close

आज राष्ट्रिय आईसीटी दिवस, औपचारिक रुपमा सार्वजनिक हुँदै नागरिक एप

टेकपाना टेकपाना

बैशाख १९, २०७८ ७:१०

आज राष्ट्रिय आईसीटी दिवस, औपचारिक रुपमा सार्वजनिक हुँदै नागरिक एप

काठमाडौं । आज मे २, राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवस । नेपाल सरकार तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रले आजको यो दिनलाई विशेष रुपमा मनाउने गरेको छ ।

कोरोना महामारीका कारण गत वर्ष जस्तै यस वर्ष पनि आईसीटी दिवस अनलाइनमै सीमित हुने भएको छ । यद्यपी यस वर्षको भर्चुअल कार्यक्रम विशेष हुनेछ ।

‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका साथ मनाइने यस वर्षको राष्ट्रिय आईसीटी दिवसमा सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ ल्याएको नागरिक एपको फुल भर्सन सार्वजनिक हुने कार्यक्रम समेत छ ।

आज बिहान ११ बजेदेखि भर्चुअल रुपमा सुरु हुने विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यस अघि गत माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले परीक्षणको रुपमा नागरिक एपको बेटाभर्सन सार्वजनिक गरेका थिए । बेटा भर्सनमै एपबाटै स्थायी लेखा नम्बर (प्यान) लिन सकिने सेवा सेवा रहेकोमा पछिल्लो समय पुलिस क्लियरेन्स रिपोर्ट समेत लिन सकिने बनाइएको छ ।

यसका साथै एपमा नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष र प्यानको विवरण हेर्न सकिने सुविधा पनि छ । त्यसैगरी पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रम समेत नागरिक एपमा जोडिएको छ ।

नागरिकले हेलो सरकारमार्फत विभिन्न सार्वजनिक तथा सरकारी सेवाको विषयमा नागरिक एपमार्फत नै गुनासो टिपाउन सकिने सुविधा छ । नागरिक एपमा खाता खोल्न आफ्नै नामको मोबाइल नम्बर अनिवार्य गरिएको छ ।

सुरुमा नेपाल टेलिकम र एनसेलको नम्बरबाट मात्र नागरिक एपमा खाता खोल्न सकिने अवस्था रहेकोमा पछिल्लो समय स्मार्ट टेलिकमका नम्बर समेत नागरिक एपमा जोडिएका छन् । बेटा भर्सन सार्वजनिक भएपछि धेरै प्रयोगकर्ताले आफ्नो नागरिकता फेला नपरेको तथा त्रुटी रहेको भन्दै एपमा खाता खोल्न नपाएको गुनासो गरेका थिए ।

तर पछिल्लो समय गृह मन्त्रालयले नागरिकता सम्बन्धि समस्या समाधान गर्न छुट्टै सिस्टम विकास गरी सञ्चालनमा ल्याइसकेको छ । नागरिक एप प्रयोगकर्ताले नागरिकताको विवरण फेला नपरेको वा त्रुटी देखिएको अवस्थामा सँगै आउने विकल्पमार्फत त्यसको समाधानका लागि अनुरोध पठाउन सक्छन् । 

नागरिकताका साथै मतदाता परिचयपत्र वा राहदानीबाट समेत नागरिक एपमा खाता खोल्न सकिन्छ । नागरिक एप औपचारिक रुपमा सार्वजनिक भएसँगै थप विशेष सेवा तथा फिचर समेत उपलब्ध हुने अपेक्षा गरिएको छ ।

यद्यपी कुन कुन सेवा तथा फिचर एपमा आउँदैछन् भन्ने विषयमा भने स्पष्ट जानकारी बाहिर आएको छैन । बेटा भर्सनमै रहेको एपको डाउनलोड एन्ड्रोइड र आईओएसमा गरी ५ लाख नाघिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१