close

१४ सहरमा डेटा सेन्टर निर्माणका लागि एयरटेलसँग वर्ल्डलिङ्कको सहकार्य

टेकपाना टेकपाना

बैशाख ६, २०७८ १४:९

१४ सहरमा डेटा सेन्टर निर्माणका लागि एयरटेलसँग वर्ल्डलिङ्कको सहकार्य

काठमाडौं । निजी क्षेत्रको ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्सले देशका १४ सहरमा डेटा सेन्टर निर्माणको काम अघि बढाएको छ । यसका लागि कम्पनीले एयरटेलसँग सहकार्य गरेको छ ।

कम्पनीले यसअघि गएको माघमा पत्रकार सम्मेलन गर्दै कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको लगानीमा तीन वर्षभित्र देशका १४ स्थानमा डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको थियो ।

यसअन्तर्गत काठमाडौंमा ३ मेगावाट र ३५० र्‍याकसहित अन्तर्राष्ट्रिय मान्यताप्राप्त टियर-फोर पावर प्रणालीमा डिजाइन भएको तथा टियर थ्री प्रमाणीकरणसहितको सबैभन्दा ठूला डेटा सेन्टर निर्माण गर्ने योजना कम्पनीको रहेको छ ।

अन्य बाँकी डेटा सेन्टरहरु मध्यम र सानो आकारको टियर टु प्रमाणीकरण भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार चितवन जिल्लाको भरतपुरमा ५०० किलोवाट पावर भएको डेटा सेन्टर बन्नेछ । भक्तपुर, कास्कीको लेखनाथ, मकवानपुरको हेटौंडा, सुनसरीको दुहबी र पर्साको वीरगञ्जमा २५० देखि ३५० किलोवाट पावर भएको डेटा सेन्टर बन्नेछ ।

त्यस्तै कम्पनीले ढल्केबर, अत्तरिया, भैरहवा, कोहलपुर र सुर्खेतमा १०० देखि २०० किलोवाट पावर भएको डेटा सेन्टर बनाउने छ । यो क्षमताको एउटा डेटा सेन्टर काठमाडौंमा पनि निर्माण गर्ने योजना छ ।

त्यहीअनुरुप कम्पनीले एयरटेलको नेक्ट्रासँग सहकार्य गरेको वर्ल्डलिङ्कका प्रमुख प्राविधिक अधिकृत समित जनले बताए ।

उक्त कम्पनीले तयार पारेको डिजाइन र आवश्यक पूर्वाधारको आधारमा थप प्रक्रिया अघि बढ्ने जनले बताए ।

नेक्ट्रा डेटा सेन्टर निर्माणमा १५ वर्षभन्दा लामो अनुभव भएको कम्पनी हो । यसले विभिन्न सहरहरुमा निर्माण भएका डेटा सेन्टरलाई कनेक्ट गर्ने र स्केलेबल डेटा सेन्टर निर्माणमा काम गर्दै आएको छ ।

त्यतिमात्रै नभएर कम्पनीले विश्वका १५ भन्दा बढी देशमा टेलिकम सेवासमेत उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१