close

महाबिर पुनको आविष्कार केन्द्रलाई कसरी बुझ्ने ?

टेकपाना टेकपाना

चैत २८, २०७७ १९:१

महाबिर पुनको आविष्कार केन्द्रलाई कसरी बुझ्ने ?

महाबिर पुनको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्रमा काम सुरु भएयता केन्द्रको काम र नामलाई लिएर धेरैले प्रश्न उठाउने र टिकाटिप्पणी गर्ने गरेका छन् । पछिल्लो समय आविष्कार केन्द्रको नामलाई लिएर चर्चित मुटुरोग सर्जन डा. रमेश कोइराला र अभियन्ता पुनबीच ट्वीटरमा जुहारी नै चल्यो ।

यीबाहेक सामाजिक सञ्जालमा पनि केन्द्रले नवीनतम प्रविधिमा काम गर्न नसकेको र पुरानै मसिन र प्रविधिकै मर्मत मात्र गरेको भन्दै कमेन्ट सेक्सनहरुमा मानिसहरुले आलोचनात्मक अभिव्यक्ति पोखिरहेका हुन्छन् ।

तर पुन र आविष्कार केन्द्रको कामलाई लिएर अहिले प्रश्न जुन धारमा प्रवाह भइरहेको छ, त्यो समयको माग र सान्दर्भिकताभन्दा विपरित छ ।

अहिले पुनले आविष्कार केन्द्रमा आविष्कार वा नवप्रवर्तनको काम गर्दैछन् त ? भन्ने कुरा मुख्य प्रश्न होइन । अन्य मुलुकले गरिरहेका प्रविधिका आधारभूत कामहरुलाई नै कपी गरेर पुनले हाम्रो परिप्रेक्ष्यमा त्यसैलाई आविष्कार र नवप्रवर्तनको नाम दिइरहेका छन् भन्ने कुरा पनि वास्तविक प्रश्न होइन ।

मेरो विचारमा त यी सबै मुल कुरामा नलागी तपसिलका कुरामा अल्झिने गतिविधि मात्र हो । पहिलो कुरा त अहिले ‘आविष्कार’ नाममाथि जतिले आपत्ति जनाउँदै छन्, त्यसको कुनै तुक नै छैन । महाबिर पुनले आविष्कार नाम दिएर आविष्कार गरेनन् भन्ने कुरालाई ठूलो इस्यु बनाउनुभएन ।

एप्पल कम्पनीले नाम अनुसारले स्याउ बेचेन भनेर झगडा गर्न जाने कुरो हुँदैन, न त अमेजनले नामै अनुसारले अमेजन नदिको वरपर आफ्नो कार्यलय राखेन भनेर किचकिच गर्न नै सुहाउँछ ।

महाबिर पुनले आफ्नो संस्थाले जे नाम दिए पनि आफ्नो तरिकाले काम गरी नै रहेका छन् । आविष्कार भनेको रातारात गर्न सकिने काम होइन । भोलिको दिनमा यो संस्था पूर्णरुपमा आविष्कार केन्द्र पनि बन्न सक्छ । यसैले केन्द्रले आविष्कार किन गर्न सकेन, यो प्रश्न भोलिलाई साँचेर राखौं ।

तर पहिले त उनलाई पर्याप्त समय र अनुकूल वातावरण प्रदान गर्ने जिम्मेवारी हाम्रो पनि हो । न कि यसरी साना-साना कुरामा किचलो र आलोचना गर्नु । आखिर क्यालीफोर्नियामा कुनै जमानाको खेतीपाती मात्रै गरिने जमिनलाइ पनि कालान्तरमा सिलिकन भ्याली बन्न र त्यो नामले संसारभरी चिनिन कम्तीमा पनि १५-२० वर्ष लागेकै थियो ।

यसमाथि पुनले आविष्कार केन्द्रमा अहिले जुन किसिमको सिकाई र काम गराईको अभ्यास गरिरहेका छन्, त्यसले कालान्तरमा केन्द्र अविष्कारकै दिशामा अगाडि बढ्छ भन्ने विश्वास गर्न सकिन्छ ।

