पब्जी खेलेर नेपाललाई चिनाउँदै ‘ज्यानमारा’ टिम

काठमाडौं । विश्व चर्चित मोबाइल भिडियो गेम पब्जी २०१७ काे मार्चमा विश्वभर सार्वजनिक भएको थियो । सोही वर्षको अन्त्यतिर नेपालमा पनि याे गेम भित्रियाे । विदेशमा जस्तै नेपालमा पनि पब्जी गेम उत्तिकै लोकप्रिय बन्यो, विशेषगरी युवा जमातमाझ ।

झापाका युगिन सम्बाहाम्फे लिम्बु (हाल काठमाडौं) पनि सुरूका दिनमा साथीभाइसँग पब्जी खेल्ने गर्थे । पब्जी नेपालमा भित्रिएको केही महिनामै उनी एमबीए अध्ययनका लागि अष्ट्रेलिया गए ।

अष्ट्रेलिया पुगेपछि त उनी झनै पब्जी खेल्न थाले । युगिन पढाइ र कामपछिको खाली समय सबै पब्जी खेलमै बिताउँथे ।

देश र आफन्तदेखि टाढा विदेशमा बसिरहेको बेला पब्जीमार्फत दाजुभाइ र साथीसँग जोडिन पाउँदा उनलाई नेपालमै भएको महसुस हुन्थ्यो । पब्जी खेलमा उनी यति धेरै रमाउन थाले कि, काम वा कलेजबाट फर्किरहँदा गाडीमा समेत पब्जी नै खेलिहरेका हुन्थे ।

टिमकाे नाम ‘ज्यानमारा’ !

उनी ‘ज्यानमारा स्पोर्ट्स’ को नामबाट ब्याटल ग्राउण्डमा उत्रिन थाले । पब्जी गेमिङ तथा ईस्पोर्ट्समा रुचि राख्नेहरुका लागि पक्कै पनि यो नाम नौलो होइन ।

२०१८ तिर बनेको टिमलाई युगिनले ‘ज्यानमारा’ नाम दिए । तर पब्जीमा दर्ता गराउन ज्यानमारा नाम एकदमै आक्रमक सुनियो । गेमको प्रकृतिअनुसार नाम त सुहाउँदाे नै थियो । तर यसको शाब्दिक अर्थ भने हिंसात्मक थियो ।

यसैले गर्दा दर्ता प्रक्रियामै अप्ठ्यारो आउने देखेपछि युगिनले टिमको नाम ‘ज्यानमारा’ बाट ‘जेएम स्पोर्ट्स’ मा परिवर्तन गरिदिए ।

पब्जी गेम खेलिरहँदा युगिनको समय रमाइलोमा मात्र बितिरहेको थिएन । उनले आफूजस्तै पब्जी खेलमा लाग्नेहरुको जमात पनि फेला पारेका थिए । र, त्यसभित्रबाटै एउटा बलियो टिम पनि तयार पारिसकेका थिए ।

पब्जी गेमका स-साना लोकल टुर्नामेन्टहरु आयोजना भइरहन्थे । टिमले दिनहुँ ५/६ वटा टुर्नामेन्ट खेल्न थाल्याे र जित्न पनि थाल्याे ।

यसैबीच नेपालमा पहिलोपटक त्यतिबेलाकाे सबैभन्दा ठूलो एक लाख राशीको टुर्नामेन्ट आयोजना भयो । युरोहब एजुकेसन कन्सल्टेन्सीले आयोजना गरेको उक्त टुर्नामेन्टमा युगिनको टिम फाइनलसम्म पुग्यो ।

युगिन अष्ट्रेलियामै पढाइ र काममा व्यस्त हुन्थे । यसो हुँदा खेलमा पर्याप्त समय दिन सकिरहेका थिएनन् । दाजुभाइले मात्र टिमलाई अगाडि बढाउन नसकेपछि नयाँ खेलाडी खोज्दै जोड्न थाले ।

जेएम स्पोर्ट्समा गनर, जेरो फेयर, ह्वायङजस्ता खेलाडीहरु जोडिन आइपुगे । नयाँ खेलाडीहरुलाई सब्सटिच्युटको रुपमा जोडे पनि आफ्नो व्यस्तता र नयाँ खेलाडीहरुको आक्रमक प्रदर्शनीले युगिन आफैं सब्सटिच्युट बन्न थाले ।

