close

सस्तोडिलमा आईएमई ग्रुपको लगानी

टेकपाना टेकपाना

बैशाख १०, २०७८ १५:४६

सस्तोडिलमा आईएमई ग्रुपको लगानी

काठमाडौं । नेपालको एक ठूलो व्यावसायिक समूह आईएमई ग्रुप समेत ईकमर्स व्यवसायमा प्रवेश गरेको छ । अनलाइन शपिङ प्लेटफर्म सस्तो डिलमा लगानी गर्दै ग्रुपले अनलाइन शपिङको क्षेत्रमा हात हालेको हो ।

नेपालको एक प्रमुख अनलाइन शपिङ प्लेटफर्मको रुपमा उदाएको सस्तोडिलमा आईएमई ग्रुपले ठूलो मात्रामा लगानी गरेको जनाइएको छ । सस्तो डिलको फण्ड राइजिङ कार्यक्रम अन्तर्गत कम्पनीले आईएमई ग्रुपबाट लगानी भित्र्याएको जनाइएको छ ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले सस्तोडिल पछिल्लो समय नेपालमा सबैले सुन्ने स्टार्टअप कम्पनी भएकाले त्यसको विस्तारमा सहकार्य गरेको बताए । उनले सस्तोडिलसँगको सहकार्यले आईएमई ग्रुपको प्रोटफोलियोमा पनि महत्वपूर्ण अर्थ राख्ने अपेक्षा रहेको बताए ।

ग्रुपले कति लगानी गरेको हो भन्ने विषयमा भने स्पष्ट जानकारी बाहिर आएको छैन । सस्तोडिलका संस्थापक अमुन थापाले सामाजिक संजालर्फत आईएमई ग्रुपसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

उनले भनेका छन्, ‘सस्तोडिलको विकास योजनामा आईएमई ग्रुपको सहकार्य हाम्रो लागि महत्वपूर्ण हुनेछ । ग्रुपको पूर्वाधार, ब्राण्ड र देशभर रहेको उपस्थितिबाट पनि सस्तोडिललाई धेरै राम्रो हुनेछ ।’

यस किसिमको लगानीले नेपालको ईकमर्स ईकोसिस्टममा थप नयाँ आयाम ल्याउन मद्दत पुग्ने उनले बताएका छन् । यसका साथै ग्रुपको लागनीले सस्तोडिललाई देश तथा विदेशमा विभिन्न व्यवसायमा काम गर्न प्रोत्साहन मिलेको समेत उनले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१