङ भवनकै आकारमा परिसरभित्र एउटा कृतिम पोखरी पनि निर्माण गरेको छ ।

यसबाहेक एप्पलको एउटा इन्द्रेणी आकारको (रेक्टेङ्गुलर) मन्च पनि छ । विभिन्न पर्फमेन्स तथा भाषणको समयमा यसलाई एप्पलले आफ्नो स्टेजको रुपमा प्रयोग गर्दछ ।

उक्त स्टेजलाई जोनाथन इभ, फोस्टर र साथीहरुले डिजाइन गरेका थिए । स्टेजमा एप्पलको प्रारम्भिक लोगोमा देखिएने इन्द्रेणी रङ्ग प्रयोग भएको छ । यसको संरचनाको कुरा गर्दा यो इन्द्रेणी रङ्गयुक्त कोलाकार आर्क आकारको यो स्टेजमा विभिन्न लाइटिङ उपकरणहरु फिट भएका छन्  ।

तर अहिलेसम्म हामीले कुरा गरिरहेको रिङ भवन एप्पल पार्क परिसरको एउटा विशेष भवन मात्र हो । यसबाहेक यसको परिसरमा अन्य धेरै भवनहरु पनि छन्, जसको आफ्नै महत्व र अर्थ छन् ।

यदि तपाईं परिसरको उत्तरपश्चिमी क्षेत्रमा जान चाहनुहुन्छ भने कम्पनीको ग्रे एप्पल साइकल प्रयोग गरी त्यहाँ पुग्न सक्नुहुन्छ । त्यहाँ तपाईंले एउटा पुरानो सानो भवन देख्नुहुन्छ, जुन एप्पलको अत्याधुनिक भवन र परिसरमा निकै अमिल्दो देखिन्छ ।

वास्तवमा यसको नाम ग्लेनडेनिङ बर्न हो । जुन एप्पलले निर्माण गरेको भवनमा पर्दैन । सन् १९१६ मा निर्माण भएको यो बर्न एप्पलले भवन निर्माणका लागि खरिद गरेको जग्गाभित्र पर्न गएको हो ।

एप्पलले यसलाई भत्काउन चाहेको पनि थियो । तर सन् २००४ मा ऐतिहासिक क्षेत्रको रुपमा कर्पेन्टिनो सहरले घोषणा गरेपछि यसलाई सुरक्षित राख्न एप्पल बाध्य भएको हो । हाल कम्पनीले यसलाई आफ्नो मर्मत सम्हारका समानहरु भण्डारण गर्ने भवनको रुपमा प्रयोग गर्दै आइरहेको छ ।

ग्लेनडेनिङ बर्न नजिकै अर्को एउटा ठूलो भनव छ । जुन एप्पलले नै निर्माण गरेको भवन हो । यो एक लाख बर्ग फिटको एउटा फिटनेस तथा वेलनेस सेन्टर हो ।

यसभित्र चेन्जिङ रुम, सावर, लन्ड्री सेवा, ग्रुप वर्काउट रुम र ढुङ्गाबाट निर्मित दुई तले योगा रुम छन् । दक्षिणतिर जानु भयो भने तपाईंले एउटा स्पोर्ट्स फिल्ड देख्नुहुनेछ ।

जहाँ कर्मचारीहरुले बास्केटबल र टेनिस गेम खेल्न सक्छन् । यसबाहेक अझ दक्षिणतिर जानु भयो भने एप्पल पार्क सेन्ट्रल प्लान्ट छ । जुन दक्षिणतिरको पार्किङ ग्यारेजसँग जोडिएको छ ।

सेन्ट्रल प्लान्टमा फ्युल सेल्स, ब्याकअप जेनेरेट्स, कन्डेन्सर वाटर स्टोरेज, हट वाटर स्टोरेज, इलेक्ट्रिकल सबस्टेसन, पानी तथा आगोको पम्प र चिलर्स जस्ता युटिलिटी उपकरणहरु राखिएका छन् । 