यद्यपि ‘ज्यानमारा’ को ज्यान भने उनी नै थिए । अष्ट्र्लियामै बसेर टिमलाई व्यवस्थापन गर्ने, कमाण्डिङ गर्ने सबै काम उनले नै गर्थे । कुन गेममा कुन खेलाडीले कुन पाेजिसनमा खेल्ने उनैले तय गर्थे ।

टिम बनेपछि दर्ताका कुराहरु त आइहाल्ने नै भए । तर नेपालमा उनको टिम अहिलेसम्म पनि दर्ता हुन सकेको छैन । केही समयअघि मात्र फेसबुक पेज रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टरले अर्को नेपाली पब्जी टिम डीआरएसको स्वामित्व लिएपछि त्यो टिम दर्ता भएको खबर त आयो ।

तर यस क्षेत्रमा लागिरहेका युगिनजस्ता धेरै खेलाडी तथा टिम म्यानेजरलाई न त दर्ता हुने संस्था न त दर्ता प्रक्रिया नै थाहा छ । पहिलाे कुरा त नेपालमा हालसम्म ईस्पोर्ट्स केमा, कुन प्रक्रियाबाट दर्ता हुने कुनै स्पष्ट नीति नै छैन ।

पब्जी टुर्नामेन्टहरु खेलिरहेका कारण पब्जीको प्लेटफर्ममा भने यी टिमहरु दर्ता हुने गरेका छन् । पब्जीले दक्षिण एसियाली क्षेत्रका लागि आउटसोर्सिङ गरेको नडविन गेमिङ कम्पनीमा यी टिमहरु दर्ता भएका हुन्छन् ।

नडविनले नै क्षेत्रीय र विश्वस्तरीय खेलका लागि टिमहरुलाई दर्ता गराउने तथा इन्भिटेसन पठाउने काम गर्दछ । नडविन गेमिङ भारतीय कम्पनी हो ।

‘पब्जीकै टिम भनेर दर्ता गरिदिने नेपालमा कुनै संस्था छैन,’ युगिन भन्छन्, ‘उहाँहरुले (डीआरएस) अर्कै तरिकाले दर्ता गर्नुभएछ । हामीलाई चाहिँ इभेन्ट कम्पनीको रुपमा दर्ता गर्ने सल्लाह अरुले दिएका छन् । तर ईस्पोर्ट्स भनेरै दर्ता गर्न नेपालमा त केही व्यवस्था छैन ।’

२०२० को स्प्रिङ स्प्लिटका लागि पीएमसीओ अर्थात् ‘पब्जी मोबाइल क्लब ओपन’ राउण्ड सुरु हुँदै थियो । (पब्जी मोबाइल टुर्नामेन्ट लिग वर्षमा दुई पटक ६/६ महिनामा स्प्रिङ र फल स्प्लिटमा आयोजना हुने गर्दछ ।)

पीएमसीओ भारतबाहेकका अन्य दक्षिण एशियाली मुलुकहरु नेपाल, श्रीलंका, माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुने क्षेत्रीय स्तरको राउण्ड हो ।

यी गेमलाई पब्जीले आउटसोर्स गरेको नडविन गेमिङ कम्पनीले आयोजना गर्दछ । २०२० को समर स्पिलिटमा ज्यानमारा पनि सहभागी बन्यो । क्वालिफायर राउण्डबाट पनि टिम चयन भयो ।

त्यसअघिको सिजनहरुमा पनि ज्यानमाराले पीएमसीओमा सहभागी हुन चाहेको थियो । तर टिममा तीनजना मात्र भएको हुँदा दर्ता हुन सकेको थिए । २०२० को स्प्रिङ स्प्लिटमा भने उसको सपना पुरा भयो ।

पीएमसीओको राउण्ड ३२ बाट सेलेक्ट भई राउण्ड २४ हुँदै  पीएमसीओको फाइनल राउण्डसम्म टिम पुग्यो । अब पीएमसीओबाट शीर्ष ६ टिम चयन भएर पीएमपीएल अर्थात् प्रो लिगमा जाँदै थियो । प्रो लिग पनि त्यसै वर्षदेखि पहिलोपटक खेलाउन सुरु भएको हाे ।

