close

मार्क जुकरबर्ग ह्वाट्सएपको प्रतिस्पर्धी सिग्नलमा भेटिएपछि…

टेकपाना टेकपाना

चैत २५, २०७७ १३:१०

मार्क जुकरबर्ग ह्वाट्सएपको प्रतिस्पर्धी सिग्नलमा भेटिएपछि…

काठमाडौं । केही दिन अघि मात्र सामाजिक सञ्जाल फेसबुकका कयौं प्रयोगकर्ताको डेटा लिक भयो । यस पटकको लिकमा प्रयोगकर्ताको मात्र नभएर फेसबुकका संस्थापक मार्क जुकरबर्गको समेत फोन नम्बर लगायतको डेटा लिक हुन पुग्यो ।

त्यससँगै नयाँ खुलासाहरु पनि हुन थालेका छन् । मिडिया रिपोर्ट अनुसार फेसबुकका सीईओ समेत रहेका मार्क जुकरबर्ग समेत म्यासेजिङ एप सिग्नलको प्रयोग गर्दछन् ।

फेसबुकको डेटा लिक भएपछि यो खुलासा भएको हो । प्राप्त जानकारी अनुसार फेसबुकका प्रयोगकर्ताका जुन डेटा लिक भए, त्यसमा सीईओ मार्क जुकरबर्गको मोबाइल नम्बर पनि थियो ।

५३ करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डेटा यस पटक बाहिरियो । जसमा प्रयोगकर्ताको आईडी, मोबाइल नम्बर, ईमेल आईडी, स्थान, जन्म मिति र वैवाहिक स्थिति लगायतका जानकारी रहेका छन् ।

लिक भएको मोबाइल नम्बरकै आधारमा मार्क जुकरबर्ग कुन म्यासेजिङ एप प्रयोग गर्छन् भन्ने कुराको खुलासा भएको हो । एउटा सुरक्षा अनुसन्धानले लिक भएको नम्बरबाट मार्क जुकरबर्गले सिग्नल एप प्रयोग गर्ने गरेको बताएको छ ।

सेक्युरिटी विज्ञ डेभ वाकरले ट्वीट मार्फत मार्क जुकरबर्गको लिक भएको नम्बरलाई एउटा स्क्रिन शटको रुपमा देखाएका छन् । जसमा भनिएको छ कि मार्क जुकरबर्ग सिग्नलमा समेत छन् ।

यससँगै मार्क जुकरबर्ग माथि नै सिग्नल एपले ट्रोल बनाएको छ । मार्क जुकरबर्ग सिग्नलमा रहेको उल्लेख गर्दै इन्डिया टुडेले प्रकाशित गरेको समाचारलाई शेयर गर्दै सिग्नलले ट्रोल बनाएको हो ।

जसमा उसले भनेको छ, ‘१५ मेसँगै ह्वाट्सएपको सेवाको शर्त स्वीकार गर्नुपर्ने अन्तिम घडी छिटो छिटो घर्किँदैछ, मार्कले त्यसकै उदाहरण दिएका छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१