close

अब ठूलो स्क्रिनमा नेपाली फिल्म हेर्न पाइने, अमेजन फायर टिभीमा जोडियो ‘सिनेमाघर’

टेकपाना टेकपाना

बैशाख ८, २०७८ १६:५१

अब ठूलो स्क्रिनमा नेपाली फिल्म हेर्न पाइने, अमेजन फायर टिभीमा जोडियो ‘सिनेमाघर’

काठमाडाैं । पछिल्लो समय विश्वमा ओभर दी टप (ओटीटी) लोकप्रिय हुँदैछ । सीमित पैसामा घरमै बसेर विश्वमा बनेका जुनसुकै भाषाका फिल्म हेर्न सकिने भएकाले ओटीटी प्लेटफर्मतर्फ दर्शकको आकर्षण बढ्दो छ ।

डिजिटल प्लेटफर्मले निर्मातालाई समेत ठूलो राहत दिएको छ । कोरोना महामारीपछि नेपालमा पनि डिजिटल प्लेटफर्मको विकास भइरहेको छ । यसमध्ये एक हो, ‘सिनेमाघर’ एप ।

अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समूहले सुरु गरेको यो प्लेटफर्ममा ५ सय तिरेर वर्षभरी नेपाली फिल्म, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, शर्ट मुभिज हेर्न पाइने सुविधा छ र विस्तारै अरु चलचित्र पनि थपिदै जाने बताइएको छ ।

सस्तोमा फिल्मसहित अन्य सामाग्री हेर्न पाइने भएकाले सिनेमाघर दर्शकको रोजाइ बनेको छ । दिन प्रतिदिन यो एप डाउनलोड गर्ने दर्शकको संख्या बढिरहेको सञ्चालक खरेल बताउँछन् ।  यसैबीच, विश्वभर ५ करोडभन्दा बढी डिभाइस रहेको अमेजन फायर टिभीमा पनि ‘सिनेमाघर’ को एप उपलब्ध हुने भएको छ ।

यसबारेमा सञ्चालक खरेलले भने, ‘अमेजन फायर टिभी’ को जति पनि स्मार्ट डिभाइसहरु छन् त्यसमा अब ‘सिनेमाघर’ चल्नेछ । जसले गर्दा ठूलो स्क्रिनमा फिल्म हेर्न सजिलो हुनेछ । यसबाट हाम्रो ग्राहक बढ्नेमा पनि विश्वस्त छौं ।’ 

भारतसँगै अमेरिका, यूरोप, अष्ट्रेलिया लगायतका देशमा निकै पपुलर रहेको अमेजनको फायर डिभाइसमा नेपालका थोरै मात्र एप्लिकेशन उपलब्ध छन् । विदेशमा बस्ने धेरै नेपालीले अमेजन टिभीको स्मार्ट डिभाइस प्रयोग गर्ने भएकाले अब ‘सिनेमाघर’ को ग्राहक बढ्ने सञ्चालक खरेलको भनाइ छ ।

हाल यो एपमा ‘डमारुको डन्डीबियो, कोहलपुर एक्सप्रेस, सरौतो, मंगलम, बबी, ब्लाइन्ड रक्स, कथा काठमान्डू’ लगायतका फिल्म हेर्न सकिन्छ । 

यसअघि नै ‘सिनेमाघर’ एन्ड्रोइड टिभी, एन्ड्रोइड फोन तथा आईओएस सिस्टमका मोबाइल र ट्याब्लेट लगायतका स्मार्ट डिभाइसमा उपलब्ध थियो भने क्रोमकास्ट प्रविधिको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिने सुविधा थियो । र, अब छिटै नै अफलाइन डाउनलोडको सुविधा पनि सुरु हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१