युगिन अष्ट्रेलियामा थिए । पीएमसीओसम्म खेलमा उतारचढाव भइरहन्थ्यो । मुख्य समस्या डिभाइसको थियो । खेल्नलाई आईओएसको डिभाइस जत्तिको राम्रो अरु हुँदैन थियो । तर सबैसँग आईफोन थिएन ।

आफू अष्ट्रेलियामा भएका कारण साथीभाइसँग सरसापट गरी उनले पनि डिभाइस किन्नमा आर्थिक सहयोग गरिरहेका थिए भने कति खेलाडीहरुले साथीभाइबाट डिभाइस मागेर पनि खेलिरहेका थिए ।

पीएमसीओ भरी गेम राम्रो भइरहेको थियो । ‘ज्यानमारा’ टिमसँग जेएम गनर, टिचल्ल, ह्वायङ, सोनिम र नाङ जस्ता पाँच खेलाडी थिए ।

‘पीएमसीओको फाइनल खेल दुई दिनको हुन्छ । शीर्ष १६ बाट ६ टिम चयन गरी पीएमपीएलमा लिएर जान्छ,’ युगिन भन्छन् ।

फाइनल खेलको पहिलो दिन ‘ज्यानमारा’ शीर्ष १६ मध्ये १४ नम्बरमा थियो । तर दोस्रो दिन खेलाडी गनरले डिभाइस राम्रो पाए पछि टिम सिधै शीर्ष १४ बाट तेस्रो स्थानमा उक्लियो ।

यसरी ‘ज्यानमारा’ टिमले पीएमपीएलको आगामी खेलका लागि आफ्नो स्थान सुरक्षित गर्‍यो । तब प्रो लिगका लागि एउटा बंगलादेशी टिमबाहेक अन्य सबै पाँचैवटा नेपाली टिम चयन भएका थिए ।

अब पीएमपीएल राउण्डको गेम खेल्न टिमलाई भारत लिएर जानुपर्ने थियो । युगिन अष्ट्रेलियामै एमबीए तेस्रो सेमेस्टरमा अध्ययन गरिरहेका थिए । उनको कमाण्ड र व्यवस्थापनबिना टिम ‘अपाङ्ग’ जस्तै थियो ।

पीएमपीएल टुर्नामेन्ट करिब २५ दिनको हुन्थ्यो । यसैले टिमको आग्रहमा उनी ४५ दिनको विदा लिएर गत वर्ष मार्च ५  मा नेपाल आइपुगे ।

टिम पीएमपीएल राउण्ड खेल्न हैदरावाद त पुग्यो । तर पुगेको दुई/चार दिनमै लकडाउन सुरु भयो । सुरुमा त गेम फिजिकल नै गर्ने भनेर नडविनले सबै खेलाडीहरुलाई कुरायो ।

होटलमा खान बस्नको सुविधा दिएको थियो । तर लकडाउन खुल्ने छाँटकाँट नदेखेपछि डेढ महिनामा गेम अनलाइनमै सम्पन्न भयो ।

प्रो लिगमा पनि शीर्ष २० टिमबाट शीर्ष १६ टिमलाई चयन गरेर लगिन्थ्यो । सबै नेपाली टिमका लागि प्रो लिग पहिलो अनुभव थियो । पीएमपीएलको पहिलो राउण्डमै ‘ज्यानमारा’ टिम बाहिरियो ।

यसरी बाहिर गएर पहिलोपटक प्रो लिग खेलिरहँदा टिमले धेरै नयाँ अनुभव बटुल्यो ।

‘बाहिरका सबै टिमको आ-आफ्नै स्पोन्सर थिए । आउनेबित्तिकै नयाँ डिभाइस पाउँथे । आफ्नै जर्सी, स्यालरी र बुटक्याम्प पनि थियो,’ युगिन सुनाउँछन्, ‘तर हामीसँग कुनै त्यस्तो सुविधा नै थिएन । बुटक्याम्प त नेपाली टिमले नै पहिलोपटक सुन्दै थियो । ग्रुमिङ नै फरक भइसकेपछि त लेभलमा अवश्य फरक देखिहाल्छ नि ।’

त्यसबेला शीर्ष २० राउण्डबाट छानिएर नेपालका दुई टिम ‘एलिमेन्ट्रिक्स’ र ‘एक्सट्रिम’ मात्र शीर्ष १६ को राउण्डमा पुगे ।

