close

आईओएस १४.५ सार्वजनिक, अब मास्क लगाएरै आईफोन अनलक गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १४, २०७८ १०:४९

आईओएस १४.५ सार्वजनिक, अब मास्क लगाएरै आईफोन अनलक गर्न सकिने

काठमाडौं । एप्पलले आईओएस १४.५ र आईप्याड १४.५ सार्वजनिक गरेको छ । एप ट्रयाकिङ र मास्क लगाएको समयमा पनि सहजै आईफोन अनलक गर्न सकिने प्रविधिका साथ आईओएस र आईप्याडको नयाँ भर्सन सार्वजनिक भएको हो ।

एप्पलले केही हप्ताअघि आईओएस र आईप्याडको बेटा भर्सन केही प्रयोगकर्तामाझ उपलब्ध गराएको थियो । अब भने सबै प्रयोगकर्तालाई नयाँ भसर्न उपलब्ध भएको कम्पनीले जनाएको छ ।

नयाँ संस्करणमा विभिन्न प्रयोगकर्तामैत्री फिचरका साथै प्राइभेसी कन्ट्रोलमा उल्लेख्य परिवर्तन गरिएको छ ।

कम्पनीका अनुसार यो नयाँ भर्सन आईफोनमा आफैं अपडेट हुनेछ । यदि नभएको खण्डमा पनि प्रयोगकर्ताले सेटिङमा गएर अपडेट गर्नसक्ने जनाइएको छ ।

यसका लागि सुरुमा सेटिङ एप खोल्नुहोस् । त्यसपश्चात जनरलमा क्लिक गरी सफ्टवयेर अपडेटमा क्लिक गरी त्यहाँ उपलब्ध नयाँ भर्सन अपडेट गर्न सक्नुहुनेछ ।

के छ नयाँ ?

नयाँ भर्सनको आईओएस र आईप्याडमा नयाँ फिचरको रुपमा एप ट्रयाकिङ ट्रान्सप्यारेन्सी फिचर उपलब्ध गराइएको छ । यसमार्फत प्रयोगकर्ताले विभिन्न विज्ञापनहरुले एप तथा वेबमार्फत गर्ने ट्रायकलाई रोक्न सक्नेछन् ।

यो ट्र्रयाकिङ सिस्टम अन गरेसँगै कुनै एपले प्रयोगकर्तालाई ट्रयाक गरिरहेको खण्डमा उक्त सिस्टमले जानकारी दिने बताइएको छ ।

एप्पलको यो नयाँ फिचरको विषयलाई लिएर फेसबुकले विरोध गरिरहेको छ । भने, विज्ञापन दाताहरूले पनि आम्दानी घट्ने बताएका छन् ।

त्यस्तै आईओएस १४.५ मा नयाँ फिचरको रुपमा सिरी भ्वाइस चेन्ज थप गरिएकाे छ । यसअघिसम्म एउटै भ्वाइसलाई डिफल्ट गर्नुपर्ने अवस्थाबाट परिवर्तन गरेर कम्पनीले दुई वटा भ्वाइससम्म राख्न मिल्ने जनाएको छ ।

यसका साथै मास्क लगाएको समयमा एप्पल वाचमार्फत आईफोन खोल्न सकिने फिचर ल्याएको छ । वाचओएस ७.४ भन्दा माथिका भर्सनका वाचमा यो फिचर उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१