close

‘दूरसञ्चार पूर्वाधार शेयर गर्न ठूला सेवाप्रदायक नै तयार छैनन्’

टेकपाना टेकपाना

बैशाख १८, २०७८ १७:३०

‘दूरसञ्चार पूर्वाधार शेयर गर्न ठूला सेवाप्रदायक नै तयार छैनन्’

काठमाडौं । दूरसञ्चार पूर्वाधार शेयर गर्दा आफूहरु पछि पर्छु भन्ने डर ठूला सेवाप्रदायकमा रहेको आरोप वर्ल्डलिंक कम्युनिकेशन्सका अध्यक्ष दीलिप अग्रवालले लगाएका छन् ।

टेकपाना डटकमले आयोजना गरेको दूरसञ्चार क्षेत्रको नीतिगत बहस श्रृङ्खलाअन्तर्गत ‘दूरसञ्चार पूर्वाधारको सहप्रयोग’ विषयक भर्चुअल कार्यक्रममा बोल्दै अग्रवालले पूर्वाधार शेयर गर्न ठूला सेवाप्रदायक नै तयार नभएकाे भनाइ राखे ।

‘साना इन्टरनेट सेवाप्रदायकले पप, फाबर पाेर्टलगायत शेयर गर्दै आएका छन् । तर, ठूला सेवाप्रदायक आफूले निमार्ण गरेको ठूलो फाइबर पूर्वाधार शेयर गर्न डराइरहेका छन् । यसको एकमात्र कारण उनीहरुमा पूर्वाधार शेयर गर्दा आफूहरु पछि पर्छु भन्ने डर छ,’ उनले भने ।

उनले केही समयअघि नेपाल टेलिकम र एनसेलबीच भएको घटनालाई उदाहरणको रुपमा लिँदै भने, ‘कुनै समय एनसेलले नेपाल टेलिकमसँग गएर फाइबर शेयरिङको प्रस्ताव गरेको थियो । टेलिकमले नदिने भनेसँगै एनसेलले त्यो आफैंले निमार्ण गर्‍यो । एनसेलसँग त्यो क्षमता थियाे र निर्माण गर्‍यो । तर, इन्टरनेट सेवाप्रदायकसँग क्षमता छैन ।’

उनले अगाडि भने, ‘हामी बोर्डरबाट नेपाल भित्रिने इन्टरनेटका लागि टेलिकम र एनसेलसँग रहेको पूर्वाधार प्रयोग गर्न चाहन्छाैं । त्यसका लाग हामीले धेरै पटक प्रस्ताव गर्‍याैं । तर, कानूनी प्रावधान हुँदा हुँदै पनि उनीहरुले दिइरहेका छैनन् ।’

यहीकारण सरकारले नयाँ पूर्वाधार कम्पनी ल्याएर भएपनि यो क्षेत्रकाे विस्तार गर्न अवाश्यक रहेको भनाइ उनले राखे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१