गेम सम्पन्न भयो । टिम पहिलो राउण्डबाटै बाहिरियो । तर देश फर्कन नाका बन्द भएका कारण टिम हैदरावादमै मार्चदेखि तीन महिनासम्म थुनियो ।

जेठ महिनातिर टिम नेपाल फर्कियो । लकडाउन अझै पनि सहज भइसकेको अवस्था थिएन । झापामा पुर्ख्यौंली घर भएका कारण टिमलाई केही दिन राख्न सजिलो भयो । तर नेपाल फर्किदाँ टिमलाई ग्रुमिङ गरेर लेभलअप गर्नुपर्छ भन्ने कुरा उनले मनमा लिइसकेका थिए ।

४ महिना भारतमै बितिसकेको थियो । अर्को फल स्प्लिटको पब्जी टुर्नामेन्ट सुरु हुन दुई महिना मात्र बाँकी थियो । त्यस समयसम्म टिमको सबै जिम्मा उनले नै लिएका थिए । एउटा फ्ल्याट भाडामा लिएर भए पनि बुटक्याम्प सञ्चालन गर्ने निर्णयमा उनी पुगे ।

पीएमसीओ जितेको केही पुरस्कार राशी र स-साना स्थानीय टुर्नामेन्ट खेल्दाको पैसा धेरथोर उनीहरुको साथमा थियो ।

त्यसैबीच भारतको भिटीएन स्पोर्ट्स नामको कम्पनीले ‘ज्यानमारा’ टिमसँग स्पोन्सरसिपको कुरा चलायो । अपर्याप्त संसाधनमा पनि पीएमसीओबाट पीएमपीएलसम्म पुग्दा विश्वले ज्यानमारको स्तरलाई आँकलन गरिसकेको थियो ।

यसैले पैसा भएको तर, खेलाडी नभएको भारतकाे भीटीएन स्पोर्ट्सले युगिनसँग स्पोन्सरसिपको लागि कुरा चलायो । ‘हामीसँग पीएमसीओको इन्भिटेसन स्लट थियो । यसैले उनीहरुले हामीमाथि लगानी गर्न चाहे,’ उनले भने ।

युगिन लिम्बु

पब्जी गेमिङमा नडविन गेमिङले प्रदान गर्ने इन्भिटेसन स्लट एकदमै महत्वपूर्ण हुन्छ । पीएमपीएल पुगिसकेको टिमले अर्को सिजनमा क्वालिफायर राउण्डबाट खेल्न पर्दैन । उनीहरुसँग पीएमसीओको डाइरेक्ट इन्भिटेसन स्लट हुन्छ ।

यी इन्भिटेसन स्लट ‘गुडविल’ र ‘ट्रेडमार्क’ जस्तै हो । प्रायोजकहरु यिनै स्लटमाथि लगानी गर्न चाहन्छन् । अन्यथा जसले पनि जुनसुकै समय टिम त तयार गर्न सक्छ, तर स्लट पाउन मेहनत गर्नुपर्छ ।

तर पीएमसीओको स्लट हुनेले पनि अर्कोपटक पीएमसीओ राउण्ड हारे त्यो स्लट गुमाई पुन : क्वालिफाइङ राउण्डबाटै गेम सुरु गर्नुपर्दछ । ‘ज्यानमारा’सँग त्यही पीएमसीओको स्लट थियो ।

भीटीएन स्पोर्ट्सले स्पोन्सरको कुरा त ल्यायो तर, कम्पनी दर्ता नभएका कारण आधिकारिक सम्झौता गर्ने कुनै आधार नै थिएन । टिमका सदस्यहरुलाई बिना स्यालरी र आवश्यक ग्रुमिङबिना यसरी घोटाइरहेको अवस्थामा भीटीएनको प्रायोजनलाई स्वीकार्नबाहेक अन्य विकल्प पनि युगिनसँग थिएन ।

तब भीटीएनले उसलाई डिभाइस, बुटक्याम्प खर्च र खेलाडीहरुलाई तलब दिने बाचा गर्‍यो । करारमा एकजना खेलाडीलाई ३० हजार भारतीय रुपैयाँ तलब दिने भनिएको थियो, जुन नेपाली ४८ हजार रुपैयाँबराबर हुन्छ । तर एकैपटकमा उनीहरुमाथि भर गर्ने कुरा हुँदैन थियो ।