केन्द्रमा उनले युवा इन्जिनियर, डिजाइनर, टिङ्ककर र हब्बिइस्टहरुलाई एक ठाउँमा ल्याएर, तिनलाइ काम गर्न र गराउन प्रचुर स्वतन्त्रता दिएर, मिस्टेक र फेल भएमा पनि हरेश नखान भनी, विभिन्न प्रयोग गर्न सामग्री र संसाधन उपलब्ध गराएर २४ घण्टा खुल्लमखुल्ला छाडिदिएका छन् ।

अन्वेषण र नवीन प्रयोगका लागि जुन किसिमको आधारभूत स्वतन्त्रता चाहिन्छ । त्यो अहिले नेपालको कुनै पनि ठाउँमा नभएर आविष्कार केन्द्रमा छ । नवप्रवर्तन गर्नलाई मान्छेले असफल पनि हुनुपर्छ, त्यो छुट पनि आविष्कार केन्द्रमै छ ।

कमी कमजोरीलाई पहिचान गर्दै सरसल्लाह पनि गर्न पाउनुपर्छ । तब मात्र विस्तारै-विस्तारै नवीन सोचले जन्मने बाटो पाउँछन् । मलाई थाहा भएसम्म यस्तो किसिमको सुविधा र वातावरण नेपालमा अहिले कतै पनि छैन ।

जागिर खान जादाँ न कार्यस्थलमा त्यसप्रकारको प्रयोग गर्न पाइन्छ न त विद्यालय र कलेजले नै यस्तो सुविधा दिन्छन् । जस्तो किसिमको खुल्लापन र सिकाई नवप्रवर्तन र आविष्कारलाई चाहिन्छ त्यो अहिले केन्द्रमा मात्र छ ।

संसारका ठूला ठूला वैज्ञानिक र प्रविधि प्रयोगशालामा पनि काम हुने भनेको यसरी नै हो । यसरी नवप्रवर्तन कामको लागि नभई नहुने बिउ आविष्कार केन्द्रमा छ भन्न सकिन्छ ।

केन्द्रले आविष्कार गर्न सक्ला, नसक्ला भन्ने कुरा पछिको कुरा हो । तर अहिले जस्तो किसिमको ग्रुमिङ र वातावरण केन्द्रले दिएको छ, त्यो एकदमै आवश्यक र आविष्कारको मर्म अनुकूल छ ।

केन्द्रमा पछि अरु कस्तो किसिमका मान्छेहरु आउँछन् र कसरी काम गर्छन् भन्ने कुरा हेर्न बाँकी छ । तर जस्तो किसिमको खुल्लापन र सिकाईको बिउ रोपिएको छ त्यो निकै प्रभावकारी छ । 

कसैले रकेट बनायो भने हाम्रोमा यो भएन त्यो भएन, सबै कुरा बिग्रियो भनेर आलोचना गर्ने बानी छ । नवप्रवर्तनको क्रममा काम गर्दै जाँदा कति ठाउँमा असफल भइन्छ, कति कुराहरु सोचेजस्तो हुँदैन ।

इन्जिनियरहरुलाई भर्सन एक नभए भर्सन दुईमा जाउँला, त्यो नभए भर्सनहरुमाथि सुधार गर्दै भर्सन २० सम्म पनि जाउँला भन्ने बानी हुन्छ । त्यसका लागि आवश्यक जुन निरन्तरता र लगाव छ, त्यो हामीलाई सिकाउने केही छैन । हामी असफल भयौं भने सबै आत्मविश्वास नै ध्वस्त बनाउने चलन छ, हामीकहाँ । 

तर संसारका ठूला-ठूला आविष्कार केन्द्रहरुमा हारलाई स्वीकारेर नयाँ सिकाईका साथ लगाव र निरन्तरता दिने चलन छ । यस्तो किसिमको विचार नै वास्तवमा अन्वेषण तथा नवप्रवर्तनका लागि बिउ हो । उनले जुन बिउ रोपेका छन्, त्यो हुर्किसकेको छैन ।

