close

टेस्लाको ड्राइभरबिनाको कार दुर्घटना, दुई जनाको मृत्यु

टेकपाना टेकपाना

बैशाख ६, २०७८ १४:४८

टेस्लाको ड्राइभरबिनाको कार दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । एलन मस्ककाे कम्पनी टेस्लाले निर्माण गरेकाे स्वचालित कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकाकाे टेक्ससस्थित वुडल्याण्ड आवासीय क्षेत्रमा साे दुर्घटना भएकाे थियाे ।

प्रहरीका अनुसार दुर्घटनामा परेपछि कारमा आगलागी भएको थियाे । घटनास्थलका प्रत्यक्षदर्शी र भौतिक प्रमाणहरुको आधारमा उक्त कार टेस्लाको स्वचालित कार भएको र दुर्घटनाको समयमा कारभित्र कुनै चालक नभएको पाइएको थियो ।

२०१९ मोडल एस कार स्थानीय समयअनुसार दिनको ११ बजेर २५ मिनेट जाँदा दुर्घटनामा परेको थियो । उक्त समय कार एकदमै उच्च गतिमा कुदिरहेको थियो । र, सडकबाट निस्किएर सय फिट पर गई एउटा रुखसँग ठोक्किन पुगेकाे थियो ।

दुर्घटनामा परी ५९ र ६९ वर्षका दुई पुरुषहरुको घटनास्थलमै मृत्यु भएको हो । ती दुईमध्ये एकजना अगाडिको सिटमा र अर्को पछाडिकाे सिटमा बसेका थिए ।

दुर्घटनाको मुख्य कारण हालसम्म स्पष्ट भइसकेको छैन । नियामकहरुले भने विद्युतीय कारमा प्रयोग हुँदै आइरहेको ब्याट्रीमाथि चिन्ता व्यक्त गर्ने गरेका छन् ।

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले २०२० को आफ्नो प्रतिवेदनमा आपतकालीन रेस्पोन्डर्सका लागि ब्याट्री जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएको थियो ।

ह्यारिस काउन्टी फायर मार्सल्सको कार्यलयका प्रमुख अनुसन्धानकर्ता मिसेल वेस्टनका अनुसार उच्च गतिको अवस्थामा ब्याट्रीहरुमा ‘थर्मल रनवे’ हुने र त्यसले ब्याट्रीभित्र रहेका विभिन्न तत्वबीच अनियन्त्रित सम्पर्क बनाइदिन्छ ।

यस्तै विद्युतीय कार निर्माण गर्ने अर्को कार कम्पनी मित्सुबिसीले पनि थर्मल रनवेले भयानक परिणाम ल्याउने चेतावनी दिएको छ ।

यसले आगलागी, विस्फोट, आकस्मिक सिस्टम फेल, उपकरणको क्षतिदेखि ज्यानको समेत जोखिम उत्पन्न गराउने कम्पनीको चेतावनी छ । 

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१