close

आईफोनमा हालसम्मकै विवादित फिचर

टेकपाना टेकपाना

बैशाख १४, २०७८ १५:२२

आईफोनमा हालसम्मकै विवादित फिचर

काठमाडौं । एप्पलले हालसम्मकै सबैभन्दा विवादित फिचर आईओएसमा सार्वजनिक गरेकाे छ । उक्त फिचरलाई फोनमा डाउनलोड गरेता पनि प्रयोगकर्ताहरुले आफ्नो फोनमा खासै ठूलो परिवर्तन नपाउने बताइएको छ ।

एप्पलले आईफोनमा ल्याएकाे आईओएस १४.५ अपडेटसँगै ‘एप ट्रयाकिङ ट्रान्सपरेन्सी’ अर्थात् एटीटी फिचर पनि ल्याएकाे छ । प्रयोगकर्ताले आफ्नो डिभाइसहरुमा विभिन्न एप स्विच गरिरहँदा विज्ञापनदातालाई ट्रयाक गर्न दिन एप्पलले यो फिचर ल्याएको हो ।

एप्पलले यो एपको मद्दतबाट प्रयोगकर्ताको गोपनीयता सुरक्षालाई अझ बलियो बनाउने तर्क गरेको छ । उक्त एप फोनमा इन्स्टल गरिसकेपछि एउटा डायलग बक्स देखिन्छ । उक्त बक्सले प्रयोगकर्तालाई ट्रयाकिङबाट बाहिर बस्ने कि ट्रयाक हुन दिने भन्ने दुई विकल्प दिन्छ ।

यदि उनीहरुले ट्रयाकिङबाट बाहिर बस्ने विकल्प चयन गरे भने उनीहरु एडबाट खासै ट्रयाक हुँदैनन् ।

तर यो फिचर सार्वजनिक हुनुअघि नै निकै विवादित बन्यो, जसकारण यसको सार्वजनिक हुने मिति नै महिनौं पछि सर्न पुग्यो । यति मात्र होइन, यही एन्टी ट्रयाकिङ फिचरकै कारण एप्पलका सीईओ टिम कुक र फेसबुकका सीईओ मार्क जुकरबर्गबीच सार्वजनिक रुपमै तनाव उत्पन्न भयो ।

त्यसो त यो फिचरलाई लिएर अहिले सिङ्गो विज्ञापन उद्योग नै एप्पलको विरोधमा छ । तर फेसबुक भने जोरशोरका साथ एप्पलको पछाडि परेको देखियो । फेसबुकले त एप्पलले प्रयोगकर्ताहरुको गोपनीयतालाई संरक्षण गरेको जस्तो मात्र देखाएर आफ्नै नाफा बढाइरहेको आरोपसमेत लगायो ।

तर फिचरको विषयलाई जति विवादित बनाए पनि फेसबुकले आईओएस भर्सनको आफ्नो एप चलाउनलाई एप्पलको नियमको पालना गर्नुपर्नेछ ।

एप्पलका सफ्टवेयर प्रमुख क्रयाग फ्रेडेरिकले गत नोभेम्बरमा यो नयाँ फिचर गोपनीयता संरक्षणप्रतिको एप्पलको लामो समयदेखिको प्रतिबद्धताको एउटा हिस्सा भएको बताएका थिए ।

यति मात्र होइन, सोही अपडेटमा आईओएसमा अन्य नयाँ फिचर पनि आउँदै छन् । तीमध्ये मास्क लगाएको बेला घडीबाट आईफोन अनलक गर्ने फिचर पनि एउटा हो । यी फिचरले भने तपाईंको दैनिक जीवनमा निकै ठूलो फरकपना ल्याउन सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१