उनले रोपेको बिउ अब २०, ३० वर्षमा कसरी ठूलो जङ्गल बन्छ भनेर त हेर्न बाँकी नै छ । तर अब अहिले नै बिउ रोपेको भएन, बिउ नै देखिएन भनेर सानो-सानो कुरामा झगडा गर्नु राम्रो हाेइन । आविष्कारलाई हेर्ने हाम्रो यो दृष्टिकोण नै भएन । 

वास्तवमा पुन आफैं पनि — उनले माने पनि, नमाने पनि — एउटा ठूलो फण्डरेजिङ मसिन हुन् । उनले तपाईं हाम्रो करको पैसा चलाएर काम गरेका छैनन् । आफ्नै बलबुँतामा अरुले खुशी र सन्तुष्टिले दिएको दान दक्षिणामा यत्रो जग खडा गरेर सञ्चालन गरिरहेका छन् ।

दान दक्षिणा दिने कुरा मानिसको खुशी, आत्मसन्तुष्टि र जाेखिमसँग जोडिने कुरा हो । मैले पाँच हजार दिएँ भने मेरो खुशी र रिस्कमा दिएको हो — कसैले कन्चटमा बन्दुक राखेर मसँग मागेको छैन । स्वेच्छाले यसरी दिएको दानमा पनि देशी र विदेशी नेपालीहरु नवप्रवर्तन र अन्वेषणप्रति झुकाव र आस्था राख्छन् भन्ने कुरा देखिन्छ ।

यहाँ मन्दिर बनाउनलाई मानिसहरु दान गर्छन् । तर एउटा मान्छेले कीर्तिपुरमा बसेर केही राम्रै गर्दैछ भन्ने विश्वासको आधार बनाएर उनले जसरी पैसा संकलन गरिरहेका छन्, त्यो फण्ड रेइजिङको पृथक टेक्निक पनि हो । 

फेरि केन्द्रमा पुन एक्ला छैनन् । मैले जानेसम्म केन्द्रको आफ्नै बोर्ड छ । महाबिर पुन त्यहाँको पब्लिक फेस हुन् — स्टिभ जब्स उनको कम्पनीको पब्लिक फेस भएजस्तै । यसैले एकल व्यक्ति हावी भो भनेर भन्न मिल्दैन ।

अर्काको पैसाले चल्ने संस्था पारदर्शी हुनैपर्छ । केन्द्रको बोर्ड या सञ्चालक समितिले यो कुरा पक्कै बुझेकै होला । पुन मात्र एक्लै हाबी भए भनेर इर्ष्या, डाहा गर्ने धेरै होलान् । तर नेपालमा नवप्रवर्तन कामको लागि खट्ने पुनजस्ता इन्नोभेसनका “धर्मप्रचारकहरु” भएन भने यो लगायत अरु आविष्कार केन्द्रका लागि बाटो सजिलो हुँदैन भन्ने मलाई लाग्छ । 

कतिपयले फेरि आविष्कार केन्द्रको कामको गति र प्रणालीमाथि धारे हात लगाउँछन् । तर यो परिपाटी एकदमै गलत हो । नेपालका कतिपय विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले टेस्ट-ट्युब, बिकर पनि देखेका हुँदैनन् ।

एउटा गतिलो साइन्स ल्याब देख्ने कुरा त परकै होस् । यदि उनीहरु आविष्कार केन्द्रमा आएर आफ्नो हिसाबले आफूलाई सुहाउँदो प्रयोगशाला बनाउँछन् भने त्यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नै छैन ।

यो मैले ८ कक्षामा सिकेको कुरा फेरि यहाँ पनि यही सिकाउँछ भनेर आलोचना गर्नुपर्दैन । किनभने नेपालमा सबैको सिकाई यात्रा फरक छ, अनि सबैलै पढ्नलाई, वैज्ञानिक प्रयोग गर्नका लागि एकैप्रकारको राम्रो वातावरण सबैतिर पाएका हुँदैनन् ।

