close

उत्कृष्ट फेस मास्क डिजाइन गर्नेलाई पाँच लाख डलरको पुरस्कार घोषणा

टेकपाना टेकपाना

चैत २४, २०७७ १६:४८

उत्कृष्ट फेस मास्क डिजाइन गर्नेलाई पाँच लाख डलरको पुरस्कार घोषणा

काठमाडौं । महामारीको अवधिभर हामीले धेरै किसिमका मास्कहरु देख्यौं । पूर्णरुपमा असुरक्षित फेसन मास्कदेखि राजरले निर्माण गरेको आरजीबी र भ्वाइस प्रोजेक्सनसहितको नाइन ९५ जस्तो डरलाग्दो मास्कसमेत देख्न पायौं ।

मास्कले सम्भावित संक्रमणबाट जोगाए पनि यसको प्रयोगमा हामी कहिल्यै पनि स्वस्फूर्तरुपमा अघि सरेनौं । यो सधैं हामीले बाध्यात्मक अवस्थामा प्रयोग गर्न पर्‍यो ।

मास्कप्रतिको मानिसहरुको अरुचिलाई सम्बोधन गरेर सबैले प्रयोग गर्न रुचाउने किसिमको मास्कको डिजाइनका लागि अहिले अमेरिकी सरकारले प्रतिस्पर्धाको घोषणा गरेको छ ।

मानिसहरुले प्रयोग गर्न रुचाउने राम्रो मास्कको डिजाइनिङ आइडिया भएका व्यक्ति तथा संस्थाहरुलाई अमेरिकी सरकारको बायोमेडिकल एड्भान्स रिसर्च एण्ड डेभलपमेन्ट अथोरिटी (बीएआरडीए) ले प्रतिस्पर्धाका लागि आह्वान गरेको हो ।

यस किसिमको ‘नेक्स्ट जेनेरेसन अफ मास्क’ डिजाइन गर्न सक्ने व्यक्ति वा संस्थालाई बीएआरडीएले पाँच लाख अमेरिकी डलरको पुरस्कार समेत दिने घोषणा गरेको छ ।

यो प्रतिस्पर्धा दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरण डिजाइनमा केन्द्रित रहने छ, जुन दुई प्रकारका हुनेछन् । पहिलो भनेको अहिलेकै मास्कहरुलाई रिडिजाइन गर्ने र दोस्रो भनेको नयाँ प्रविधि र सामग्रीहरुमा केन्द्रित रहने ।

डिजाइन प्रस्ताव गर्ने व्यक्ति वा संस्थाले आफूले प्रयोग गरेको सिस्टम तथा सामग्रीबारेमा स्पष्ट खुलाउनु पर्नेछ ।  नेश्नल इन्स्टिच्युसन फर अकुपेसन सेफ्टी एण्ड हेल्थ (एनआओओएसएच) ले उक्त डिजाइनलाई भविष्यमा समेत परीक्षण गर्ने बताएको छ ।

पहिलो चरणबाट करिब १० टिम चयन हुनेछन् । मास्क प्रोटोटाइप निर्माण गरेको आधारमा प्रत्येकले १०-१० हजार डलर प्राप्त गर्नेछन् ।

दोस्रो चरण भनेको प्रूफ अफ कन्सेप्टको रहने छ । जहाँ निर्माताहरूले अहिलेका मास्कहरुको आधार नलिई आफ्नो ब्राण्ड न्यु मास्क डिजाइनको आधारमा हाइपोथेटिकल सिनारियो (सम्भावित प्रतिकूल असर) माथि प्रतिक्रिया दिनुपर्नेछ ।

दोस्रो चरणमा निर्माणकर्ता प्रतिस्पर्धीहरुले आफ्नो मास्कको भौतिक प्रोटोटाइप एनआईओएसएचमा परीक्षणका लागि पेश गर्नुपर्नेछ । दोस्रो चरणबाट करिब पाँच टिमले चार लाख डलरको कूल राशीको पुरस्कार जित्ने छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१