close

स्मार्टफोनमा ब्याट्री चार्ज गर्दा जान्नैपर्ने कुराहरु

टेकपाना टेकपाना

चैत २८, २०७७ १४:४८

स्मार्टफोनमा ब्याट्री चार्ज गर्दा जान्नैपर्ने कुराहरु

काठमाडाैं । तपाईंको स्मार्टफोनको ब्याट्रीको आयु सधैं एकनाशको हुँदैन । समयअनुसार यसको क्षमता घट्दै जान्छ । यसकारण ब्याट्री टिकाइराख्न राम्राे विधि जान्नैपर्छ ।

यसका लागि चार्ज गर्ने उत्तम उपाय अपनाउन सकिन्छ । सबैभन्दा राम्रो उपाय भनेको माेबाइल आंशिक रुपमा चार्ज गर्नु राम्राे बानी हाे । तर छिनछिनमा चार्जमा जोड्ने र छुटाउने गर्दा ब्याट्रीको आयुमा नकारात्मक असर पर्न सक्छ । 

अधिकांश स्मार्टफाेनमा लिथियम ब्याट्री प्रयाेग हुन्छ । नियमित रूपमा चार्ज गर्नाले यस्ता ब्याट्री धेरै समयसम्म टिक्छन् । तर चार्ज कति बेलासम्म गर्ने, कसरी गर्ने भन्ने सही ज्ञान धेरैलालाई थाहा हुँदैन ।

तपाईंको फोनलाई पूर्ण क्षमता अर्थात् १०० प्रतिशत हुने गरी कहिल्यै पनि चार्ज नगर्नुहाेस् । फोनकाे ब्याट्री बढीमा ८० देखि ९० प्रतिशतसम्म चार्ज गर्नुहोस् र ३० देखि २५ प्रतिशतभन्दा कम हुन नदिनुहोस् ।

फाेनमा ब्याट्री ५० प्रतिशतकाे हारहारीमा रहनु ब्याट्रीकाे आयुका लागि उत्तम अवस्था हाे । तर धेरै प्रयाेगकर्ताले फुल चार्ज हुँदासम्म पनि ब्याट्री चार्ज गरिरहने र थाेरै ब्याट्री हुँदासम्म पनि माेबाइल चलाइरहने गर्छन् । यदि यस्ताे बानी छ भने तुरून्त सुधार्नुहाेस् ।

धेरै चार्ज गर्दा ब्याट्रीकाे कार्य क्षमतामा ह्रास त आउँछ नै, माेबाइलकाे लिथियम ब्याट्री तात्तिँदा सयभन्दा बढी खतरनाक ग्यास उत्पन्न हुने विभिन्न अध्ययनले बताएका छन् ।

अर्काे महत्वपूर्ण कुरा माेबाइल चलाइरहँदा ब्याट्री तात्तिने गर्छ भने चार्ज गर्दै माेबाइल नचलाउनुहाेस् । माेबाइलकाे ब्याट्रीका लागि बढी तापक्रम जहिल्यै समस्याकाे जड हाे भन्नेतर्फ ध्यान दिनुहाेस् ।

यसकारण चार्ज गर्दै माेबाइल चलाउँदा ब्याट्री तातिएकाे छैन भने कुनै खतरा हुँदैन । तर माेबाइल तात्तिन थालेकाे महसुस गर्नुभयाे भने तुरून्त चार्जबाट निकाल्नुहाेस् ।

यदि चार्ज गर्दै माेबाइल चलाउनुपर्ने अवस्था छ भने एराेप्लेन माेडमा राखेर प्रयाेग गर्दा उत्तम हुन्छ । एराेप्लेन माेडले स्वत: सेलुलर डेटा अफ गर्छ । ब्याट्री ओभरहिट हुनुमा सेलुलर डेटा पनि एक ठूलाे कारण हाे ।

आजकलका स्मार्टफोनमा कतिखेर फुल चार्ज हुन्छ र आइरहेको करेन्टलाई रोक्ने भनेर थाहा पाउने प्रविधि राखिएको हुन्छ । त्यसैले ब्याट्री ओभर चार्ज हुने सम्भावना रहँदैन ।

त्यस्तै ब्याट्रीको चार्ज सकिँदै गएपछि तल्लो सीमामा पुग्ने वितिक्कै स्वतः मोबाइल बन्द हुने भएकाले ओभर डिस्चार्ज पनि हुँदैन ।

यद्यपि धेरैबेर चार्जमा राख्दा फुल चार्ज हुने बितिक्कै चार्जिङ बन्द हुने भएतापनि लगत्तै डिस्चार्ज सुरु हुन्छ । मोबाइल फोन निर्माता कम्पनीहरूले सेट गरेको थ्रेसहोल्डका आधारमा पुनः चार्ज हुन थाल्छ ।

यदि धेरैबेर मोबाइल चार्ज गरिरहनु भएकाे छ भने माेबाइल स्वीच अफ गरी चार्जमा राख्दा राम्राे हुन्छ, ताकि ब्याट्रीमा अनावश्यक भार नपरोस् । 

त्यस्तै माथि उल्लेख गरेजस्तै धेरै समय ब्याट्री चार्ज गर्ने बानी छ भने तुरून्तै त्यागिदिनुहाेस् । यसको सट्टामा तपाईंको फोनलाई दिनमा दुई पटक चार्ज गर्नुहोस्, ( जस्तै बिहान र साँझ) ।

यसर्थ ब्याट्र चार्जिङमा यस्ता स्मार्ट तरिका अपनाउन सके तपाईंको मोबाइल र ब्याट्रीको आयु लामो समयसम्म टिक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१