उनीहरु केन्द्रमा आएर आफूखुशी आफ्नै मेहनतमा केही बनाउन चाहन्छन् भने यसरी खिसी गर्नु, तिनलाइ ‍छिर्के लगाउन खोज्नु तुच्छ काम हो । 

यी तमाम अनावश्यक र अधैर्यी प्रश्नहरुमाझ हामीहरुले उठाउनुपर्ने वास्तविक प्रश्न कतै दबेर बसेको मलाई महसुस हुन्छ । महाबिर पुनले केन्द्र सुरु गरेको तीन-चार वर्ष भइसक्यो । यसबीच अन्वेषण र नवप्रवर्तनलाई लिएर हाम्रो मुलुकमा रुचि र प्राथमिकता कति धेरै रहछ भनेर पनि हामीले बुझिसकेका छौं ।

तर महाबिर पुनले यस्तो गर्न सक्छ भने अन्य ठाउँ र क्षेत्रमा हामीले किन यस्तो सुरु गर्न नसक्ने भन्ने कुराको आत्मसमिक्षा र स्वयमलाई प्रश्न हामीले गर्न सकिरहेका छैनौं । मान्छेहरुलाई अन्वेषण र नवप्रवर्तनमा चासो रहेछ भने त अब अरु महाबिर पुन पनि जन्मनुपर्‍यो भन्ने कुरातिर हाम्रो चासो बढ्नुपर्ने हो । 

यसका लागि महाबिर पुनले पनि यसलाई विस्तार गर्न अग्रसरता देखाउनुपर्‍यो । अझ त्यसलाई लोकलाइज्ड र स्पेसलाइज्ड गरेर कसरी लैजान सकिन्छ देशैभरी भनेर महाबिर पुनले अग्रसरता अब लिनपर्‍यो भन्ने चासो हो मेरो । त्यो कुरामा उनलाई प्रश्न गर्न सकिन्छ । तर नाममा यो मिलेन, यो गरेनौ, त्यो गर भनेर भन्नुचाहिँ एकदमै सानो र उर्जामात्र खेर जाने किच-किच जस्तो लाग्छ ।

सानो-सानो कुरा निर्माण गर्दा पनि हामीले यो गर्‍यौं, हामीले त्यो गर्नुपर्छ भन्ने हौसला आविष्कार केन्द्रले दिएको छ । नैराश्यता नै नैराश्यताले भरिएको देशमा कसैले आएर गरिरहेछ । त्यो पनि तपाईं हाम्रो करको पैसा नलिई नौलो आशा दिन्छ भने अरु केही गर्न नसके पनि भविष्य हेरेर ताली बजाउनबाहेक के गर्न सकिन्छ । त्यसैले अब प्रश्न यदि यो राम्रो छ भने किन अरु ठाउँमा फैलिएन भन्ने कुरामाथि गर्नुपर्छ । 

तर तिम्रो नाम आविष्कार हो, खै त आविष्कार गरेको भनेर खिसी गर्नु भनेको चाहिँ अल्ट्रा-म्याराथोनमा दौडिरहेको मान्छेलाई यस्तो ढिला कुदेर कहिँ पुगिँदैन भनेर बीचमा छिर्के लगाएर हताेत्साही गर्नु जस्तै हो । 

केन्द्रले वास्तवमा अर्को पुस्ताको लागि उत्तरदायित्व बहन गरेको हो । केन्द्रले २१ देखि ३५ वर्ष सम्मको अर्को पुस्तामाथि लगानी गरेर, यस्तो सुविधा पनि दिन्छौं, नयाँ कुरामा लाग भनेर प्रोत्साहन गरिरहेको छ । यसैले जसले सीपमा शिक्षामा नयाँ नयाँ काममा अर्को पुस्ताका लागि लगानी गरिरहेका छन्, तिनलाई त हामीले बधाई पो दिनपर्छ ।

(लेखकलाई फेसबुकमा फलाे गर्न यहाँ क्लिक गर्नुहाेस् ।)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१