‘मैले पहिले पैसा पठाउ भनेर भन्दा उनीहरुले पाँच वटा आईफोन डिभाइस किन्ने खर्च पठाइदिए । तब एउटा आईफोनबराबर एक लाख १५ हजार रुपैयाँ गरी सबै पाँच वटा आईफोनको खर्च पठाइदिए । अनि भरोसा हुन थाल्यो,’ युगिन अगाडि भन्छन् ।

‘सम्झौता अनुसार  हामीले जेएमको अगाडि भीटीएन जेमएम एक्स नाम राखेर खेल्यौं । सम्झौतामा जितेको रकमको ४० प्रतिशत उनीहरुलाई दिनुपर्ने करार थियो ।’

उनले बाँकी खर्च भीटीएनसँगकाे सम्झौताअनुसार आफैंले ऋण गरेर खर्च गर्न थाले । बुटक्याम्प खडा गरे । पब्जी मोबाइल गेमिङ टिमको इतिहासमा नेपालको तर्फबाट त्यो पहिलो बुटक्याम्प थियो ।

पछि डीआरएस टिमले पनि बुटक्याम्प खडा गरेको थियो । तर पछि भीटीएनले सम्झौताविपरित खर्च, तलब केही पनि पठाउन छोड्यो । म्यासेजको प्रतिक्रिया पनि दिन छाड्यो ।

नेपालमा स्यालरी सिस्टम पनि पहिलोपटक ‘ज्यानमारा’ले नै सुरु गरेको थियो । जसअन्तर्गत भीटीएनले पहिलो महिनाको १०/१० हजार भारु तलब खेलाडीहरुको नाममा पठाइदिएको थियो । युगिनले धेरैपटक अल्टिमेटम दिए, तर भीटीएनले कुनै प्रतिक्रिया दिएन ।

May be an image of text that says '5 JYAN MAARA'

‘नेपालमा नियम नभएर सम्झौता जुन पायो, त्यही कम्पनीसँग हुँदा यसरी ठगिरहेको हुन्छ,’ युगिन गुनासो गर्छन् ।

नेपाली टिमका लागि स्पोन्सरसिपको कमी र टिम दर्ताको मूर्त प्रणाली नहुँदा यस्तो समस्या आउने उनी बताउँछन् ।

पब्जी टिम लिडरहरुको एउटा भेलामा आफूले अर्को टिमको पनि यस्तै समस्या सुनेको युगिनले सुनाए ।

‘एक सिजन अगाडि सेभेन सिज भन्ने नेपाली टिम थियो । बंगलादेशको कम्पनीले स्पोन्सर गर्छु भनेछ । उनीहरुसँग हामीभन्दा अझ फाइन स्लट थियो । सम्झौता गर्दा खै के-केमा साइन गरायो रे । अहिले टिममा नेपाली खेलाडी खेल्छन्, तर टिमको ओनरमा बंगलादेशीको नाम छ ।’

सेभेन सिजका नेपाली टिम लिडर टीडीपी आरुजसँग हामीले सम्पर्क गर्न चाहँदा उनको वास्तविक परिचय खुल्न नसकेर सम्पर्क हुन सकेन । टीडीपी आरुजले आफ्नो टिमको ओनरसिप नबेचेको दाबी गर्दै विनिङ अमाउन्ट निश्चित प्रतिशत राशी दिने प्रायोजकसँग सम्झौता मात्र गर्दा पनि टिम उसैले लगिसकेको उनले सुनाए ।

स्पोन्सर नभएका टिमहरुको मुख्य आयस्रोत भनेकै टुर्नामेन्टको पैसा हुँदा स्लट महत्वपूर्ण हुने भएकाले टिमले तत्काल नयाँ टिम पनि खडा गर्न सक्दैन ।

हाल ती बंगलादेशी कम्पनीले नडविन गेमिङलाई समेत टिम आफ्नो भएको प्रमाण पेश गरिसकेको अवस्था छ ।

नेपालमा ईस्पोर्ट्सलाई समर्थन गर्नेहरुको कम्युनिटी नभए पनि यस्तो समस्या भएको र उनीहरुको हक हितको लागि बाहिर कुरा नउठेको युगिनको ठम्याई छ । उनी हाल आफू टिम व्यवस्थापनसँगै कम्युनिटी निर्माणका लागि पहल समेत गरिरहेको बताउँछन् ।

