close

सवारी साधनको राजस्व र नवीकरण शुल्क अब नागरिक एपबाटै तिर्न सकिने

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १२:५३

सवारी साधनको राजस्व र नवीकरण शुल्क अब नागरिक एपबाटै तिर्न सकिने

काठमाडौं । अब सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत नागरिक एपबाटै तिर्न सकिने भएको छ । आइताबर एपको औपचारिक सुरुवातसँगै यसको जानकारी दिइएको हो ।

नागरिक एपबाट यातायातको राजस्व तथा नवीकरण शुल्क तिर्न सकिने गरी यातायात व्यवस्था विभाग अन्तर्गतका यातायात कार्यालयहरुमा आवश्यक सिस्टम राख्ने काम भइरहेको छ । अब उक्त सिस्टमलाई सोझै नागरिक एपमा जोडिने बताइएको छ ।

यातायातको सेवा नागरिक एपमा जोड्ने काम अन्तिम चरणमा पुगेको भन्दै अबको केही दिनमा यो सेवा उपयोग गर्न सकिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यसका लागि नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवाप्रदायकलाई नागरिक एपमा जोड्ने तयारी भइरहेको छ ।

सवारी साधन नवीकरणका लागि सरकारी राजस्वसँगै तेस्रो पक्ष बीमा समेत अनिवार्य रुपमा गराउनुपर्ने हुन्छ । बीमा रकम तिर्न समेत अनलाइन भुक्तानीको व्यवस्था मिलाइने बताइएको छ ।

यससँगै सवारी साधन नवीकरण गराउन नागरिकले खप्दै आएको झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ । हाल यातायात कार्यालय धाउनुपर्ने र पुराना ढड्डा खोज्नुपर्ने बाध्यता नहुने अवस्थामा अनियमिताका साथै सेवाग्राहीले सास्ती पाउने र समयको बर्बादी गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

नागरिक एपमै यो सेवा उपलब्ध भएको खण्डमा समयमै सवारी साधन नवीकरण गर्न नसक्दा तिर्नुपर्ने जरिवाना रकम समेत जोगिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१