पार्किङ ग्यारेजमा नौं हजार कर्मचारीहरुका लागि वर्किङ स्पेस छ भने कूल १४ हजार दुई सय गाडीहरुका लागि पार्किङ स्पेस पनि छ । दक्षिणी ग्यारेजदेखि पूर्वतिर जाँदा तपाईंले अर्को भवन स्टिभ जब्स थिएटर देख्नुहुनेछ ।

कर्भ्ड ग्लास प्यानलले निर्माण गरेको यो एउटा गोलाकार भवन हो । जसको माथितिर विश्वकै सबैभन्दा ठूलो कार्बन फाइबर छत छ ।

यो भवनको बारेमा धेरै आश्चर्यजनक तथ्यहरु रहेका छन् । जसको बारेमा अहिले बताउन सम्भव छैन । तर यसको संरचनाको बारेमा छोटकरीमा कुरा गर्दा यो भवनमा वास्तविक थिएटर तपाईं खोज्दै हुनुहुन्छ भने त्यो अन्डर ग्राउण्डमा छ ।

त्यहाँसम्म पुग्न दुई वटा बाटा छन् । पहिलो सुन्दर तरिकाले निर्माण भएका कर्भ्ड सिढीँ हो र दोस्रो भनेको ग्लास इलिभेटर अर्थात लिफ्ट हो । यो थिएटरभित्र ९२१ जना अट्ने ठाउँ छ । जुन एप्पलको पुरानो टाउन हलभन्दा तीन गुणा ठूलो हो । 

स्टिभ जब्स थिएटरको मूख्य हिस्सा अण्डर ग्राउण्डमा छ । तर यो एप्पल पार्ककै सबैभन्दा उच्च भागमा निर्मित छ । यो भवन स्टिभ जब्सको सम्मानमा उनको नामबाट राखिएको हो  ।

थिएटरबाट उत्तरपूर्वी भागतिर लाग्नु भयो भने त्यहाँ भिजिटर सेन्टर छ । सार्वजनिक भ्रमणका लागि खुल्ला एप्पल पार्कभित्रको यो एकमात्र भवन हो । दुई तले यो भवनभित्र मुख्य चार भाग छन् ।

एउटा भागमा एप्पल स्टोर छ । जसमा टिसर्ट, ब्याग, टोपी, पोस्ट कार्ड जस्ता विभिन्न बिक्रेताका सामानहरु शोकेसको रुपमा राखिएका छन् ।

त्यस्तै अर्को १२ सय वर्ग फिटको क्याफे छ । जहाँ एप्पल पार्कको थ्रीडी मोडल शोकेस गरिएको प्रदर्शनी क्षेत्र पनि छ ।

यहाँ अग्मेन्टेड रियालिटीको प्रयोग गरेर आगन्तुकले विस्तृतरुपमा एप्पल पार्कका सबै कुरा हेर्न सक्छन् । अर्को भनेको माथिको छत हो, जहाँबाट सम्पूर्ण क्याम्पसलाई हेर्न सकिन्छ ।

भिजिटर सेन्टरमा एउटा अण्डरग्राउण्ड पार्किङ ग्यारेज पनि छ । जहाँ सात सयवटा गाडीहरु राख्न सकिने खाली ठाउँ छ । तर अहिले यो पाँच अर्ब डलरको मूख्यालयले निकै सकरात्मक आलोचना पनि बटुलिरहेको छ ।

अत्यन्तै खर्चिलो र धेरै पर्फेक्सनिस्ट भएको आरोप यसमाथि लाग्दै आएको छ । तर एप्पल पार्क वास्तवमा स्टिभ जब्सले एप्पलका लागि सपना देखेको एउटा सिङ्गो संरचना हो । 

एप्पलका अर्का सह संस्थापक टिम कूकको शब्दमा भन्नु पर्दा, ‘एप्पल पार्कभर स्टिभको भर्सन रिफ्लेक्ट हुन्छ । आफूले सपना देखेको यो ठाउँ उनी भएको भए निकै मन पराउँथे होला । यो एप्पलको भावी नवप्रवर्तनको घर र प्रेरणा हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१