close

गुणस्तरीय फोरजी सेवाका लागि ८०० मेगाहर्ज सपोर्ट गर्ने स्मार्टफोन किन्न टेलिकमको आग्रह

टेकपाना टेकपाना

बैशाख १५, २०७८ १६:१३

गुणस्तरीय फोरजी सेवाका लागि ८०० मेगाहर्ज सपोर्ट गर्ने स्मार्टफोन किन्न टेलिकमको आग्रह

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकलाई एलटीई ब्याण्ड २० (८०० मेगाहर्ज) सपोर्ट गर्ने स्मार्टफोन खरिद गर्न आग्रह गरेको छ । टेलिकमले बुधबार आफ्ना सेवाग्राहीलाई एसएमएस पठाउँदै यस्तो आग्रह गरेको हो ।

‘नेपाल टेलिकमको गुणस्तरीय फोरजी सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट किन्दा सेटले ‘एलटीई ब्याण्ड २० (८०० मेगाहर्ज)’ समेत सपाेर्ट गर्ने यकिन गर्नुहुन अनुरोध छ,’ टेलिकमले प्रयोगकर्तालाई पठाएको म्यासेजमा भनिएको छ ।

नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज र ८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डमार्फत फोरजी सेवा उपलब्ध गराइरहेको छ ।

हाल प्रयोगमा रहेका अधिकांश स्मार्टफोनमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा आधारित फोरजी सहजै चल्छ । तर ८०० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्न सकिने मोबाइल भने सीमित छन् ।

लामो दूरीसम्म नेटवर्क कभरेज हुने भएकाले टेलिकमले ग्रामीण र दुर्गम क्षेत्रमा यही ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ । तर, भारतमा बन्ने मोबाइलहरुमा भने ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा आधारित फोरजी सेवा चल्दैन ।

त्यसैले यसअघि टेलिकमले नियामकलाई पत्र लेख्दै मोबाइल आयातकर्तालाई नेपालमा ८०० मेगाहर्ज सपोर्ट गर्ने स्मार्टफोनमात्रै भित्र्याउन निर्देशन दिन आग्रह गरेको थियो ।

जसमा आयातकर्ताले स्मार्टफोन भित्र्याउँदा भारतबाहेक चीन, भियतनाम वा अन्य देशमा बन्ने मोबाइल सेट भित्र्याउनका लागि स्वीकृति प्रदान गर्नुपर्ने माग टेलिकमले गरेको थियो ।

भारतबाहेक अन्य देशमा बन्ने मोबाइल फोनमा ८०० र १८०० दुवै ब्याण्ड सपोर्ट गर्ने भएकाले पनि ग्लोबल भसर्न भित्र्याउनुपर्ने माग टेलिकमको छ ।

अहिले यही विषयलाई लिएर टेलिकमले मोबाइल खरिद गर्दा विचार पुर्‍याउनुपर्ने र ८०० मेगाहर्ज ब्याण्ड सपोर्ट गर्ने स्मार्टफोन किन्न आग्रह गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१