नेपालमा ईस्पोर्ट्सबारे खेलाडीबाहेक कुनै सराेकारवालाहरुलाई पनि यसबारे राम्रो जानकारी नभएको प्रस्टै देखिन्छ ।

केही समयअघि डीआरएसको स्वामित्व खरिद गरी आधिकारिक रुपमा दर्ता गर्दा पब्जी गेमिङको विषय थोरै हाइपमा आएजस्तो भएको थियो ।

तर यसअघि नै एएसएल अर्थात् एब्रप्ट स्लेयर्स जस्ता टिमलाई एसजी नामको इन्डोनेसियाली कम्पनीले खरिद गरिसकेको छ । हाल एएसएलका खेलाडीहरुले मासिक ५/६ सय डलर अर्थात् ७०, ८० हजार नेपाली रुपैयाँ तलब खाइरहेको रहेका छन् ।

विस्तारै अन्तर्राष्ट्रिय कम्पनीहरु पनि ईस्पोर्ट्सकाे स्कोप र नेपाली खेलाडीहरुको क्षमतालाई पहिचान गरी नेपाल छिरिरहेको युगिन बताउँछन् । पब्जीले पनि नेपाली टिमको गेमिङ र नेपाल पब्जीको सम्भावित बजार हो भनेर यस पटकदेखि पीएमसीओको लागि नेपाली क्षेत्र मात्र पनि छुट्ट्याइदिएको छ ।

यसअघि पीएमसीओ खेलमा भारतबाहेकका दक्षिण एसियाली मुलुकसँग प्रतिस्पर्धा गर्नुपर्थ्यो भने यस पटकदेखि भने नेपालमै पीएमसीओको राउण्डको आन्तरिक प्रतिस्पर्धा हुन थालेको छ । यसको अर्थ पब्जीले पनि नेपाली बजारलाई प्राथमिकतामा राखेको बुझ्नुपर्ने युगिन बताउँछन् ।

‘नेपालमा अहिलेको लागि धेरै महत्वपूर्ण भनेको स्पोन्सरसिप नै हो,’ युगिन भन्छन्, ‘खेललाई अगाडि बढाउन हामीलाई मुख्य समस्या डिभाइसको छ । अरु देशका टिमले अहिलेको नयाँ नयाँ लेटेस्ट डिभाइसमा खेल्छन् । हामी पुरानोमै घिस्रिरहेका हुन्छौं । तलब दिन नसक्दा खेलाडीहरु यताउता गइरहन्छन् । एउटा बलियो करार सम्झौता छैन ।’

विदेशमा हरेक टिमलाई स्पोन्सर दिने गरेको, तर नेपालमा त्यो सुविधा नभएको गुनासाे युगिनको छ । ‘हामी पनि अरु खेलाडीले जस्तै ग्लोबल स्टेजमा पुगेर देशको प्रतिनिधित्व गर्छौं । हामीलाई पनि स्पोन्सर गरे आगामी दिनमा पनि हामीले देशको प्रतिनिधित्व गर्थ्यौं,’ युगिन भन्छन् ।

उनी अगाडि भन्छन्, ‘राजनीतिक दललाई त स्पोन्सर गरिरहेका हुन्छन् । हामी त देशको नाम अन्तर्राष्ट्रिय स्तरमा ल्याउने हामीलाई पनि स्पोन्सर गरे हुन्थ्यो नि । ठूला कम्पनीहरुको लागि मासिक ३/४ लाख खर्च गर्नु ठूलो कुरो होइन । त्यति खर्च गरे नेपालमा ईस्पोर्ट्सको इकोसिस्टम बन्ने थियो ।’

हाल आफूहरु बाइक कम्पनी टीभीएससँग कुरा गरिरहेको उनले बताए ।

‘भोलि टीभीएस आए अर्कलाई हाेण्डाले स्पोन्सर गर्छ । यसरी एउटाले अर्कोलाई समर्थन गर्दै गए यो क्षेत्रकै विकास हुन्छ । मेरो टिमलाई नै स्पोन्सर गर्नपर्दैन । स्पोन्सरसिपको संस्कृति बसेर यो सेक्टर विकास भएपछि हामी जस्तो टिम त आफै माथि जान्छ नि,’ युगिनले आशा प्रकट गरे ।

