close

टेलिकमको डेटा, भ्वाइस र एसएमएस प्याक अब खल्ती वालेटबाटै लिन सकिने

टेकपाना टेकपाना

बैशाख १३, २०७८ १२:२

टेलिकमको डेटा, भ्वाइस र एसएमएस प्याक अब खल्ती वालेटबाटै लिन सकिने

काठमाडौं । नेपाल टेलिकमको डेटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेटबाट किन्न सकिने भएको छ । यतिसम्म कि तपाईंले खल्ती एपबाटै अरूको मोबाइल नम्बरमा पनि डेटा पठाउन सक्नुहुन्छ ।

त्यसका लागि खल्ती एपको होमस्क्रिनमा रहेको ‘डेटा प्याक’ भित्र गएर आफूलाई पायक पर्ने प्याक छनौट गरेर खरिद गर्न सकिने छ । यसरी नेपाल टेलिकमको विभिन्न प्याकको शुल्क कति पर्छ भनेर सहजै थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकम र खल्ती डिजिटल वालेटबीच हालै भएकाे सम्झौतापत्रमा नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे ।

खल्तीका सहायक प्रबन्धक भूर्तेल ग्राहकको आवश्यकता बुझी नेपाल टेलिकमको डेटा प्याकलाई मोबाइल एपमै ल्याएका बताए ।

‘अब ग्राहकले आफ्नो मात्र नभई परिवार तथा साथीहरुका लागि पनि प्याक खरिद गरिदिन सक्ने छन्,’ उनले भने, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेलाई र डायल गर्नुपर्ने विभिन्न कोडले गर्दा झण्झट मान्नेहरूलाई समेत सजिलो भएको छ ।’

नेपाल टेलिकमका १२ देखि ३ हजार रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१