‘पब्जी र ईस्पोर्ट्स कति ठूलो उद्योग हो भनेर मान्छेहरुले बुझिरहेका छैनन् । बाहिरका कम्पनीहरु यहाँ आइसके तर यहाँको कम्पनीहरुले योकुरा बुझेका छैनन् । यसैले स्पोन्सर नपाएर हामी टुर्नामेन्टको पुरस्कारमा निर्भर हुनुपरिरहेको छ । तर वास्तवमा लगानीकर्ताहरुले पैसा लगाएर कमाउने यो पनि एउटा राम्रो क्षेत्र हो ।’

पब्जीको लाइभ गेमिङको स्ट्रिमिङ गरेरै मात्र पनि कति धेरै युट्युबबाट खेलाडीहरुले कमाइ गरिरहेका हुन्छन् । पब्जी गेम खेल्न कोरियाबाट फर्किएका एलिमेन्ट्रिक्सका सफल ह्युजु पब्जी लाइभ स्ट्रिमिङबाट धेरै कमाइ गर्ने युट्युबर मध्येका एक हुन् ।

कतिले चीन अमेरिका व्यापार युद्धसँग पब्जीलाई जोडेर यसको भविष्य निश्चित समयपछि सकिने र ईस्पोर्ट्स पनि यससँगै सकिएर जाने चिन्ता राख्छन् ।

तर ईस्पोर्ट्सको क्षेत्रमा पब्जीको क्राफ्टनले धेरै ठूलो राशीसहित ग्लोबल टुर्नामेन्ट गर्ने भएकोले मात्र पब्जी हाइपमा आएको पब्जी खेलाडीहरुको बुझाई छ ।

पब्जीको बिकल्पमा डोटा तथा काउन्टरस्ट्राइकजस्ता धेरै ई-गेमिङहरु अहिले विश्वभर खेलिन्छन् । यीनका आफ्नै टोर्नामेन्टहरु पनि हुने गरेका छन् ।

अझ विदेशतिर ईस्पोर्ट्स टिम कम्पनीहरुले यी विभिन्न गेमको सेक्सन बनाएर विभिन्न खेलाडी टिम खडा गरेर त्यै अनुरुप ग्रुमिङ गरिरहेका हुन्छन् ।

वर्ल्ड कपभन्दा तात्तिने जमात भविष्यमा ईस्पोर्ट्सको बुझाइप्रति निख्खार आउँदै जाँदा ईस्पोर्ट्सको सपोर्टमा पनि मैदान उत्रिने कुरामा यी खेलाडीहरु आशावादी छ ।

हाल भइरहेको २०२१ को स्प्रिङ स्प्लिटमा मात्र पब्जी मोबाइलले पीएमसीओ राउण्डको कूल पुल प्राइज १६ लाख डलर हुने घोषणा गरेको थियो ।

यस्तै पीएमपीएलको लागि एक करोड ४० लाख डलरको पुल प्राइज रहेको थियो भने पीएमजीसी अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको पुल प्राइज करोडौं डलरमा हुन्छ ।

नेपालमा आफ्नो टिमको व्यवस्थापनमा अल्झिएपछि युगिनले पनि अष्ट्रेलिया माया मारे । हाल अष्ट्र्लियाको पढाइलाई काठमाडाैंकाे प्रेसिडेन्सियल कलेजमा निरन्तरता दिइरहेका छन् । २७ वर्षीय युगिनको सपना ‘ज्यानमारा’ लाई राष्ट्रिय पब्जी टिममा विकास गरेर विश्व मन्चमा देशको प्रतिनिधित्व गर्नु हो ।

नाम, दाम सबैको भविष्य पब्जी स्पोर्ट्समै देखेका युगिन अहिले पब्जीकै लागि अष्ट्रेलिया छोडेर नेपालमा बसिरहेका छन् ।

युगिनले नेतृत्व गरिरहेको यो टिममा अहिले १६ देखि २३ वर्ष उमेर समूहबीचका खेलाडीहरु छन् । जसमा JMX व्याङ विशाल तामाङ अष्ट्रेलिया,  JMX समिर समिर तुङ्खेवा लिम्बु धरान, JMX जेरोफेयर जोन तामाङ बुटक्याम्प र JMX सोनिम, आशिक बेगा लिम्बु विराटचोक छन् ।

२०२१ को स्प्रिङ स्प्लिटमा भने पीएमसीओबाट शीर्ष तीन टिमलाई मात्र लिएको हुँदा ‘ज्यानमारा’ टिम पीएमपीएलमा जान सकेन । 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team